अमेरिकी प्रतिवेदन अतिरञ्जित : चीन

बेइजिङ, ९  जेठ । अमेरिकी प्रतिरक्षा मन्त्रालयको एक प्रतिवेदनमा चिनियाँ फौजको महत्वाकांक्षी सैन्य कार्यक्रम गम्भीर भएको उल्लेख भएपछि चीनले प्रतिवाद गरेको छ । चीनको सैन्य विकास ‘उपयुक्त र औसत’ रहेको टिप्पणी गर्दै चीनको प्रतिरक्षा मन्त्रालयले ‘तथ्यको सम्मान गर्न’ र ‘धारणा बदल्न’ अमेरिकालाई सुझाब दिएको छ ।
चिनियाँ प्रतिरक्षा मन्त्रालयका प्रवक्ता गेङ यानसेङले अमेरिकी प्रतिवेदनप्रति तीव्र असन्तुष्टि जनाउँदै प्रतिवेदनको विषयवस्तुप्रति ‘गम्भीर विमति’ व्यक्त गरेका हुन् । ‘चीनको सैन्य सुधार उपयुक्त र औसत छ, यसलाई प्रतिवेदनमा तोडमोड गरी प्रस्तुत गरिएको छ,’ उनले भने ।
तीन दिनअघि अमेरिकी प्रतिरक्षा मन्त्रालयको प्रतिवेदनले चिनियाँ जनमुक्ति सेनाको आधुनिकीकरणका लागि चीनले महत्त्वाकांक्षी कार्यक्रम ल्याएको उल्लेख गरेको थियो । चिनियाँ कम्युनिस्ट पार्टीको शासन रक्षा गर्न र ताइवानविरुद्ध आक्रामक हुने अवस्थाका लागि तयार रहन चीनले आधुनिकीकरण कार्यक्रम तीव्र बनाएको आरोप प्रतिवेदनमा लगाइएको थियो ।
सार्वभौमिकताको रक्षा एवं सुरक्षा तथा विकास सुनिश्चित गर्न चीनले सैन्य विकास गरेको प्रवक्ता गोङले बताए । ‘बहुपक्षीय सुरक्षा चुनौती’ सामना गर्नेतर्फ सैन्य सुधार लक्षित रहेको उनले प्रस्ट पारे ।
चीनले शान्तिपूर्ण विकासको मार्ग पछ्याइरहेको उल्लेख गर्दै उनले प्रतिरोधात्मक प्रतिरक्षा नीति अवलम्बन गरिएको जानकारी दिए । चीनको रणनीतिक लक्ष्य पारदर्शी रहेको उल्लेख गर्दै उनले यसका लागि ‘सैन्य आदानप्रदान’को काम भइरहेको जिकिर गरे ।
‘चीनबाट सुरक्षा चुनौती उत्पन्न हुन्छ भन्ने आरोप गलत र आधारहीन छ,’ प्रवक्ता गेङले भने । ताइवानलाई हतियार बिक्री गर्ने माहोल बनाउन अमेरिकाले चीनको प्रतिरक्षा सुधार कार्यक्रमलाई अतिरञ्जित रूपमा व्याख्या गरेको आरोप उनले लगाए ।
साइबर हमलामा चीन सक्रिय रहेको अमेरिकी भनाइ पनि उनले अस्वीकार गरे । चीनसँग स्वस्थ, स्थिर, भरपर्दो र दिगो सैन्य सम्बन्ध कायम गर्ने अमेरिकाको प्रतिबद्धताविपरीत अमेरिकाले चीनलाई बदनाम गर्ने प्रयास गरेको आरोप उनले लगाए । द्विपक्षीय सैन्यसम्बन्ध सुधार गर्न अमेरिकाले मूर्त कदम चाल्न आवश्यक रहेकोसमेत उनले औँल्याए । (एजेन्सी)

प्रतिक्रिया