यिनले पनि उपचार पाउन्


काभ्रे, ३ जेठ । कुशादेवी–२ ओढारेका एक दलित परिवारका चार पुस्ता एउटै रोगका पीडित छन् । आर्थिक अभावले परिवारका कुनै पनि सदस्यले उपचार गरेका छैनन् ।
पछिल्लोपटक जन्मेकी छोरी आशिका सुन्दासमा उही रोग देखा परेपछि उनीहरू दाताको खोजीमा जुटेका हुन् । ‘हामी त डाँडामाथिका जुन उपचार नभए पनि केही भएन आशिकाको उपचार गराउने इच्छा छ,’ बाबु शालिकरामले भने, जन्मँदै शरीरका सबै भागमा रौँ र उमेर बढ्दै जाँदा गिजा सुन्निने रोगले छोरीलाई पनि छाडेन ।’ उनी र छोरी आशिकाको एउटै समस्या छ । शरीरका सबै भागमा कपाल पलाएको छ भने उमेर बढ्दै जाँदा गिजा सुन्निएर अनुहार देखाउनै नहुने भएको छ ।
३८ वर्षीय शालिकराम र ६ महिनाकी छोरी आशिकाको मात्रै यो समस्या होइन, ५६ वर्षीया दिदी गोमा, गोमाकी छोरी मसली, आमा कान्छी, मामाघरपट्टिका हजुरबुबा झ्याप्रेलाई पनि यही रोग थियो । काठमाडौं गोलढुंगा मुड्कुढोका घर भएका झ्याप्रेका अरू सन्तानमा त्यो रोग भए/नभएको कान्छीलाई पत्तो भएन । विवाह गरेर काभ्रेको कुशादेवीमा पठाएका कान्छीको कोखबाट जन्मेका दुवै सन्तान शालिकराम र गोमामा त्यही रोग देखा पर्‍यो ।
सामाजिक रूपमा समस्या भोगेका शालिकराम र गोमाको परिवार नै छिन्नभिन्न भएको छ । झ्याप्रे, कान्छी र मसलीको मृत्यु भइसकेको छ । गोमालाई पहिलो पत्नी बितेको केटासँग विवाह गरेर ललितपुरको सिस्नेरीमा पठाएका थिए । दुई छोरी जन्मिएलगत्तै पतिले घरबाट निकालिदिएपछि गोमा माइती आइन् । जेठी छोरी मसिनीमा त्यो समस्या छैन । ८ वर्षीया छोरी मसलीको पहिरोले किचेर मृत्यु भएको हो ।
गाउँमा खिसिटिउरी गरेपछि शालिकराम केही गर्ने योजनामा घर छाडेर हिँडेको १३ वर्षपछि मात्रै फर्किए । गोमा वृद्ध बाबु आमा पालेर छोरीका साथ बसिन् । आमाछोरीको एउटै समस्या भएपछि कान्छीले हरेक दिन बिहानै आफ्नो दाह्री खौरिएर छोरी गोमाको दाह्री खौरिने गरेकी छन् । खौरिन नभ्याएका दिन गोमा र कान्छी गाउँ निस्कँदा बच्चाहरू डरले घरभित्र पसेपछि झन समस्या बन्थ्यो । कुनै बच्चा धेरै रोए भने गोमा आई भन्नेबित्तिक्कै निदाउने गरेको पूर्वगाविस अध्यक्ष भीम न्यौपानेले जानकारी दिए ।
गोमाले पीपलबोट सामुदायिक संस्था कुशादेवी–२ मा साताको १५ रुपियाँ बचत गर्ने गरेको संस्थाकी व्यवस्थापक मैया सापकोटाले जानकारी दिइन् । ‘गाउँमा निस्कँदा ‘वनमान्छे’ का रूपमा हेर्ने गर्छन्,’ गोमाले भनिन् । माइतीमा भएको ६ घरसहित ८ आना जग्गामा छोरीसँगै बस्दै आएकी गोमा कपडा सिलाएर जीवन गुजारा गरिरहेकी छन् । उपचार हुन्छ भन्नेसमेत जानकारी नपाएकी गोमालाई शरीरभर उम्रिएको कपालको समस्या त छँदै छ, गिजा बाहिर आएर दाँत पुरिएपछि खाना खान पनि समस्या भएको छ । ‘उपचार गरेर अरू मान्छेजस्तै बाँच्ने इच्छा छ । तर, उपचारका लागि रकमको अभाव छ,’ गोमाले भनिन्, ‘६ महिने आशिकाको उपचार भइदिए हुन्थ्यो ।’
‘वीर अस्पतालमा गिजाको उपचारका लागि गएँ, एकैपटक ३० हजार रुपियाँ मागेपछि उपचार गर्न सकिँदैन भनेर फर्किएँ,’ शालिकरामले भने । बाहिर हिँड्दा सबैका आँखा आफैँतिर पर्ने भएकाले घरबाहिर निस्कन छाडेको उनले बताए । उनका नाममा ६ आना जग्गा छ । त्यो पनि सहकारीबाट लिएको ऋण तिर्न नसकेर डुब्न लागिसकेको छ ।
नियमित खोपबाहेक छोरी आशिकाको कुनै उपचार भएको छैन । आर्थिक अभावकै कारण कतै लैजान नसकिएको शालिकरामले बताए । ‘जहान बच्चा पाल्नकै लागि भएको जग्गा टुक्राटुक्रा पारेर बेचिसकियो, उपचार गर्ने त टाढाकै कुरा हो,’ उनले भने ।

प्रतिक्रिया