जबजको औचित्य पुष्टि भयो : खनाल

काठमाडौं, ४ जेठ । एमाले अध्यक्ष झलनाथ खनालले मदन भण्डारीको अगुवाइमा पार्टीले ल्याएको जनताको बहुदलीय जनवाद (जबज)को औचित्य पुष्टि भएको बताएका छन् । मदन भण्डारी र जीवराज आश्रितको स्मृतिमा पार्टीले बुधबार गरेको श्रद्धाञ्जलीसभामा अध्यक्ष खनालले जबजलाई संशोधनवादी र दक्षिणपन्थी भन्ने शक्तिहरू नै जबजले लिएको बाटोमा आउन बाध्य भएको बताए ।

भण्डारी संसारमा कम्युनिस्ट सत्ता ढल्दै गरेका बेला शान्तिपूर्ण जनआन्दोलन र जनमतबाट कम्युनिस्ट पार्टीलाई लोकप्रिय बनाउने सिद्धान्तको सूत्रधार भएको खनालको भनाइ थियो । ‘हतियारको बलमा स्थापित सत्ता टिक्न सक्दैनन्, जनताको माया पाएर मात्र लोकप्रिय बन्न सकिन्छ भन्ने सत्यतालाई हतियार बोकेका उग्रवामपन्थी शक्ति पनि स्वीकार गर्न बाध्य भएका छन्,’ खनालले भने ।
उनले जबजले सामाजिक–आर्थिक परिवर्तनसहितको लोकतन्त्रको वकालत गरेको र ०६२/६३ मा भएको जनआन्दोलनले त्यसैलाई पुष्टि गरेको बताए । परिवर्तनका मुद्दाप्रति कांग्रेस र लोकतन्त्रका मुद्दाप्रति माओवादी उदासीन हुने गरेको भन्दै उनले जनआन्दोलनले प्रगतिशील रूपान्तरण र लोकतन्त्रको पक्षमा वकालत गरेर जबजको राजनीतिक मान्यतालाई सही सावित गरेको दाबी गरे ।
१९ वर्षअघि ३ जेठ ०५० मा चितवनको दासढुंगामा भएको ‘रहस्यमय’ गाडी दुर्घटनामा पार्टीका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको निधन भएको थियो । ०४८ को आमचुनावमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरेपछि भण्डारीको लोकप्रियता चुलिएको थियो । उनले ०४७ सालको संविधानप्रति २७ बुँदाको आलोचनासहित समर्थन गरेका थिए । उनले त्यसबेला संविधान निर्माण गर्दा राखेको २७ बुँदे मान्यताअनुरूप नै ०६३ को जनआन्दोलनपछि बनेको अन्तरिम संसद्ले प्रस्ताव पारित गरेको नेताहरूको बुझाइ छ ।
दासढुंगामा पनि सभा
चितवन : नेकपा (एमाले)का तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको १९ वर्षअघि जिप दुर्घटना भएको स्थल चितवनको दासढुंगामा पनि श्रद्धाञ्जलीसभा आयोजना गरिएको छ । कार्यक्रममा बोल्ने वक्ताले भण्डारी र आश्रितको ‘हत्यारा’ पत्ता लगाउन नसक्नु दु:खद् भएको बताएका छन् । एमाले पोलिटब्युरो सदस्य काशीनाथ अधिकारीले तीनपटकसम्म एमाले सरकारमा रहँदासमेत हत्यारा पत्ता लगाउन नसक्नु दु:खद् भएको बताए । एमाले पार्टी कार्यालय भरतपुरबाट निकालिएको र्‍याली दासढुंगा पुगी श्रद्धाञ्जलीसभामा परिणत भएको थियो ।

प्रतिक्रिया