त्रिपाठीका तीन पाइला

सञ्चार क्षेत्रमा लागेर ‘जीवनशैली’ कार्यक्रम चलाउँदा धेरैको घरबार जोडिएकामा शोभा त्रिपाठी दंग छिन् । ‘एउटा कार्यक्रम चलाएर कसको पो गुजारा चल्छ र ?’ शोभाले भनिन्, ‘तर पनि कार्यक्रमबाट पाएको आत्मसन्तुष्टिले केही गर्न प्रेरित गरिरहन्छ ।’ टेलिभिजनको पर्दामा कार्यक्रम प्रस्तोता मात्र होइन, दर्शकहरूले शोभालाई कुशल मोडलका रूपमा पनि देख्ने गर्छन् ।
गएका केही वर्षयता तीज पर्व आउनै हुँदैन, शोभाकै गीतले बाजी मारिरहेको हुन्छ । ‘यो तीजैमा ढल्केर नाचिन्छ, बरु कम्मर भाँचिए भाँचिन्छ, बादुरे….’ बोलको गीतमा उनले गत वर्ष मोडलिङ मात्र गरिनन्, स्वरसमेत दिइन् । यस वर्ष पनि उनी तीजगीतको तयारीमा जुटेकी छिन् । एकनारायण भण्डारीले संगीत र लयमा साथ दिइरहेको उनले बताइन् ।
राजधानीनजिकै धादिङको बेनीघाट–१ मा २०४२ साल माघ ४ मा जन्मिएकी शोभा पढाइमा भने अब्बल दर्जाकी होइनन् । ‘मेरो पढाइ कामचलाउ नै रह्यो,’ शोभाले भनिन्, ‘त्यसो भए पनि कक्षामा प्रथम, द्वितीय हुनेहरू मेरै वरिपरि हुन्थे ।’ त्यो कसरी त भन्ने जिज्ञासामा उनले भनिन्, ‘सानैदेखि नाच्न, गाउन, रमाउनमा म अगाडि नै हुन्थेँ ।’ उनको बाल्यकालदेखिको रुचिलाई आमा मायादेवी र बुबा सानुलक्ष्मीप्रसाद त्रिपाठीले कहिल्यै नाइँनास्ती गरेनछन् । ‘हौसला त मलाई घरमा भन्दा छरछिमेकमा मिल्थ्यो,’ उनले  सम्झिइन््, ‘म मलेखु, बेनीघाटका जंगलपाखामा घाँस काट्न जान्थेँ, मेरो काम गीत गाउने हुन्थ्यो, मेरो घाँसको भारी साथीहरूले नै बोकिदिन्थे ।’
गाउँकै श्री वागेश्वरी माविबाट ०५९ मा प्रवेशिका पास गरेकी शोभा अहिले आरआरमा स्नातकतहमा अध्ययनरत छिन् । २०६२ तिर आइए पढ्दापढ्दै च्यानल नेपालमा कार्यक्रम प्रस्तोता भएर पसेकी उनी ‘लोकमञ्जरी’ र ‘सन्देश’ कार्यक्रमकी निर्मात्रीसम्म भइन् । २०६४ तिर थामेर पाइला–पाइलामा बोलको गीतबाट मोडलिङ क्षेत्रमा पनि पाइला राखिन् । त्यसपछि शिव विकको निर्देशमा बनेको झुटो माया गीतको म्युजिक भिडियो गरिन् । कञ्चनजंघा शिर, यो मोबाइल फोनलेलगायत अहिले उनले ३९ वटा म्युजिक भिडियोहरूमा अभिनय गरिसकेकी छिन् । अहिले टेलिभिजनमा ‘जीवनशैली’ कार्यक्रम चलाउँछिन् । गीतमा अभिनय र गायन पनि सँगै दौडाएकी छिन् ।
विभिन्न मञ्चमा कार्यक्रम प्रस्तोता बनेर कहिले सुदूरपश्चिम त कहिले सुदूरपूर्व पनि पुग्ने गरेको बताउँछिन् उनी । यी सबै हाँगामा हात हाल्नु र समातिरहन सक्नु कत्तिको जोखिम छ त ? शोभाले भनिन्, ‘सञ्चारमा लागेर मात्रै खान पुग्दैन, यसले सम्मान दिलाएको  छ । कलाले पहिचान र बाँच्ने जोहो हुन्छ ।’ शोभाभन्दा धेरै पछि मोडलिङमा आएकाहरू कलाक्षेत्रमा धेरै अघि पुगिसकेको उनी स्विकार्छिन् । भन्छिन्, ‘तर शोभासँग जे छ त्यो अरूसँग छैन ।’ सञ्चार, मोडलिङ र गायनक्षेत्रमा लामो समय बिताएकी शोभा चलचित्रमा आउँछिन् कि आउँदिन् ? ‘फिल्म खेल्ने रुचि छ, विश्वास छैन,’ कस्तो विश्वास भन्ने विषयमा उनले प्रस्ट्याइन्, ‘फिल्मी क्षेत्रमा ‘जे पनि’ दिन तयार छु भन्ने आँट ममा छैन ।’ आफू सुरक्षित हुन्छु भन्ने विश्वास नभएर नै उनी फिल्मी दुनियाँमा प्रवेश नगरको बताउँछिन् । आफूले काम गरेको क्षेत्रचाहिँ शालिन नै छ भन्ने ग्यारेन्टी के त भन्दा उनी भन्छिन्, ‘दिनभर भिडियो खेल्यो, साँझ पारिश्रमिक लियो, हिँड्यो ।’ आफूलाई बुझिदिने र सोचेजस्तो ‘कोही’ भएकाले पनि उनी ‘यस्ता–त्यस्ता’ कुरामा ध्यान नदिने गरेको दाबी गर्छिन् ।
यो क्षेत्रमा शोभालाई उनकै दाइ सञ्जय त्रिपाठीले ल्याएका रहेछन् । जीवन भनेको आत्मसन्तुष्टि हो भन्न रुचाउने शोभाले सञ्चार क्षेत्रमा लागेर आफूभित्रको प्रतिभा बाहिर ल्याउन सकेको र कलामा लागेर नाम र दाम कमाउन सकेकामा सन्तुष्ट रहेको बताइन् । कलामा स्थापित हुन जति सजिलो सञ्चारजगत्मा नभएको बुझेकी उनले भनिन्, ‘कला क्षेत्रमा थोरै ‘नक्कली’ भए पुग्छ, सञ्चारमा धेरै अक्कल चाहिन्छ, गीत गाउन साधना गर्नै पर्छ ।’

प्रतिक्रिया