धनगढी झडपमा ३५ घाइते

कैलाली, ३ जेठ । अखण्ड सुदूरपश्चिम पक्षधर र थारूवान समर्थकबीच मंगलबार झडप हुँदा धनगढी बजार दिनभर तनावग्रस्त रह्यो ।
बिहानैदेखि दुवै पक्षबीच छुट्टाछुट्टै स्थानमा भएका झडपमा ३५ घाइते भएका छन् । धनगढी, पहलमानपुर र सडकपुर बौनियामा भएको झडपमा उनीहरू घाइते भएका हुन् ।
दुवै पक्ष लठ्ठी, ढुंगा आदि बोकेर झडपमा उत्रिएपछि धनगढी तनावग्रस्त भएको हो । तनाव कम गर्न प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिए पनि प्रदर्शनकारीले उनीहरूलाई छल्दै झडप गरेका थिए ।
अखण्ड सुदूरपश्चिम पक्षधरले क्याम्पस चोकबाट निकालेको जुलुसमा एकीकृत नेकपा (माओवादी) समर्थक योङ कम्युनिस्ट लिगका कार्यकर्ता र थारूवान समर्थकले अवरोध गर्न खोजेपछि स्थिति तनावपूर्ण बनेको हो । दोहोरो ढुंगामुढा पछि घाइते भएकाको सेती अञ्चल अस्पतालमा उपचार गरिएको छ ।
झडपमा धनगढीका राजेश रावल, मोहन मिश्र, देवराज जोशी, हेमन्त कुँवर, शेरबहादुर विष्ट, रामराज केसी, कृष्ण बोगटी, योगेश मल्ल, दिनेश बम, कृष्णबहादुर सिंह, नोखीराम चौधरी, रामजनम चौधरी घाइते भएका थिए । त्यस्तै, रानाथारू संघर्ष समितिका कैलाली संयोजक रामसमज राना, करन थापा र वीरबहादुर चौधरी पनि घाइते भएका छन् ।
अखण्ड सुदूरपश्चिम पक्षधरले गरेको सभालाई माओवादी तथा थारूवान कार्यकर्ताले बिथोल्न खोजेको आरोपमा अखण्ड सुदूरपश्चिम पक्षधरले थरुहट स्वायत्त राज्य परिषद् र माओवादीको १८ नम्बर एरिया कार्यालयमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
यसैबीच, मंगलबार साँझ सात बजेतिर कैलालीकै सडकपुर बौनियामा भएको दोहोरो झडपमा पाँच प्रहरीसहित १४ घाइते भएका छन् । घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । झडपमा सई दानबहादुर रोकायासहित अन्य चार प्रहरी घाइते भएका हुन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन चार सेल अश्रुग्यास प्रहार गरेको थियो ।
यस्तै, थारूवान/थरुहट र अखण्ड सुदूरपश्चिम पक्षधरबीच सोमबार राति कैलालीको पहलमानपुरमा झडप भएको थियो । झडपमा परी थारूवान/थरुहट पक्षका चार र अखण्ड सुदूरपश्चिम पक्षका दुई घाइते भएका थिए ।

प्रतिक्रिया