लौ आयो नयाँ संविधान

अचेलका केटाकेटी जन्मँदै तीनपाते हुन्छन् । यो पनि एक प्रकारले राम्रै हो । ‘चाइल्ड इज द फादर अफ मेन’ ले भनेजस्तै भर्खर जन्मेका भुराभुरी त यति मापाका छन् भने भोलि यी ठूला भएपछि झन् के–के पो गर्लान् † कतै यिनले साँच्चिकै देशको ‘विकास’ त गर्ने होइनन् ? डरै लाग्छ बा…†
मेरी नातिनी प्राची आचार्यले एकाबिहानै एउटा ठूलो सादा कागजमा राँगाको टाउको जत्रो अक्षरमा लेखेर ल्याई– संविधान । त्यो मलाई दिँदै भनी, लौ हजुरबुबा † यो लिसियोस् † मैले अचम्म मान्दै सोधेँ, यो के हो छोरी ? उसले निकै गम्भीरतासाथ भनी यो नेपालको नयाँ संविधान हो । मलाई टिभीमा कार्टुन हेर्न नदिएर हजूर समाचार हेरिसिन्छ । ती सबै समाचारमा जहिले पनि, जतिखेर पनि र जोसुकैले पनि संविधान चाहियो भनेर फुलेको मात्रै देखिन्छ । त्यसैले मैले हजूरलाई एक थान नेपालको नयाँ संविधान दिएको । यति भनेर नातिनी प्राची मुसुमुसु हाँस्न थाली ।
म गम्भीर भएँ । सोच्नमा पैसो नलाग्ने हुनाले उदारतापूर्वक सोच्न थालेँ– लौ हेर † यो बजिया राजनीतिले त अब हुँदाहुँदा बालबालिकाको कमलो मन–मस्तिष्कमा पनि आक्रमण गर्न थाल्यो । देशको भविष्य पनि यसले सखाप पार्न लाग्यो । उता प्राची झर्कंदै र फतफताउँदै थिई– मान्छेलाई किन संविधान चाहिएको होला ? चराचुरुंगी, पशुपन्छी अन्य जीवजन्तु कसैलाई संविधान नचाहिने, यो मान्छे भनाउँदो ‘सुपर पशु’लाई चै संविधान चाहिने ?
मैले भन्ठानँे, अब यो नेपालको भविष्यलाई वर्तमान सम्झाउनै पर्‍यो । जीवनका सुनौला रहरलाग्दा ३६ वर्ष पढाउनमा निक्षेप गर्‍या हुनाले मैले मास्टरी पारा झिकिहालेँ– हेर छोरी † कुनै पनि देशको सर्वोच्च कानुन हो– संविधान । राज्य सञ्चालनका लागि संविधान चाहिन्छ । संविधानसँग बाझिएका कानुन स्वत: खरेज मानिन्छन् । नानी, संविधानको त ठूलो डरलाग्दो महत्त्व पो छ त †
प्राचीले नपत्याएर ओठ लेप्प्राई † अनि एउटा ब्रह्मा छाडी– त्यसो भए केही नेपालीहरू संविधानलाई सडकमा सार्वजनिक रूपमा किन जलाउँछन् त ? सानो मान्छेद्वारा सोधिएको यो सानो प्रश्नमा कति ठूला कुरा लुकेका छन्, त्यो यस फुच्चीलाई के था’ भन्ठानेर त्यसलाई भुलाउन खोजँे– त्यस्तो घटना त अपवाद हो । हरेक नियमका केही अपवाद पनि हुन्छन् । अझ अपवादवादीहरू त केसम्म भन्छन् भने,
अपवादले नै नियमलाई सार्थकता दिन्छ रे † नियम पक्का हुन्छ रे †
मेरो मास्टर छाप भाषणले बोर हुँदै नातिनीले भनी, बुबा † जुन संविधानले आफूलाई बचाउन सक्दैन, आफ्नो अपमान गर्नेलाई उचित दण्ड दिन सक्दैन, त्यसले जनता र देशलाई कसरी बचाउला † भो मलाई त पत्यार लागेन । संविधानमा यस्तो पनि विधान हुनुपर्‍यो, जसले संविधान मान्दैन त्यसलाई कठोर दण्ड सजायँ दिइन्छ । मैले आफ्नो मास्टरी पारा झिक्दै फेरि प्राचीलाई थामथुम पार्ने असफल प्रयास गरेँ । छोरी † सजग, सचेत, शिक्षित नागरिकले स्वत:स्फूर्त रूपमा संविधानलाई मान्छन् । देशभित्रका सबैखाले कानुनले संविधानको अनुशासन मान्नैपर्छ, करै लाग्छ † यति भनेर मैले उसको प्रतिक्रिया बुझ्न उसको अनुहारतिर हेरेँ ।
उसले त रातोपिरो अनुहार लाउँदै निकै गहकिलो कुरा पो भनी– अनि सारा जातजातिलाई छुट्टै राज्य कुन सरकारले दिन सक्छ ? भनिन्छ, भगवान्ले पनि सबैलाई खुसी पार्न सक्दैनन् रे † के नेपालीहरू बौलाएकै हुन् त ? मैले खुरुक्क सही थप्नै पर्‍यो, हो त नि नानी † हामी नेपालीलाई छाडातन्त्र चाहिएको छ । श्रीमतीले तिहुनमा नुन चर्को किन हाली भनेर श्रीमान्ले सडकमा गएर चक्काजाम गर्छ । त्यसैले केही नेता त भन्छन्, यो देशलाई जनताको हित गर्ने खालको डिक्टेटर चाहिन्छ । अनि मात्र यो देश बाँच्न सक्छ । होइन भने त पशुपतिनाथले बचाउँछन् कि जस्तो लाग्थ्यो, तर अब त त्यो आशा पनि छैन । यति भनेर म त्यो कागजको खोस्टोमा लेखिएको संविधान हेर्न थालेँ ।
यतिकैमा एउटा भैया साइकलमा थुप्रै खत्र्याकखुत्रुक सामान लिएर बेच्न आयो । उसले मलाई एक थान संविधान लेखेको वस्तु हेर्न दियो । त्यस वस्तुलाई मैले निकै ध्यानपूवर्क हेरेँ । त्यसको कभरमा मसिनो अक्षरमा लेखिएको थियो– भारत में बना हुआ, सिर्फ नेपाल मे बिक्री के लिए । भैयाले भन्यो, हजुर यो बिलकुल मजबुत संविधान छ † खरिदी हाल्नूस् न † नेपाली नेताहरूले दिल्लीतक पहुँचेर यस्तो संविधान खरिदेर ल्याएको छ । म मिलाएर दिन्छु हजूरलाई † म धर्मसंकटमा परेँ † यसो हेरेजस्तो गरेर संविधान फिर्ता गरेँ ।

प्रतिक्रिया