समयमै मनसुन सुरु हुने

काठमाडौं, ८ जेठ । विगतका वर्षमा केही ढिला गरी भएको मनसुन यस वर्ष समयमै सुरु हुने भएको छ । पर्याप्त सुख्खापनका कारण न्यून चापीय क्षेत्र बढेको र बंगालको खाडीमा वर्षा भइसकेकाले समयमै मनसुन सुरु हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालमा १० जुन (२७ जेठ)मा पूर्वी बाटो हुँदै मनसुन भित्रिने भएकाले उक्त दिनलाई मनसुन सुरु हुने दिन मानिन्छ । महाशाखाका अनुसार हिजोआज बंगालको खाडीको अण्डमान टापुमा मनसुन सक्रिय भएर पानी पर्न थालिसकेको छ । त्यो १ जुन आसपास भारत छिर्ने संकेत देखिएकाले नेपालमा त्यसको डेढ सातापछि समयमै भित्रिने अनुमान गरिएको महाशाखाका वरिष्ठ मौसमविद् राजेन्द्रप्रसाद श्रेष्ठले बताए ।
‘अहिलेसम्मको लक्षण हेर्दा अण्डमानमा सक्रिय मनसुन भारत हँुदै समयमै नेपाल भित्रिने देखिन्छ,’ उनले भने, ‘बीचमा अवरोध भएर पछिल्ला वर्षजस्तो ढिला हुने सम्भावना छैन ।’ उनले पर्याप्त सुख्खापनका कारण न्यून चापीय क्षेत्र विस्तार भइरहेकाले वर्षा पनि औसतभन्दा बढी हुन सक्ने बताए ।
भारतको केरलामा भित्रिएको मनसुनी वायु नेपालसम्म आइपुग्न १० देखि १२ दिन लाग्छ । गत वर्ष पश्चिमी वायुले मनसुनी वायु छेक्दा चार दिन ढिलो गरी नेपाल भित्रिएको मनसुन सन् २०१० मा एक साता ढिलो र सन् २००९ मा १३ दिनपछि सुरु भएको थियो ।
सामान्यत: सुख्खायाममा जति बढी सुख्खा भएर जमिन तात्यो मनसुन त्यत्ति नै छिटो भित्रिने र सक्रिय हुने गर्छ । मौसम विज्ञानका अनुसार जमिन तात्दा तलको हावा तातेर हलुका हुन्छ र माथि आउँछ । त्यसपछि तल्लो तहमा हावा कम भएर न्यून चापीय क्षेत्र बन्छ । यसरी बनेको न्यून चापीय क्षेत्रमा हावाको परिपूर्ति गर्न उच्च चापीय क्षेत्र बंगालको खाडी र इन्डियन ओसनदेखि मनसुनी वायु तेजले आउँदा नेपालमा वर्षा हुन्छ ।
महाशाखाका अनुसार नेपालमा १० जुनदेखि २३ सेप्टेम्बरसम्मलाई मनसुन अवधि मानिन्छ । सो अवधिभर औसत एक हजार एक सय २५ मिलिमिटर पानी पर्छ । मौसमको ४२ वर्षको इतिहासमा सबैभन्दा ढिलो मनसुन सन् १९८२ मा १७ दिन ढिलो गरी सुरु भएको र सबैभन्दा छिटो सन् १९९६ मा ३१ मेमा ११ दिनअघि नै सुरु भएको थियो ।

प्रतिक्रिया