१६ जेठसम्म सामुदायिक विद्यालय बन्द


काठमाडौं, ९ जेठ । लगातारको बन्दका कारण आइतबारदेखि १६ जेठसम्म काठमाडौंका सम्पूर्ण सामुदायिक विद्यालय बन्द गरिने भएको छ । सरकारी विद्यालयका प्राधानाध्यापकहरू भेला भई परिस्थिति अनुकूल नभएको भन्दै विद्यालय बन्द गर्ने निर्णय
लिएका हुन् ।
शिक्षक युनियन काठमाडौंका अध्यक्ष राजेन्द्र अधिकारीका अनुसार सोमबार काठमाडौंका ९० प्रतिशत सामुदायिक विद्यालय बन्द भए । केही विद्यालयले निर्णयबारे जानकारी नपाउँदा सोमबार खुलेका थिए ।
टंगाल उच्च माविका प्रअसमेत रहेका अधिकारीले विद्यालय खोले पनि शिक्षक आउन नसकेकाले १६ जेठसम्म बन्द गर्ने निर्णय लिइएको बताए । ‘सरकारी विद्यालयमा पढाउने शिक्षक टाढा–टाढाबाट आउनुहुन्छ, सवारीसाधन नचल्दा आउन सक्ने स्थिति रहेन,’ अधिकारीले भने, ‘विद्यार्थी आउने, शिक्षक नआउने हुँदा अर्को आन्दोलनको डर भयो ।’
१६ जेठसम्म बन्दको क्षतिपूर्ति वर्षेबिदामा दिने प्रअहरूको निर्णय छ । असारमा हुने वर्षेबिदामा १५ दिन पढाउने अधिकारीले बताए । उनले भने, ‘विद्यार्थीको पढाइलाई घाटा पर्न दिँदैनौँ ।’
शिक्षा मन्त्रालयले प्रअहरूको निर्णयलाई सकारात्मक रूपमा लिएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता जनार्दन नेपालले जिल्लालाई निर्णयको अधिकार दिइएकाले उनीहरूको निर्णयमा कुनै आलोचना नभएको बताए । ‘सरोकारवाला बसेर गरेको निर्णयमा हाम्रो आपत्ति छैन,’ प्रवक्ता नेपालले भने, ‘क्षतिपूर्ति दिन्छाँै भन्नुभएको छ, बन्दका बेला खोले पनि स्कुल जान्छन् मात्रै, पढाइ राम्रो भएको पाइँदैन ।’
अभिभावक संघ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले विद्यालयलाई शान्तिक्षेत्र घोषणा गरे पनि शिक्षा मन्त्रालयले पढाइ हुने वातावरणका लागि प्रयास नगरेको आरोप लगाए । अध्यक्ष भण्डारीले प्रश्न गरे, ‘बन्द हुने थाहा पाएपछि शिक्षा मन्त्रालयले कति प्रयास गर्‍यो विद्यालय खुलाउन ?’ उनले मन्त्रालय आफैँले पनि खोल्न नचाहेको आरोप लगाए । प्रअहरूले बन्द आह्वान नभएका दिनमा पनि विद्यालय बन्दको कार्यक्रम राख्नु राम्रो नभएको उनको भनाइ छ ।
केही सामुदायिक विद्यालय भने आफूखुसी बन्द भएका छन् । ज्ञानोदयलगायत सामुदायिक विद्यालयले २१ जेठसम्म बिदा दिएका छन् । ‘मैले शिक्षकहरूसँग छलफल गरेर १५ दिनको समर भ्याकेसन दिएको छु,’ ज्ञानोदयका प्रधानाध्यापक धनञ्जय शर्माले भने, ‘१४ जेठपछि पनि परिस्थिति के हुने भन्ने निश्चित नभएकाले २१ जेठसम्म बिदा दिइएको हो ।’ सो विद्यालयमा आइतबारदेखि नै बिदा दिइएको छ ।
काठमाडौंमा एक सय ६० माध्यमिक, ३९ निम्न माध्यमिक र ९९ प्राथमिक विद्यालय सञ्चालनमा छन् ।

प्रतिक्रिया