असल आकृति

अध्ययनमा औधी रुचि राख्छिन् आकृति धिताल । पाठशाला नेपाल फाउन्डेसनमा कक्षा नौमा पढ्छिन् । कक्षामा दोस्रो पोजिसनमा छिन् । उनको दैनिकी बिहान ५:३० बाट सुरु हुन्छ । नित्य काम सकाएर पढ्न बस्छिन्, नियमित रूपमा बिहान दुई घन्टा पढ्छिन् । त्यसपछि ८ बजे त स्कुलबस घरमै लिन आइपुगिहाल्छ, जानुपरिहाल्यो । राम्रो पढ्ने भएकाले स्कुलमा उनलाई शिक्षकशिक्षिकाले निकै माया गर्छन् रे † हाल राजधानीको पेप्सीकोलामा आफ्नो परिवारसँग बस्दै आएकी आकृतिको स्थायी घरचाहिँ सिन्धुपाल्चोकको सानोसिरुबारीमा पर्छ । यसअघि उनले कक्षा एकदेखि ६ सम्म नोबेल एकेडेमीमा पढिन् । त्यहाँ पढ्दा उनी ९९ प्रतिशत अंक ल्याएर स्कुलभरिकै प्रथमसमेत बनिन् रे ।
सबैसँग चाँडै घुलमिल हुन सक्ने क्षमता छ उनीसँग । ठूलालाई आदर अनि सानालाई सम्मान गर्न अरूलाई पनि सिकाउँछिन् उनी । गलत कुराको भने खुलेरै प्रतिवाद गर्छिन् । उनको त्यो निडर स्वभावको सबैले प्रशंसासमेत गर्छन् । समाजमा रहेका दु:खी र गरिबको सेवा गर्ने योजना छ भविष्यमा उनको ।
पढाइमा त उनी अब्बल नै छिन् । त्योबाहेक अतिरिक्त क्रियाकलापमा पनि आकृति उत्तिकै सक्षम छिन् । उनले स्कुलस्तरमा हुने विभिन्न प्रतियोगितात्मक कार्यक्रममा पुरस्कार पाएकी छिन् । हालै स्कुलमा भएको निबन्ध प्रतियोगितामा उनको ‘मेरा लक्ष्यका तगाराहरू’ शीर्षकको निबन्ध प्रथम पनि भयो । उनले अहिलेसम्म झन्डै एक सयवटा पुरस्कार जितिसकेकी छिन् । उनलाई परीक्षामा कसैले उछिन्यो भने कसरी उछिन्यो भनेर खुल्दुली लाग्दो रहेछ । आफूलाई उछिन्ने साथीको उत्तरपुस्तिका हेरर आफ्नो गल्ती सच्याउन उनी लाग्दिरहिछन् । उनलाई भ्रमण गर्न मन पर्छ । भारतको नयाँदिल्ली पनि पुगिसकिन् । त्यहाँ जाँदा देखेको ताजमहल उनलाई खुब मन पर्यो रे † नेपालका चितवन, दोलखा, मनकामना आदि स्थानमा उनी पुगिसकिन् । उनको मिलनसार स्वभावले गर्दा उनका साथी पनि धेरै छन् । उनी साथीहरूलाई धेरै पढेर नबुझ्नुभन्दा थोरै पढेर बुझ्न सुझाब दिन्छिन् ।

प्रतिक्रिया