थारु समुदायद्वारा सदभाव र्‍यालीमा आक्रमण

महेन्द्रनगर, ६ जेठ । कञ्जनपुरमा आज निकालिएको सद्भाव र्‍यालीमा झडप हुनुका साथै स्थिती नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।
अखण्ड सुदूरपश्चिमको आन्दोलन फिर्ता भएपनि थारु संघर्ष समितिले आन्दोलन जारी राखेपछि स्थानीयले सदभाव र्‍याली निकालेका थिए । झडपमा प्रहरी सहित १२ घाइते भएका छन् ।
झडपमा परेर समाजसेवी लिलाध्वज बस्नेत, नागरिक समाज कचनपुरका सह–संयोजक भवराज रेग्मी, द्वन्द्व पीडित एकल महिला संघकी अध्यक्ष सीता बोहरा, भुवन जोशी, राम बहादुर धामी र राज प्रताप सिंह घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयले घट्नामा ६ प्रहरी घाइते भएको जनाएको छ ।
नागरिक समाज कञ्चनपुरको अगुवाईमा महेन्द्रनगरदेखि कृष्णपुरको गुलरियासम्म मोटरसाइकलमा सद्भाव र्‍याली प्रदर्शन गरिएको थियो ।
गुलरियामा कोण सभा सम्पन्न गर्ने क्रममा लाठी लिएर आएका थारु समुदायका आन्दोलनकारीले प्रहरी भ्यानको झ्यालका सिसा फुटाएपछि झडप भएको थियो ।
उनिहरुले तीन मोटरसाइकलमा समेत तोडफोड गरेका छन् ।
दिउसो साढे २ बजे सदभाव र्‍यालीका संयोजक माधव भट्टले सभालाई बिसर्जन गर्ने क्रममा भएको झडपमा थारु समुदायका आन्दोलनकारीले प्रहरीले र सदभाव र्‍यालीका सहभागी माथी ढुङ्गा प्रहार गरेका हुन् ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाई फायर समेत गरेको जनाएको छ । नागरिक समाजको पूर्व घोषित कार्यक्रम अनुरुप दिउसो १२ बजे शुरु सय भन्दा बढी मोटर साइकलमा सदभाव र्‍यालीमा सहभागी थिए ।

प्रतिक्रिया