प्रधानमन्त्रीद्वारा खेद व्यक्त

काठमाडौं, ७ जेठ । आदिवासी जनजाति संयूक्त सङ्घर्ष समितिले आह्वान गरेको तीन दिने नेपाल बन्दका क्रममा विभिन्न सञ्चारमाध्यमका सवारी साधनमा तोडफोड भएकोमा प्रधानमन्त्री बाबुराम भट्टराईले खेद व्यक्त गरेका छन् ।
प्रधानमन्त्री भट्टराईले नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेलाई फोन गरी घटनाप्रति खेद व्यक्त गरेका हुन् । बन्दका क्रममा कान्तिपुर पब्लिकेशन्स, एभिन्यूज, एबीसी, सगरमाथा, हिमालय टेलिभिजनलगायतका सञ्चारमाध्यमका सवारी साधनमा तोडफोड भएका विषयमा अध्यक्ष गाउँलेले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
महासंघका अध्यक्ष गाउँलेले पे्रस स्वतन्त्रता कायम गर्न र सुरक्षितरुपमा काम गर्ने वातावरण तयार नभएकोमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।
प्रधानमन्त्री भट्टराईले सञ्चारमाध्यमका सवारीसाधनमा तोडफोड हुन थालेपछि सुरक्षाकर्मीलाई सुरक्षाको स्थिति मजवूत बनाउन र निर्वाधरुपमा सञ्चारकर्मीलाई काम गर्ने वातावरण तयार पार्न सुरक्षाकर्मीलाई निर्देशन दिएको अध्यक्ष गाउँलेले बताए ।
प्रधानमन्त्री भट्टराईले बन्दका क्रममा सञ्चारमाध्यमका सवारीसाधनमा भएको तोडफोडको विवरण संकलन गरी आफूलाई उपलब्ध गराउन र त्यसरी प्राप्त विवरणअनुसार क्षति भएका सवारीसाधनलाई क्षतिपूर्ति दिइने प्रतिवद्धता व्यक्त गरेका छन् । संघर्ष समितिले उपत्यकाका विभिन्न स्थानमा पे्रस, एम्बुलेन्स र निजी तथा सार्वजनिक गरी आधा दर्जन बढि सवारीसाधनमा तोडफोड गरी क्षति पुराएका छन् ।
विहानैदेखि चोकचोकमा जम्मा भएका बन्दकर्ताहरुले तोडफोडलाई व्यापक बनाउन थालेपछि बाक्लोरुपमा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी प्रवक्ता धिरजप्रताप सिंहले जानकारी दिए ।
उनकाअनुसार अहिलेसम्म बन्दका क्रममा तोडफोडमा उत्रिएका करिब ६० जना बन्दकर्तालाई नियन्त्रणमा लिइको छ ।
बन्दमा उत्रिएकालाई संयमित हुन र उच्छृङ्खल गतिविधिमा संलग्न नहुनसमेत उनले आग्रह गरेका छन् ।
यसैबीच नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीले बन्दका क्रममा सञ्चारमाध्यम, एम्बुलेन्स, कुटनीतिक नियोग, मानवअधिकारकर्मी, पानी बोक्ने गाडी र जन्तीका सवारीसाधनमा क्षति नपुराउन बन्दकर्तालाई निर्देशन दिएका छन् ।
उनको निर्देशन विपरित बन्दको समर्थनमा सडकमा उत्रिएकाले सवारी साधनमा तोडफोड गर्नुका साथै जर्वजस्ती बन्द गराउदै हिडेको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया