सुकुम्बासी व्यवस्थापनमा अन्योल

काठमाडौं : चोभारवासीको विरोधपछि थापाथलीस्थित बाग्मती किनारबाट विस्थापित सुकुम्बासीको व्यवस्थापन अन्योलमा परेको छ । विस्थापित सुकुम्बासीलाई तत्कालका लागि चोभारस्थित हिमाल सिमेन्ट कारखानामा सार्ने तयारी भइरहेको बेला मंगलबारदेखि विरोधमा उत्रिएका स्थानीयवासीले कुनै पनि हालतमा सुकुम्बासी राख्न नदिने अडान लिएका छन् ।
स्वयम्भूस्थित इचङ्गुनारायणमा भवन निर्माण नभएसम्म सुकुम्बासी चोभारमा राख्न लागिए पनि अनावश्यक ‘हल्ला’का कारण स्थानीयवासी विरोधमा उत्रिएको अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । ‘चोभारमा सधैँका लागि सुकुम्बासी राख्न लागिएको होइन, इचङ्गुनारायणमा व्यवस्था नहुन्जेल मात्रै हो,’ समितिका अध्यक्ष महेशबहादुर बस्नेतले भने, ‘सधैँका लागि भन्ने हल्ला फिँजाइएका कारण विस्थापितलाई चोभार सार्न समस्या पर्ने भयो ।’
एक साताअघि सरकारले थापाथलीस्थित नदीकिनार खाली गराउँदा त्यहाँको जग्गा अतिक्रमण गरी बसेका सुकुम्बासी विस्थापित भएका थिए । गैरसरकारी संस्थाको बहकाउमा लागेर उनीहरूले तीन महिनाअघि सरकारले सुकुम्बासी पहिचान गर्न खुलाएको निवेदन भर्न मानेका थिएनन् । निवेदन भरेकालाई पुन: जाँचपछि असली प्रमाणित भए तीन महिनापछि इचङ्गुनारायणमा दीर्घकालीन व्यवस्थापन गर्ने तयारी थियो । तर, त्यसबेला करिब दुई सय ५० मध्ये ६७ परिवारले मात्रै निवेदन भरेका थिए । (सौस)

प्रतिक्रिया