बन्द हड्ताल होइन, वार्ता रोजौँ

राजनीतिक वातावरण अस्वाभाविक रूपले खल्बलिएपछि नेपाली जनताले २०५२ सालदेखि कष्ट भोग्दै आइरहेका छन् । एमाओवादी शान्तिप्रक्रियामा आइसकेपछि दु:ख कष्ट समाप्त हुन्छ भन्ने ठानिएको थियो । तर, हुन सकेन । योग्य, क्षमतावान् र दूरदर्शी नेताको अभावमा समाजमा बेथिति, अनुशासनहीनता, उद्दण्डता, असमानता र अस्वाभाविक गतिविधि बढ्दै गए, जसले गर्दा नेपाली जनता दु:खमाथिको भुक्तमान भोग्न बाध्य भए । २०५२ सालमा माओवादीको नाममा भित्रिएको आतंक समाजमा विस्तार हुँदै गएर अब झाँगिने अवस्थामा पुगेको छ । माओवादीको साख गिर्दै र खुम्चिँदै गए पनि उक्त पार्टीले छाडेको भनिएको आतंकको अनुयायी बनेर विभिन्नखाले असामाजिक तत्त्व समाज भाँड्न उद्यत भएर लागेको छ । अखण्डताको नाममा, जातको नाममा, क्षेत्र, धर्म र भाषाको नाममा जनता होइन, केही अतिवादी ठुटे नेता समाज बिथोल्न लागिपरेका छन् । त्यही भाँडिएको समाजमा मात्र आफ्नो अस्तित्वको रक्षा हुन्छ भन्ने सोच राख्ने केही नेताले अभिशप्त अभिव्यक्ति दिएर आगोमा घिउ थप्ने काम गर्दै छन् ।
एकआपसमा भिडाएर आफू पानीमाथिको ओभानो बन्ने कोसिस गर्दै छन् । यसप्रति नेपाली जनता सचेत हुन जरुरी छ । अहिले मुलुकव्यापी रूपमा विभिन्नखाले आन्दोलन भइरहेका छन् । बन्द, हड्ताल, नारा–जुलुस मात्र होइन, एकआपसमै जनतालाई भिडाउन थालिएको छ । कैलाली, कञ्चनपुर र नवलपरासीमा भएका अशोभनीय भिडन्तले नेपाली–नेपालीबीच काटमार सुरु हुँदै छ भन्ने सन्देश दिएको छ । जुन सन्देशले सामाजिक सद्भाव पूरै बिथोलेर नेपालीलाई युद्धतर्फ धकेल्ने दुष्प्रयास गरेको छ । समाजमा रहेका केही अतिवादी व्यक्तिका कारण यो सबै हुँदैछ, तसर्थ हामीले सचेत भएर सामाजिक सद्भाव कायम राख्नुपर्छ भन्ने नसोच्ने हो भने मुलुक बर्बाद हुन सक्छ । तसर्थ केही एनजिओ र विदेशी रकमबाट निहित उद्देश्यका लागि परिचालित समाज भँडुवाहरूलाई बेलैमा जनताले चिन्न आवश्यक छ । राष्ट्रप्रति माया नभएका र सुनियोजित ढंगले परिचालित व्यक्तिको लहैलहैमा नलागी सामाजिक सद्भाव कायम राख्दै आफ्नो अधिकार सुरक्षित गर्ने अभियानमा लाग्नुपर्छ । यसले मात्र हामीलाई विजयी बनाउँछ । अन्यथा हाम्रो अवस्था झन् नाजुक र दयनीय बन्दै जानेछ ।
समाजमा द्वन्द्व रहनु स्वाभाविक हो । यसलाई व्यवस्थापन गर्ने सामथ्र्य नेतृत्वमा रहेन भने त्यही द्वन्द्वले हिंसात्मक रूप लिन्छ । र राष्ट्र अधोगतितर्फ लाग्छ । बन्द हड्ताल, नाराजुलुस प्रजातन्त्रमा स्वाभाविक भए पनि यसले निरन्तरता पायो भने अस्वाभाविक बन्छ । अहिले नेपालमा बन्द हड्तालले निकै नराम्रो असर पुर्‍याएको छ । यसले आर्थिक, सामाजिक, शैक्षिक सबै क्षेत्रलाई प्रभावमा लिन्छ र राष्ट्रलाई कंगाल बनाउँछ । केही तत्त्वको अभीष्ट पूरा भए पनि मुलुकको अभीष्ट भने पूरा हुनेछैन । तसर्थ बन्द हड्ताल त्यागेर सबैले वार्ताद्वारा आफ्नो माग पूरा गराउने मार्ग अपनाउनुपर्छ । समानता, सहअस्तित्व, समानुपातिक, समावेशी पहिचान र अखण्डता अहिले चासोको विषय बनेको छ । यो स्वाभाविक पनि हो । वास्तवमा अधिकार नपाएकाहरूले अधिकार खोज्नेबेला पनि यही हो । तर, आफ्नो अधिकार स्थापित गर्ने नाममा अर्काको अधिकार गुमाउने तानावाना बुन्ने, नेपाल बन्द गर्ने र सामाजिक सद्भावमा खलल पुर्‍याउने काम कसैले गर्नु हुँदैन । बन्द हड्तालको तरिका त्यागौँ र वार्ताद्वारा समस्याको समाधान खोजौँ ।

प्रतिक्रिया