बस्ने ठाउँसमेत छैन सिंहदरबारमा


काठमाडौं, ३ जेठ । मन्त्री पदको शपथ खाए पनि १० दिन बित्दासम्म मन्त्रालयको जिम्मेवारी नतोकिएपछि एकीकृत नेकपा (माओवादी) र कांग्रेसबाट मन्त्री बनेका सातजना भूमिकाविहीन मात्र होइन उनीहरूले बस्नलाई सिंहदरबारमा कुर्सीसमेत पाउन सकेका छैनन् । मन्त्रालयको जिम्मेवारी नपाएकाले सिंहदरबार पनि कहिलेकाहीँ मात्र जाने गरेको उनीहरू बताउँछन् ।
‘प्रधानमन्त्रीले बोलाए वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कुनै बैठक भयो भने जान्छौँ, नत्र गइन्न,’ एक मन्त्रीले भने, ‘सँगै शपथ लिएका अरूले सम्बन्धित मन्त्रालयमा पुगेर दैनिक कार्य सुरु गरिसकेका छन्, हामीले अझै बस्ने ठाउ‘सम्म नपाएकाले सिंहदरबार गएका छैनौँ ।
शपथ खाएपछि विभागीय जिम्मेवारी नतोकिएसम्म मन्त्रीहरू प्रधानमन्त्री कार्यालयमा गएर बस्नुपर्ने हो तर जिम्मेवारी नपाएका मन्त्री धेरै भएकाले उनीहरू बस्नका लागि कोठाको व्यवस्था गर्न नसकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । ‘धेरैजना मन्त्री भूमिकाविहीन हुनुभएकाले तत्काल कोठाको व्यवस्था गर्न सकिएन,’ प्रधानमन्त्री कार्यालयका प्रवक्ता जगदीश रेग्मीले भने, ‘उहाँहरूका लागि कोठाको व्यवस्था गर्ने प्रक्रियामा छौँ ।’ नयाँ मन्त्रीहरूलाई विनाविभागीय नभनिएको र जिम्मेवारी तोक्न बॉकी रहेकाले पनि तत्काल कोठाको व्यवस्था गर्न नसकिएको प्रवक्ता रेग्मीको भनाइ छ । प्रधानमन्त्री कार्यालयमा विनाविभागीय मन्त्रीका लागि एउटा कोठा छुट्टयाइएको छ ।
माओवादी नेतृत्वको सरकारमा पहिलोपटक कांग्रेसबाट महामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य सूर्यमान गुरुङ मन्त्री भएका छन् । मन्त्री भएको १० दिन बित्दा पनि उनीहरूले सम्बन्धित मन्त्रालय त के सिंहदरबारमा गएर बस्न ठाउँसमेत पाएका छैनन् ।
उपप्रधानमन्त्रीको जिम्मेवारी पाएका सिटौलाले नयाँ संविधान निर्माणको काममा व्यस्त भएको बताए । उनले भने, ‘जिम्मेवारी नतोकिएकोले शान्ति र संविधानका विषयमा केन्द्रित छौँ,’ उनले भने, ‘प्रधानमन्त्री कार्यालयमा भएको बैठकमा सहभागी भएका छौँ ।’
कांग्रेसबाटै मन्त्री भएका गुरुङ पनि विभागीय जिम्मेवारी नतोकिएकोले शान्ति र संविधान निर्माणमा व्यस्त रहेको बताउ‘छन् । ‘जिम्मेवारी तोकिएको भए दुवै काम सँगै गरिन्थ्यो,’ उनले भने । उनले प्रधानमन्त्रीले बोलाए र प्रधानमन्त्री कार्यालयमा बैठक भए मात्र प्रधानमन्त्री कार्यालय जाने गरेको बताए ।
कांग्रेसबाट मात्र नभएर माओवादीबाट मन्त्री बनेकाहरूको पनि हालत उस्तै छ । उनीहरूले पनि बस्ने कोठासम्म पाउन सकेका छैनन् । ‘मन्त्री भए पनि मन्त्रालयको जिम्मेवारी नतोकिएपछि किन जाने सिंहदरबार ?’ माओवादीबाट मन्त्री भएका पोष्टबहादुर बोगटीले भने, ‘शान्ति र संविधानका विषयमा दलीय छलफल गर्ने, कार्यकर्तासँग भेट, अध्ययनजस्ता काममा समय बढी बितिरहेको छ ।’ उनी यसअघि ऊर्जामन्त्री बनेका थिए ।
मन्त्री टोपबहादुर रायमाझीले भने प्रधानमन्त्री कार्यालयमा रहेको ‘विनाविभागीय मन्त्रीको कोठा’मा गएर बस्ने गरेको बताए । उनले भने, ‘प्राय: सिंहदरबार गइन्न, गएका बेला विनाविभागीय चेम्बरमा बसिन्छ ।’ प्रधानमन्त्रीले बोलाए प्रधानमन्त्री कार्यालयमा गएर दिएको जिम्मेवारी पूरा गर्ने गरेको उनी बताउँछन् । उनले पनि शान्ति र संविधानको विषयमा काम गरिरहेको बताए ।
माओवादी उपाध्यक्षसमेत रहेका मन्त्री नारायणकाजी श्रेष्ठ भने आफ्नो जिम्मेवारी नतोकिए पनि आन्तरिक रूपमा परराष्ट्र मन्त्रालयकै काम गर्दै छन् । स्रोतले भन्यो, ‘मन्त्री श्रेष्ठले आफूलाई नयॉ जिम्मेवारी दिँदा परराष्ट्रकै दिन प्रधानमन्त्री भट्टराई र पार्टी अध्यक्षसँग माग गरेका छन् ।’ मन्त्रीका सहयोगी शंकर दुलालले भने मन्त्रालयको जिम्मेवारी नपाएकाले मन्नी श्रेष्ठले विभागीय काम नगरेको बताए । ‘विभागीय जिम्मेवारी नभएपछि मन्त्रालय जाने कुरा भएन, पार्टीको उपाध्यक्ष भएकाले शीर्ष नेताहरूबीच भएको वार्तामा सहभागी हँदै आउनुभएको छ,’ उनले भने । मन्त्री श्रेष्ठ पुलचोकस्थित मन्त्री क्वाटरको ‘डि फोर’ ब्लगमा बस्दै आएका छन् ।
त्यस्तै मन्त्री वर्षमान पुन शीर्षवार्ता र संविधान निर्माणमा व्यस्त भएकाले भूमिकाविहीन रहनु नपरेको उनका प्रेस सहयोगी मनोज घर्तीले बताए । विशेष समिति र संवैधानिक समितिमा रहेकाले मन्त्री पुन मन्त्रालयको जिम्मेवारी नपाए पनि व्यस्त हुने गरेको घर्तीको भनाइ छ । घर्तीका अनुसार मन्त्री पुन सिंहदरबार गएका बेला प्रधानमन्त्री कार्यालयमै गएर बस्ने गरेका छन् । पुन यसअघि अर्थमन्त्री थिए ।
माओवादीबाटै मन्त्री बनेका प्रवक्ता दीनानाथ शर्मा पनि जिम्मेवारीविहीन भएपछि घर र पार्टी कार्यालय ओहोरदोहोर गरेर दिन बिताउने गरेका छन् । उनी यसअघि शिक्षामन्त्री थिए ।
मधेसी मोर्चाका तर्फबाट मन्त्री बनेकाहरूले भने मन्त्रालय तोकिएकाले सम्बन्धित मन्त्रालयमा गएर विभागीय काम गर्दै आएका छन् । मोर्चाका तर्फबाट विजय गच्छदारलाई उपप्रधानसहित गृह, हृदयेश त्रिपाठीलाई भौतिक योजना तथा निर्माण, महेन्द्र यादवलाई सिँचाइ, राजकिशोर यादवलाई सूचना तथा सञ्चार र राजेन्द्र महतोलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गत २४ वैशाखमा सहमतीय सरकार भन्दै कांग्रेस र मधेसी मोर्चा सम्मिलित १२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।

प्रतिक्रिया