चीनद्वारा माछा मार्न प्रतिबन्ध

बेइजिङ, २ जेठ । ‘साउथ चाइना सी’ को विवादित जलक्षेत्रमा चीनले माछा मार्न प्रतिबन्ध लगाउने तयारी गरेको छ । फिलिपिन्स र चीन दुवैले स्वामित्व दाबी गरेको जलक्षेत्रमा एक वर्षका लागि माछा मार्न प्रतिबन्ध लगाउने तयारी चीनले गरेको हो । तर, फिलिपिन्सले भने चीनको प्रतिबन्ध अस्वीकार गरिने चेतावनी दिएको छ । चिनियाँ प्रतिबन्ध बुधबारदेखि लागु हुने समाचारमा उल्लेख छ ।
चीनको ‘साउथ चाइना मत्स्यपालन प्रशासनिक ब्युरो’ का अधिकारीलाई उद्धृत गर्दै चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले समुद्रको हुआनग्यान द्वीपमा माछा मार्न प्रतिबन्ध लगाइने समाचार प्रकाशन गरेको थियो । मनीलाले हुआनग्यानलाई फिलिपिन्समा पनटग सोअल भन्ने गरिएको जनाउँदै द्वीपमाथि स्वामित्व दाबी गर्दै आएको छ । द्वीपमा प्रचुर मात्रामा तेल र ग्यास भण्डार रहेको बताइन्छ ।
फिलिपिनी विदेशसचिव अल्बर्ट डेल रोसारियोले चीनले लागु गर्न खोजेको प्रतिबन्ध अस्वीकार गरिने बताए । फिलिपिनी नागरिकलाई आफ्नो जलक्षेत्रमा माछा मार्नबाट कसैले रोक्न नसक्ने उनले प्रस्ट पारे । सो जलक्षेत्रमाथिको स्वामित्व दाबीलाई सशक्त बनाउन दुवै राष्ट्रले द्वीपछेउ आफ्ना जहाज राखेका छन् । अर्को दक्षिणपूर्वी एसियाली राष्ट्र भियतनामसँगको विवादित जलक्षेत्रमा चीनले यस्तै प्रतिबन्ध लगाउँदा यसले दुई देशबीच तनाब उत्पन्न गराएको थियो । (एपी)

प्रतिक्रिया