‘सुकरातको डायरी’माथि विमर्श

काठमाडौं : साहित्यकार डा. गोविन्दराज भट्टराईको पछिल्लो उपन्यास सुकरातको डायरीमाथि शनिबार राजधानीमा अन्तरविमर्श गरिएको छ ।
वरिष्ठ साहित्यकार डा. मोहनराज शर्माले कृतिलाई विधा भञ्जन र विशृङ्खलताको उदाहरण मान्दै यसको अन्तरपाठियता र उत्तरआधुनिकताको प्रशंसा गरे भने वरिष्ठ साहित्यकार डा. ध्रुवचन्द्र गौतमले उपन्यासकारले पुनर्लेखन र परिमार्जनमा बढी सीप खर्चेकाले उपन्यासको प्रयोग सफल भएको बताए । समालोचक डा. लक्ष्मण गौतमले लेखकको भाषिक शिल्पको प्रशंसा गर्दै उपन्यास अलग धार पक्रिएर अगाडि बढेको उल्लेख गरे । युवा साहित्यकार शंकर तिवारीले लेखकले कृतिमा २५० भन्दा बढी लेखक एवं कृतिको उल्लेख गरे पनि केही अत्यन्त चर्चित कृतिलाई भने स्थान नदिएको गुनासो पोखे ।
पद्मकन्या क्याम्पसकी शिक्षिका अनुपमा प्रसाईंले भने उपन्यासमा ‘पित्तृसत्तात्मक धङधङी’ बाँकी रहेको तर्क अघि सारिन् । कार्यक्रममा साहित्यकार एवं समालोचक कुमार कोइराला, नवराज लम्साल, खेम कोइराला ‘बन्धु’, अमर न्यौपाने, टंक न्यौपानेलगायतको सहभागिता थियो । (सौस)

प्रतिक्रिया