बम बनाउने सामग्रीसहित माओवादी कार्यकर्ता पक्राउ

वीरगन्ज, ४ जेठ । एकीकृत नेकपा (माओवादी)का पूर्णकालीन कार्यकर्ताले बारामा बम बनाउने कारखाना सञ्चालन गरिरहेको फेला परेको छ ।

मनहर्वा–९ स्थित डाँडामा रहेको पूर्णकालीन कार्यकर्ता बस्दै आएको घरमा बम बनाउने कारखाना फेला परेको हो । सुराकीका आधारमा इलाका प्रहरी कार्यालय सिमराका इन्स्पेक्टर केपी शर्माको टोली बम बनाउने घरमा पुगेर छापा मारेको छ । प्रहरीले ठूलो मात्रामा बम बनाउन प्रयोग गरिने सामग्री, तयारी बम, हतियार र लागुपदार्थसहित माओवादीका दुई कार्यकर्तालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा सिंहासनी–६ का उमेश पटेल र सिंहासनी–९ का बिन्दालाल राउत छन् । पटेल माओवादीको भोजपुरा राज्य समिति सदस्य हुन् भने राउत माओवादीका गाविस पार्टी प्रतिनिधि हुन् । उनीसँगै प्रहरीले तयारी अवस्थामा रहेका चार थान पाइप बम, चार थान ग्रिनेड, एक थान कटुवा पेस्तोल र थ्रि–नट थ्री पेस्तोलका गोली बरामद गरेको छ ।
यस्तै, बम बनाउन प्रयोग गरिने म्याग्नेट पाँच सय ग्राम, पोटासियम पाँच सय ग्राम, गन्धक पाउडर १० किलोग्राम, पोटासियम क्लोराइड पाउडर चार किलो ग्राम, युरिया मल पाँच किलो ग्राम र जिआई पाइपका सकेट आठ थान बरामद गरिएको इन्स्पेक्टर शर्माले बताए । यस्तै, विस्फोट गराउन प्रयोग गरिने फ्युज र ब्याट्री, कालो तार दुई सय मिटर र एलपी ग्यासको सिलिन्डर एक थान पनि प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेका कार्यकर्ताबाट भारी मात्रामा लागुऔषध नर्फिन, टिडिजेसिक इन्जेक्सन, फेनरागन इन्जेक्सन, डाइजापाम इन्जेक्सन, सिरिन्ज पनि फेला परेको छ । प्रहरीले दुवैजनाको साथबाट एक लाख २५ हजार रुपियाँ नगद पनि बरामद गरेको छ ।
माओवादीले बम कारखाना सञ्चालन गरिरहेको घर गुरुजी भनिने विनयराज पाण्डेको हो । योङ कम्युनिस्ट लिग भोजपुरा राज्य समितिका इन्चार्ज विष्णु लामाका अनुसार पाण्डेको घर माओवादीले द्वन्द्वकालमै कब्जामा लिएर पूर्णकालीन कार्यकर्तालाई राखिएको थियो । बरामद हतियार, विस्फोटक पदार्थसहित पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको इन्स्पेक्टर शर्माले बताए ।
माओवादीले प्रहरीले आफ्ना निर्दोष कार्यकर्तालाई फसाएको आरोप लगाएको छ । माओवादी बारा इन्चार्ज हरि चौलागाईंले पार्टीभित्र पुष्पकमल दाहाल निकट मानिने भोजपुरा राज्य समिति सेक्रेटरी अञ्जना विशंखेको उक्साहटमा प्रहरीले राउत र पटेललाई झुटो आरोपमा फसाएको दाबी गरे । चौलागाईं र पटेल, पार्टी उपाध्यक्ष एवं प्रधानमन्त्री बाबुराम भट्टराई पक्षधर हुन् ।
माओवादी स्रोतका अनुसार पटेलले केही दिनअघि सिमरास्थित योङ कम्युनिस्ट लिगको कार्यालयमा विशंखेले प्रयोग गर्दै आएको वा ८ च २२०७ नम्बरको चोरीको गाडी प्रहरी लगाएर पक्राउ गराएका थिए । प्रहरीले गाडी नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइसकेको छ ।
लिग भोजपुरा इन्चार्ज लामाले माओवादीले बम बनाउने कारखाना सञ्चालन गरेको आरोप झुठो भएको बताए । उनले प्रहरीले सामान बरामद गरेको भन्ने घर माओवादीले जनयुद्ध कालदेखि नै कब्जामा लिएर पूर्णकालीन कायकर्तालाई राख्दै आएको बताए ।
माओवादी भोजपुरा राज्य समितिमा नेताहरूबीच गुट र उपगुटको राजनीति चर्किँदै गएपछि एक–अर्काविरुद्ध पोल खोल्ने क्रम सुरु भएको छ । दाहाल पक्षधर भोजपुरा सेक्रेटरी विशंखेले चढ्ने गरेको गाडी प्रहरीले नियन्त्रणमा लिएको साता नबित्दै भट्टराई पक्षका कार्यकर्तालाई माओवादीकै सुराकीमा प्रहरीले ठूलो परिमाणमा हतियार र विस्फोटक पदार्थसहित पक्राउ गरेको हो ।
९ वैशाखमा माओवादी कार्यकर्ताकै सुराकीका आधारमा प्रहरीले बारा हरैया –६ का माओवादी कार्यकर्ता काशी तिमिल्सिनालाई स्वचालित पेस्तोलसहित कलैयाबाट पक्राउ गरेको थियो । दाहाल पक्षधर पार्टीका बारा इन्चार्ज चौलागाईंलाई भोजपुरा सेक्रेटरी विशंखेले हटाएर सभासद् जयराम दाहाललाई जिल्ला इन्चार्जको जिम्मा दिएपछि भोजपुरा समितिमा नेताहरूबीच विवाद बढेर गएको छ र उनीहरूका अपराध धमाधम छताछुल्ल हुन थालेका छन् ।

प्रतिक्रिया