विश्व अटो स्पोर्ट्स संघका अध्यक्ष नेपाल आउँदै

काठमाडौं : नेपाल अटोमोबाइल स्पोटर्स एसोसिएसन (नासा) को निमन्त्रणामा मोटर स्पोर्ट्सको अन्तर्राष्ट्रिय संस्था ‘फेडेरेसन इन्टरनेसनल डे ला अटोमोबाइल’ (एफआइए) का अध्यक्ष ज्याँ टड नेपालको दुईदिने भ्रमणका लागि शनिबार काठमाडौं आउँदै छन् ।
अटोमोबाइल गतिविधि र पर्यटन तथा मोटर स्पोटर््सका क्षेत्रमा विश्वव्यापी गतिविधि सञ्चालन गरिरहेको संस्था एफआइएका उच्च अधिकारीको यो पहिलो नेपाल भ्रमण हो । भ्रमणका क्रममा उनले नेपालमा मोटर स्पोर्ट्सका सम्भावना र एफआइएको सहयोग तथा ‘युएन रोड सेफ्टी डिकेड’ र पर्यटन विषयमा नासा एवं सम्बन्धित पदाधिकारीसँग छुट्टाछुट्टै भेटघाट गर्नेछन् ।
नासाले सन् १९०४ मा पेरिसमा स्थापित एफआइएमा गत डिसेम्बरको नयाँदिल्ली महासम्मेलनबाट आबद्धता प्राप्त गरेको हो । स्मरणीय छ, मोटर स्पोटर््स सम्बन्धमा नासा नै नेपालको राष्ट्रिय खेलकुद प्राधिकरण (नेसनल स्पोर्टिङ अथोरिटी–एएसएन) हो । त्यसैगरी, नासा ‘कमिसन इन्टरनेसनल डे’कार्टिङ’ (सिआइके–एफआइए) को पनि राष्ट्रिय सदस्य हो । सडक सुरक्षा र ‘मोबिलिटी’ का लागि संयुक्त राष्ट्रसंघद्वारा मान्यताप्राप्त एफआइए राष्ट्र संघद्वारा घोषणा गरिएको ‘युएन डिकेड अफ रोड सेफ्टी २०११–२०२०’ को मुख्य प्रवद्र्धक पनि हो ।
एफआइएका अध्यक्षको भ्रमणले नेपालको खेलकुद तथा पर्यटन विकासमा समेत सकारात्मक सन्देश दिने अनुमान गरिएको छ । एफआइएमा १ सय ३४ देशका २ सय २२ राष्ट्रिय संघ आबद्ध छन् । एफआइए खासगरी फर्मुला–वान कार–रेसहरूको आयोजनाका लागि प्रख्यात छ । (सौस)

प्रतिक्रिया