खलियानमा उभिएर हेर्दा

सिर्जना गर्नु, हृदयदेखि काम गर्नु वा प्रेम गर्नुमा सुख हुन्छ । जीवनले बोकिल्याएका विरहलाई त्यही सुखले हुँदै नभएझैँ पारिदिन्छ । कविता सिर्जनाको क्षण सबै दु:ख बगेर गएको महसुस हुनुले सिर्जनशील गोरेटोको यात्री भई हिँडिरहेको छु ।
जीवनलाई परम जीवनतिर लग्नु छ, मृत्युतिर नलगेर । जीवनलाई परम प्यारतिर लग्नु छ, घृणातिर नलगेर । जीवनलाई करुणाको समुद्रतिर लग्नु छ, हिंसातिर नलगेर । जीवनलाई चरम शान्तितिर लग्नु छ, युद्घतिर नलगेर । यहीँनेर म आग्रही छु र कवितालाई वृक्षको रूपमा हेर्दछु । वृक्ष आकर्षक हुन्छ त्यसका हाँगा, शाखा र फूलपातले । कविता आकर्षक हुन्छ भाव, लय, ध्वनि, विम्ब र शिल्पले । तथापि जराले नै सम्पूर्ण वृक्ष उभिएको हुन्छ, भलै त्यो जमिन भित्रभित्र गएको राम्रो हुन्छ, कवितामा विचार गहिराइमा बसेको जस्तो ।
जीवन बाँचूँ–बाँचूँ लाग्ने हुनुपर्छ । तर, केही मीठो, केही चोखो, केही असल र केही राम्रो वरिपरि नभए जीवन बाँच्नै मन नलाग्ने भइदिन्छ । अव्यवस्थाको फोहरी राज्यसत्ता र फोहरी संयन्त्र भएको जुनसुकै देशबाट पनि तन्नेरीहरू पलायन हुनुको कारण पनि त यही हो । कविताको प्रायोजन यहीँनेर दखिन्छ । पतझड बगैँचामा आइपुगेको वसन्तको जस्तै । सपना रित्तिएको आँखामा सपना भर्न । हिँड्दा–हिँड्दै थाकी बसेका पैतालालाई नयाँ उमंग दिन । मिठास रित्तिएको छातीमा मिठास भर्न । बाँच्न र बाँच्नका लागि यो निर्दयी संसारमा लड्ने साहस सञ्चार गरिरहन, कविताको उपस्थिति जरुरी छ, जीवनका थुप्रै आयामहरू बुझ्न । एक, दुई, तीन, चार … वृक्षको झैँ कविताको पनि व्यापक उपयोग भएको छ र सदैव हुनेछ । भलै केही निश्चित उद्देश्य राखेर कविता लेख्छौँ हामी, रूख रोप्छौँ हामी, जीवन बाँच्दछौँ हामी ।
ह्दयलाई आकाश बनाएकै राम्रो, धर्ती बनाएकै राम्रो । इनार बनाएमा त त्यहाँ बिच्छी, भ्यागुता र सर्पहरू नै मिल्छन् प्रेम गर्न र जीवन बिताउन । राजमार्गभन्दा पर पनि बस्ती हुन्छ, जीवन हुन्छ । कविताका विषय ती सबै हुन् । सिर्जनशील पाइलालाई त राजमार्ग भन्ने नै हुँदैन । भलै मानवीय जीवन केन्द्रमा सधैँ किन नहोस् । तथापि, सिर्जना सधैँ सिर्जनात्मक उचाइ र परिष्कारले नै उम्दा हुने गर्छ ।
भौतिकता र आध्यात्मिकताको दुई किनारा भएको नदी हो जीवन । सय प्रतिशत आध्यात्मिकता झिकिदिँदा ‘रोबर्ट बन्छ । सय प्रतिशत भौतिकता झिकिदिँदा जोगीपछि केही हुन बाँकी हुन्छ भने त्यही हुन्छ । ‘रोबर्ट’ पनि नभएको र जोगी पनि नबनेको म एक जीवन कविता तिर्खाउँछु र कविता लेखेर तृप्त हुन्छु । कवितामा पाइने अत्यन्तै मीठो तिर्खा र तृप्तिले मभित्र कविता लेख्ने रहर जगाउँछ । हरेक असल भाव र विचारलाई कविता कौशलले उज्यालो पारूँ, सजाऊँ र पाठकअघि प्रेमिका उभ्याऊँ, ह्दयमा चाहना उब्जाउँछ । असल विचार र भावना माटाका प्यालामा बत्तीमात्रै राखिएका दिया न हुन् । कविताको माध्यमले त्यहाँ तेल राख्ने काम, सलाई कोरेर सल्काउने काम गर्न र उज्यालोको विस्तार गर्नुपर्ने हुन्छ ।
मेरो एकजना मित्रको जीवनसँगिनी वर्षमा दुई/चारपटकमात्र माइत जानु हुन्छ । अनि, उहाँ माइत जानुभएपछि मित्र भन्नुहुन्छ– आज मेरो कोठा नयाँ भएको छ । नयाँप्रतिको मोह मानवीय स्वभाव नै हो । हामी अरू नै जीवनमा पनि केही नयाँ खोजिरहेका हुन्छौँ । जीवनमा जस्तै समाजमा र देशमा पनि नयाँ देख्न, हेर्न खोजिरहेका हुन्छौँ । दार्शनिक र विचारकहरूको सत्य भने सधैँ उस्तै हुन्छ । ती दर्शन र विचारलाई उजिल्याउन, नयाँ ज्योति भर्न र जीवन–जगत्लाई नयाँ नौलो बाटो देखाउन कवितामा काम गर्न सकिन्छ । ह्दय र मस्तिष्कमा भएका भाव र विचारलाई शब्दमा रोपेर नयाँ सिर्जना गर्न सकिन्छ । तर, सिर्जनप्रक्रियामा रूपान्तरण नभई ताजापन आउँदैन । समयले वसन्त नल्याई हाँगाहरूमा पालुवा कहाँ पलाउँछन् र उ फूल कहाँ आउँछन् र उ यहीँनेर त हरेक सर्जकलाई जोखिम छ, चुनौती छ र सम्भावनाको अर्को ब्रऽमाण्ड पनि ।
भन्ने त कुरा हो । पाठकसम्म पुर्‍याउने त विषय हो । तर, कसरी भन्ने र कसरी पुर्‍याउने ? यहीँनेर देखिने हो, यहीँनेर चिनिने हो चलचित्रमा निर्देशक, कवितामा कवि । मीठोसँग कुरा भन्नु न हो कविता लेख्नु भनेको । मीठोसँग भनिएन भने ती सिर्फ नमीठा गथासो र गन्थनमात्र भइदिन्छन् । मस्तिष्क चक्कराउने मन्त्र र दर्शन भइदिन्छन् । मीठोसँग भनिएको मन्त्र र दर्शनका हरफहरूलाई भने हामी कविता नै भन्दछौ । र, कविता नभने पनि कविताजस्तै पछिसम्म पनि सम्झिरहने भइदिन्छन् मीठोसँग कुरा भनियो भने । जस्तो कि नेल्सन मन्डेलाका अभिव्यक्ति । भन्ने तरिकालाई लेखनमा हामी शैली भन्दछौ । अहो ऊ जहिलेदेखि कविता लेख्न थालेँ यो शैली खोज्न थालेको पनि उति नै समय भएछ । लाग्दै छ– यही शैलीको खोजीले लेखनलाई सिर्जनशील बनाएको छ कि ऊ के होला शैली खोज्ने काम सकिए ? म कविता लेख्ने ‘रोबर्ट’ नै हुँला कि ऊ भेट्टाएको विषयलाई शैलीको फर्मामा राख्यो बस कविता बन्यो । यो सब सम्भव नहोला । र, शैलीको खोजीमा छट्पटिउँला सधैँ । त्यो प्रेमीजस्तो जसले आफ्नी प्रेमिकालाई सय प्रतिशत विश्वास दिलाउन कहिले प्रेमिकालाई मन पर्ने सामान ल्याएर त कहिले फेवातालमा डुंगा खियाउँदै, त कहिले त्रिभुवन विमानस्थलबाट भेडा–च्यांग्राझैँ बेचिनका लागि उड्न तयार भएर भनिरहेको हुन्छ — ‘म तिमीलाई माया गर्छु ।’
‘मलाई यो मन पर्‍यो, अझै राम्रो पार, यो विशेष कविता हुनेछ । यो मन परेन, भाव खुल्दै खुलेन ।’ यस्तो प्रतिक्रिया पाएको छु मित्रहरूबाट । ती मित्रलाई आज पनि अक्षर समूह चितवनमा भेटिरहेछु । संरक्षण कविता आन्दोलनमा पनि भेटिरहेछु । के पूर्व, के पश्चिम कविता लेखनमा सँगसँगै हिँड्ने मित्रहरूमा पाइरहेकै छु ।
बसाइँ सर्नुअगाडि घरलाई रंगरोगन गरिन्छ, फर्निचर राखिन्छ, झ्यालमा पर्दा राखिन्छ, गमलामा माटो राखेर फूल रोपिन्छ र धजाले सजाइन्छ । र, यति बेला खलियानमा धानको रासअगाडि उभिएको अनुहारमा चकित–चकित तर अनेक आशंकामा अल्झिरहेको उही चितवनको पदमपोखरीको तन्नेरी किसानजस्तै भएको छु । यो आशंका त्यही बजारको हो । अब बजारले के भन्ने हो ? र, त्यहीँनेर अर्को आशंका पनि छ कि बजारले केही पनि नभन्ने पो हो कि ऊ ।
(पाण्डुलिपि बुक्सले भर्खरै प्रकाशन गरेको कवि प्रसन्नको कवितासङ्ग्रह ‘र नि:शब्द’मा कविले राख्नुभएको लेखकीयबाट)

प्रतिक्रिया