स्वरसम्राटको सपना पूरा गर्दाको खुसी


काठमाडौं, ४ जेठ । दशकौंअघि स्वरसम्राट नारायण गोपालले गाउने तयारी गरेको गीत अहिले आएर आफूले गाउन पाउँदा गायक शिशिर योगी गौरव अनुभूति गरिरहेछन् । ‘यो गीत नारायण गोपालको सपना थियो,’ उनले भने । शिशिरका अनुसार नारायण गोपालले एक मुठी चामल पाउँm हजुर जयजय मनाउँm बोलको सो गीत रत्नशमशेर थापालाई लेख्न अनुरोध गरेका थिए । तर, ०१७ सालमा रेडियो नेपालमा नारायण गोपालले सो गीत रेकर्ड गराउन खोज्दा सेन्सर बोर्डले प्रतिबन्ध लगाएको थियो । ‘नारायण गोपालको त्यो सपना अहिले आएर मैले साकार गर्न पाएँ,’ उनले भने, ‘मलाई खुसी लागेको छ ।’
त्यसो त यसअघि पनि यस्ता देशभक्तिपूर्ण अनि सामाजिक विषयवस्तुका गीतबाट निकै चर्चा कमाएका छन् शिशिरले, मायाप्रेमका गीत त छँदै छन् । ०४७ सालमा गायक बन्ने उद्देश्यले काठमाडौं छिरेका उनले जब सारंगी त रेटे पनि गाए, त्यसपछि यो यात्रामा पछि फर्केर हेर्नुपरेको छैन ।
राष्ट्रकवि माधव घिमिरेको शब्द र शक्ति वल्लभको संगीत रहेको यस गीतमा जीवन भर्ने काम उनैको स्वरले गरेको हो । यो गीतलाई उनले माथि उठाए अनि यही गीतले उनलाई पनि माथि उठायो । मायाप्रेममा तड्पिएका जोडी हुन् वा समाजभित्रका अन्य वर्ग, सबैको प्रिय गीत बन्यो र सबैका प्रिय बने शिशिर पनि ।
डा. विश्वनाथ प्रेमको शब्द र संगीतमा उनैले गायको अर्को देशभक्तिपूर्ण गीत पनि सदाबहार बनेर रहिआएको छ– छाडेर काम सारा, एक काम रोजिरहेछु, यो देशमा म एउटा मानिस खोजिरहेछु । यो गीतको मर्मले भनेजस्तै देशमा सफल र असल नेतृत्व दिन सक्ने मान्छेको अभाव सधैँभरि देखिँदै आएको उनी बताउँछन् । भन्छन्, ‘नेतृत्व असल सपूतका हातमा परे मात्रै देश उँभो लाग्छ ।’
केही समयअघि गाएको तिमीले पराइ ठानेपछि गीतबाट पनि उनले राम्रै चर्चा बटुले । सन्तोष श्रेष्ठले संगीत दिएको यो गीतले मायाप्रेमका विषयवस्तुलाई समातेको छ । गाएका थोरै गीतबाटै छुट्टै परिचय बनाउन सफल योगी गीतमार्फत समाज र देशको पीडा बोल्नुपर्ने बताउँछन् । उनका रुचिका गीत पनि त्यस्तै नै हुन्छन् । गीतसंगीतलाई आफ्नो प्राण बताउने उनले भर्खरै मोडमोडमा नामक गीतिसंग्रह पनि बजारमा ल्याएका छन् । शब्द र संगीत नभईकन कहिल्यै पनि गायकले पूर्णता नपाउने धारणा राख्ने उनी देशविदेशका स्टेज कार्यक्रमबाट आउने पारिश्रमिकको केही अंश संगीतकार र गीतकारलाई पनि बाँड्ने गरेको सुनाउँछन् ।

प्रतिक्रिया