बिरक्तिएकी किशोरी

‘मसँगैका साथी खेल्दै होलान्, पढ्दै होलान्,’ झन्डै आठ वर्षदेखि बिरामीले थलिएकी ममता सताशंकरले भनिन्, ‘मेरो त खै † भाग्य नै यस्तो रहेछ ।’ वीर अस्पतालको फिमेल मेडिकल वार्डको बेड नम्बर २२६ मा लम्पसार परेकी सताशंकर ‘आफैँदेखि दिक्क लागेको’ बताउँछिन् ।
६ कक्षामा पढ्दापढ्दै जन्डिसले च्यापेपछि उनको पढाइ त्यत्तिकैमा रोकियो । ‘जन्डिस बिग्रियो, पछि रक्तअल्पता भयो’ सताशंकरले भनिन्, ‘हुँदाहुँदा आज त मिर्गौलामै खराबी छ भन्दै छन् ।’ उपचारको यात्रा आठ वर्षदेखि निरन्तर छ । आफ्नो स्वास्थ्यमा त्यत्ति सुधार नभएको उनले महसुस गरेकी छिन् । ‘खै, बुबाले घरखेत गरेर भए पनि उपचार गराइरहनुभएको छ, निको नै हुँदैन,’ ममताले दिक्दारी पोखिन् ।
धादिङको नौबिसे–९ मा १९ वर्षअघि माघको २४ गते जन्मिएकी ममतालाई पढ्ने धोको भने खुबै रहेछ । उनले भनिन्, ‘रहरै नभए त सडकैसडक एक घन्टाको बाटो हिँडेर किन पढ्न जान्थेँ होला ?’ अझ पनि सन्चो भइदिए र घरको अवस्थाले धाने पढ्ने इच्छा उत्तिकै ताजा रहेको उनले बताइन् । ‘सानो बारी छ, फलेको साग, तरकारी बेचेर उपचारखर्च गर्छौं,’ मतताले भनिन्, ‘कतिपटक त त्यही घरबारी पनि धरौटी राख्नुभयो बुबाले ।’
तीन वर्षअघि उनको दाहिनेतिरको पेट दुखेछ । अस्पतालमा देखाउँदा भित्र पाकेको थाहा भयो । त्यसयता उनी कहिल्यै गाउँका दौतरीसँग उनीहरूजस्तै ‘आलीकान्ला’मा उफ्रिएर खेल्न पाएकी छैनन् । ‘रहर लाग्छ, लागेर के गर्नु र दाइ † शरीरले सक्नुपर्‍यो नि ?’ उनले विरक्त हुँदै भनिन्, ‘यस्तो हुनुभन्दा त ……।’
आमा मिठ्ठुदेवी र बुबा दिलबहादुर साह्रै दिलदार रहेछन् । उनले बुबाको इच्छा उद्धृत गर्दै भनिन्, ‘मेरी छोरीलाई निको होस्, म घरखेत बेचेर सडकमा बास बस्नुपरे पनि बस्छु भन्नुहुन्छ ।’ एक वर्षअघि रक्तअल्पता भएकै कारण पाटन अस्पतालमा तीन महिना बिताएकी ममता झन्डै डेढ महिनादेखि वीर अस्पतालमा लमतन्न परिरहेकी छिन् । रक्तअल्पता ‘किन भयो’ भन्ने कुरा डाक्टरहरूले पनि आफूलाई नभनेको उनले बताइन् । ‘अहिले मिर्गौलामा के खराबी हो भन्ने कुरा जाँच्न भारत पठाएकाले त्यो रिपोर्टको प्रतीक्षामा ममता बसेकी छिन् ।
‘जीवनमा पानी पनि त्यति पिएको याद छैन’ भन्ने ममताको शरीरमा झन्डै एक सय २० पोका रगत चढाइसकिएको छ रे । यो एक महिनाको बसाइमा मात्रै चार/पाँच पोका रगत चढाएको उनी बताउँछिन् । तीन दिदीबहिनी र एक भाइका बीचमा हुर्किएकी ममताको रहर छ, ‘चाँडै निको होस्, भाइबहिनी, आमा बुबा र छरछिमेकको भरमार माया पाइयोस् ।’ उनले भनिन्, ‘आठ–नौ वर्ष भयो निको हुने छेउछनक देखिँदैन, अब खै के होला र ?’ तर, असाध्यै मिजासिला नर्स, डाक्टरहरूले ‘तिमीलाई निको भैहाल्छ’ भनेकाले उनी आशावादी भने उत्तिकै छिन् । अहिले उनको मिर्गौला र रक्तअल्पताको उपचार चलिरहेको छ । ‘खै केको हो, एउटैको १५ सय पर्ने सुई लगाउँछन्, मिर्गौलामा,’ ममताले भनिन्, ‘अरू जेसुकै होस्, मेरो मिर्गौला नबिग्रिदेओस् ।’ संसारमा सबैलाई हाँसीखुसी देख्ने ममताले भनिन्, ‘यति लामो बिरामी मैलाई हुनुपरेको ।’ उनले कामना गरिन्, ‘कतै भगवान् छन् भने मेरो मिर्गौला बिग्रिएको रिपोर्ट नआइदेओस् ।’

प्रतिक्रिया