लागूऔषध कारोबारमा संलग्न प्रहरी पक्राउ

काठमाडौं, ४ जेठ । लागूऔषधको कारोबारमा संलग्न भएको अभियोगमा प्रहरी हवल्दार धनराज बि.क. सहित प्रहरी जवानद्वय रमेशबहादुर बुढा र सोमबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
लागू औषध नियन्त्रण कानून कार्यान्वयन इकाईबाट खटिएको प्रहरीले राजधानीमा उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुलाई वैशाख–२७ गते ६५ ग्राम खैरो हेरोइन सहित पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा हवल्दार विक पाँचथर जिल्ला फिदिम–१ निवासी हुन् । उनी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा कार्यरत थिए ।
उनको बयानका आधारमा सुर्खेतको पाम्का–५ टोडका घर भई जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत २८ वर्षीय प्रहरी जवान बुढा र गोरखा जिल्ला गाईखुर–६ घर भई महानगरीय सशस्त्र प्रहरी गण नम्बर २ महाराजगञ्ज दरबन्दीका प्रहरी जवान २८ वर्षीय तामाङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया