लगातारको बन्दले औषधि ढुवानी रोकियो

नेपालगन्ज, ८ जेठ । लगातार भएका बन्दका कारण स्वास्थ्य संस्थामा औषधिको अभाव सुरु भएको छ ।

बाँकेका ग्रामीण क्षेत्रका स्वास्थ्य चौकीमा औषधि अभाव भएको हो । स्वास्थ्यचौकीमा झाडापखालाका बिरामीलाई नभई नहुने जीवनजलसमेत सकिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार, राप्तीपारिका नौ स्वास्थ्यचौकीमा औषधि अभाव भएको छ । वनकटुवा र कोहलपुर स्वास्थ्यचौकीमा समेत औषधि छैन । बन्दकर्ताले स्वास्थ्य संस्थाका गाडीमा समेत अवरोध पुर्‍याएपछि स्वास्थ्यचौकीमा औषधि पुर्‍याउन नसकिएको जनस्वास्थ्य प्रमुख जीवन मल्लले जानकारी दिए ।
जीवनजल सकिएपछि झाडापखालाका बिरामी औषधिविना नै घर फर्काउनुपरेको कालाफाँटा स्वास्थ्यचौकीका इन्चार्ज देवानन्द तिमिल्सेनाले जानकारी दिए । ‘झाडापखालाका दैनिक दुई दर्जन बढी बिरामी आउँछन्,’ तिमिल्सेनाले फोनमा भने, ‘तर वितरण गर्न
औषधि छैन ।’
जनस्वास्थ्य प्रमुख मल्लले केही दिनसम्म बन्द जारी भई औषधि ढुवानी गर्न नदिए सबै स्वास्थ्यचौकीमा उपचार बन्द हुने बताए । ‘नेपालगन्ज गोदाममा औषधि फालाफाल छ । स्वास्थ्यचौकी रित्तिएका छन्,’ प्रमुख मल्लले भने, ‘औषधि नै नभएपछि कसरी उपचार गर्ने ?’
यस्तै, विभिन्न समूहको आह्वानमा भएका बन्दहडतालका कारण रूपन्देहीका अस्पतालमा उपचार सेवा प्रभावित भएको छ । अस्पतालमा औषधि र अत्यावश्यकीय अक्सिजनसमेत अभाव छ ।
बुटवलस्थित लुम्बिनी अञ्चल अस्पताल, भैरहवास्थित भीम अस्पताल तथा विभिन्न निजी क्लिनिकहरूमा अक्सिजन र औषधिको अभाव भएको हो । अञ्चल अस्पतालका सूचना अधिकृत लक्ष्मीराज रेग्मीले अक्सिजनको ढुवानी हुन नसक्दा उपचार सेवा प्रभावित भएको बताएका छन् ।

प्रतिक्रिया