पर्खिबसे आउला भनी…

काठमाडौं, ६ जेठ । पद बहालीका लागि नयाँ मन्त्री आउँदै छन् भन्ने खबर फैलिएपछि ऊर्जा मन्त्रालय प्रशासन विभागका कर्मचारीलाई ठूलो चटारो पर्‍यो । उनीहरूले हतारहतार मन्त्रालयको ल्यान्डलाइन र आºनो मोबाइल फोनबाट विभागीय प्रमुखहरूलाई फोन गरेर मन्त्रालयमा डाके ।

एमालेबाट मन्त्री बनेकी राधा ज्ञवाली ऊर्जा मन्त्रालयको जिम्मेवारी सम्हाल्न शुक्रबार साढे १२ बजे मन्त्रालय आउने हल्ला फैलिएको थियो । हल्लैहल्लामा प्रशासन विभागका कर्मचारीले मन्त्रीको स्वागतका लागि पुष्पगुच्छासहित तयार रहन सबै कर्मचारीलाई भनेका थिए । त्यसैका आधारमा विभागीय प्रमुख तथा मन्त्रालयका अन्य कर्मचारी फूलामाला लिएर तयारी अवस्थामा बसे ।
मन्त्रीको स्वागतका लागि मूलढोकामा दुईवटा तामाका गाग्रीलाई अबिर र सयपत्री फूलको मालाले सजाएर राखिएको थियो । तर, यो सबै तयारी खेर गयो । ‘साढे १२ बजे ऊर्जामन्त्री आउने जानकारी पाएपछि उहाँको स्वागतका लागि तयारी गरियो,’ ऊर्जासचिव हरिराम कोइरालाले भने, ‘तर, पछि नआउने जानकारी पाएपछि सबै कार्यक्रम रद्द भए । नयाँ मन्त्रीको जिम्मेवारीबारे टुंगो लागेको रहेनछ ।’
मन्त्रीको स्वागतका लागि जल तथा ऊर्जा आयोग, विद्युत् विकास विभागका उच्च कर्मचारी मन्त्रालयमा सहभागी थिए । मन्त्रालयभित्रका एमालेनिकट कर्मचारीले ज्ञवाली ऊर्जामन्त्री हुने र उनले साढे १२ बजे मन्त्रालयमा पदबहाली गर्ने खबर फैलाएका थिए । ‘दिउँसो दुई बजेसम्म मन्त्री आउनुहुन्छ कि भनेर कुरिरहेका थियौँ,’ एक कर्मचारीले सौर्यसँग शुक्रबार साँझ भने ।
एक कर्मचारीका अनुसार ऊर्जाले मन्त्रीको स्वागतका लागि शुक्रबार मात्र तयारी गरेको होइन । उनीहरूले गत बुधबारदेखि नै फलफूल र टीका तयारी अवस्थामा राखेका थिए । तर, मन्त्री नआएपछि फूलमाला नओइलियोस् भनेर ऊर्जाको क्यान्टिनको फ्रिजमा राखिएको छ ।
ऊर्जामा मात्र होइन, युवा तथा खेलकुद मन्त्रालयका कर्मचारीले पनि शुक्रबार यस्तै तयारी गरेका थिए । उनीहरूले मन्त्रीको स्वागतका लागि फूलमाला र सामान्य खाजाको समेत व्यवस्था गरेका थिए । मन्त्रालयका सहप्रवक्ता सूर्यप्रसाद शर्माले भने, ‘मन्त्रीको स्वागत गर्न तयारी अवस्थामा थियौँ तर आज पनि मन्त्री आउनुभएन ।’ मन्त्री नहुँदा मन्त्रालयको काममा अप्ठ्यारो परिरहेको सहप्रवक्ता शर्माले बताए ।
शिक्षा मन्त्रालयका सहप्रवक्ता रोजनाथ पाण्डेले पनि नयाँ मन्त्रीको स्वागत गर्ने तयारीमै दिन बितेको बताए । उनले भने, ‘एमाले सरकारमा सहभागी भएलगत्तै शिक्षाले नेतृत्व पाउने चर्चा चलेपछि हामीले मन्त्रीको स्वागतका सबै प्रक्रिया पूरा गरिसकेका थियौँ,’ उनले भने ।
कृषि मन्त्रालयका कर्मचारीले मन्त्रीको स्वागतका लागि शुक्रबार तयारी गरेका थिए । उनीहरूले तामाका गाग्री रंगाएर पानी भरी मन्त्रालयको भुइँतलामा राखेका थिए । ‘मन्त्रीको निर्देशनपछि खाने खाजाको समेत अर्डर गरिसकेका थियौँ,’ एक कर्मचारीले भने ।
अर्थ मन्त्रालयले भने मन्त्रीको स्वागतका लागि तयारी गरेको थिएन । अर्थमा यसअघिकै मन्त्री आउने हल्ला चलेकाले कुनै चासो नदेखाइएको हो । मन्त्रालयका प्रवक्ता राजन खनालले भने, ‘पुरानै वा नयाँ मन्त्री आउने भन्ने टुंगो नलागेकाले स्वागतका लागि हामीले ध्यान दिएका छैनौँ ।’
नयाँ मन्त्रीको स्वागत गर्न स्थानीय विकास, महिला, बालबालिका, रक्षा, परराष्ट्रलगायत मन्त्रालय पनि शुक्रबार तयारी अवस्थामा थिए ।
यता, राष्ट्रपति कार्यालय शुक्रबार साँझ फेरि थपिने नयाँ मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउने तयारीमा थियो । प्रधानमन्त्री कार्यालयले दिएको समयमै उसले शपथको सम्पूर्ण तयारी गरेको थियो । राष्ट्रपति कार्यालय स्रोतका अनुसार मन्त्रीको शपथका लागि साँझ ६ बजेको तयारी थियो । तर, प्रधानमन्त्रीको निजी सचिवालयले साँझ साढे पाँच बजे मात्र शपथग्रहण कार्यक्रम स्थगन भएको र शनिबार गराउने जानकारी गराएको थियो ।
प्रधानमन्त्री कार्यालयले शुक्रबार नेकपा मालेका कृष्ण बेलबासे, माले समाजवादीका यदुवंश झा र चुरे भावर एकता पार्टीका बद्री न्यौपानेलाई मन्त्रीको शपथ खुवाउने तयारी गरेको हो । प्रधानमन्त्रीसहितका शीर्ष नेताहरूको व्यस्तताका कारण मन्त्रिपरिषद् विस्तार रोकिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
मन्त्रीले पाए जिम्मेवारी

काठमाडौं : प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवनियुक्त मन्त्रीहरूलाई शुक्रबार जिम्मेवारी तोकेका छन् । सरकारले सहमतीयको स्वरूप दिएको १२ दिनपछि उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठबाहेक सबै मन्त्रीको जिम्मेवारी तोकिएको हो ।
कांग्रेसको नेतृत्व गर्दै सरकारमा सहभागी भएका उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले रक्षा र कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् । कांग्रेस केन्द्रीय सदस्य सूर्यमान गुरुङलाई स्थानीय विकास र सामान्य प्रशासन मन्त्रालय दिइएको छ ।
त्यस्तै, एमालेको नेतृत्व गर्दै सरकारमा सहभागी महासचिव ईश्वर पोखरेलले उपप्रधानमन्त्री तथा परराष्ट्र, कृषि र युवा तथा खेलकुद मन्त्रालय पाएका छन् । एमाले केन्द्रीय सदस्य राधा ज्ञवालीलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ । माओवादीबाट मन्त्री भएका पोष्टबहादुर बोगटीलाई नागरिक उड्डयन, वर्षमान पुनलाई अर्थ, टोपबहादुर रायमाझीलाई शान्ति र दीनानाथ शर्मालाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यस्तै, नेकपा संयुक्तका चन्द्रदेव जोशीलाई भूमिसुधार, परिवार दलका एकनाथ ढकाललाई सहकारी तथा गरिबी निवारण र नेपा: राष्ट्रिय पार्टीका केशवमान शाक्यलाई विज्ञान प्रविधि, संघीय सद्भावनाका अनिल झालाई उद्योग मन्त्रालयको जिम्मेवारी दिइएको सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिए । मधेसी मोर्चाका तर्फबाट मन्त्री बनेकाहरूलाई भने पहिल्यै मन्त्रालय भाग लगाइएको थियो । राप्रपाका परशुराम खापुङले आपूर्ति तथा वाणिज्य मन्त्रालय पाएका छन् ।
यसैबीच, शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार कार्यविभाजन नियमावली ०६९ पारित गरेको मन्त्री यादवले जानकारी दिए । सरकारले अन्तरिम संविधानको धारा ४३ को उपधारा २ ले दिएको अधिकार प्रयोग गर्दै नियमावली संशोधन गरेको हो । सरकारले नियमावली पारित गरेलगत्तै दुई नयाँ मन्त्रालय थपिएको छ । नयाँ दुई मन्त्रालय थपिए पनि मन्त्रालयको संख्या भने २७ वटै कामय गरिएको छ ।
सरकारले यसअघि मन्त्रालयको नाम र काम नमिलेको भन्दै वातावरण मन्त्रालयलाई विज्ञान तथा प्रविधिमै गाभेको थियो । संस्कृति, संसदीय व्यवस्था तथा संघीय मामला मन्त्रालयलाई टुक्र्याएर कानुन तथा स्थानीय विकास र पर्यटन मन्त्रालयमा गाभिएको छ । त्यस्तै, श्रम तथा यातायात व्यवस्था मन्त्रालयलाई विभाजन गरी भौतिक योजना तथा यातायात व्यवस्था मन्त्रालय बनाइएको छ भने श्रम मन्त्रालयमा रोजगार शब्द थपिएको छ । (सौस)

प्रतिक्रिया