निगमलाई दुई अर्ब दस करोड ऋण

काठमाडौं, २ जेठ । आन्तरिक चरम आर्थिक संकटमा रहेको नेपाल आयल निगमलाई सरकारले पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन दुई अर्ब दस करोड रुपियाँ ऋण सहायता दिने निर्णय गरेको छ ।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयबाट पचास करोड, कर्मचारी सञ्चय कोषबाट साठी करोड र नागरिक लगानी कोषबाट एक अर्बसमेत गरी दुई अर्ब दस करोड रुपियाँ निगमलाई ऋण दिने निर्णय गरेको विना विभागीय मन्त्री बर्षमान पुनले जानकारी दिए ।
मुलुकमा पछिल्लो केही महिना यता पेट्रोलियम पदार्थको चरम अभाव छ । भारतीय आयल निगमलाई समयमा रकम उपलब्ध गराउन नसक्दा पेट्रोलियम पदार्थको आपूर्तिमा असहजता उत्पन्न भएको हो ।
सरकारले फागुन–५ गते काठमाडौंको बबरमहलमा भएको बम विस्फोटमा परी निधन भएकाका आफन्तलाई आर्थिक सहायता दिने निर्णय गरेको छ । बबरमहल बम विष्फोटमा धादिङका कृष्णबहाहर तामाङ, वीरबहादुर तामाङ र मानबहादुर तामाङको मृत्यु भएको थियो । तीन जना तामाङ परिवारका आश्रित प्रतिपरिवार आठ लाख पचास हजार रुपियाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको मन्त्री पुनले बताए ।
सरकारले नेपाल बार एसोसिएसनलाई संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यालय (ओएचसिआर) बाट उपलब्ध हुने ल्याण्डक्रुजर गाडीमा लाग्ने भन्सार र अन्तःशुल्क छुट दिने निर्णयपनि गरेको छ ।
बैंककमा हुने एसिया प्यासिफिक क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक र सामाजिक आयोग (स्क्याप) को बैठकमा भाग लिन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीलाई पठाउने निर्णय भएको मन्त्री पुनले बताए ।
बैठकका लागि तय भएका अन्य महत्वपूर्ण प्रस्तावलाई समय अभावका कारण अर्काे बैठकमा सारिएको मन्त्री पुनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया