अनुसन्धानमा भारतीय प्रहरीको असहयोग

नेपालगन्ज, ५ जेठ । बाँकेमा हत्या गरिएका भारतीय नागरिकको हत्याराको खोजी गर्न प्रहरीलाई भारतीय प्रहरीले असहयोग गरेको छ ।

भारतीय प्रहरीको अहसयोगका कारण हत्या भएको लामो समय बित्दा पनि प्रहरीले अपराधी पक्राउ गर्न सकेको छैन ।
गत माघ र चैतमा बाँकेमा एक बालकसहित तीन भारतीयको हत्या भइसकेको छ । हत्यालगत्तै हत्यारा भारततिर भागेको र त्यहाँको प्रहरीले सहयोग नगरेकाले पक्राउ गर्न नसकिएको बाँके प्रहरीले जनाएको छ ।
यात्रु बनेर आएका दुईजनाले ३ माघमा भारत बहराइचका सवारीचालक ऐहसान अन्सारीलाई नेपालगन्जमा हत्या गरेका थिए । २७ माघमा मनिकापुरको डुडुवाखोला किनारमा उनको शव फेला परेको थियो ।
अन्सारीले चलाएर ल्याएको भाडाको युपी ४० टि ००७४ नम्बरको बलेरो जिप ४ माघमा महेन्द्रराजमार्ग अन्तर्गत ढकेरी जंगलमा भेटिएको थियो । प्रहरीले गाडी हत्याउन यात्रु बनेर आएकाबाटै चालकको हत्या गरेको दाबी गरेको छ ।
पहिचान खुले पनि अपराधी भारतमा लुकेकाले पक्राउ गर्न नसकिएको डिएसी उदय तामाङले जानकारी दिए । अन्सारी हत्याको डेढ महिनापछि बहराइच घर भई नेपालगन्ज–१३ भृकुटीनगर बस्दै आएका सन्तु वर्मा र उनका १२ वर्षीय छोरा भोलाको घाँंटी रेटेर हत्या गरिएको थियो । बाबुसँगै बस्दै आएकी मृतक वर्माकी छोरी अहिलेसम्म बेपत्ता छिन् ।
प्रहरीले छोरी बेपत्ता बनाउनेबाटै बाबुछोराको हत्या भएको आशंका गरेको छ । तर, घटनासँग जोडिएका कोही पनि पक्राउ परेका छैनन् ।
भारतीय प्रहरीलाई दुवै घटनाको अनुसन्धानका लागि पत्र पठाए पनि जवाफ नपाएको डिएसपी तामाङले जानकारी दिए । भारतीय प्रहरीले घटनाको अनुसन्धानमा सहयोग नगरेपछि बाँके प्रहरीले पनि दुवै घटनाका अनुसन्धानमा चासो दिन छाडेको छ । हत्याको घटना ‘क्रस बोर्डर’सँग जोडिएकाले आफूहरूले मात्र अपराधी पक्राउ गर्न नसक्ने डिएसपी तामाङले बताए ।

प्रतिक्रिया