मत-विमत

अविभाज्य सुदूरपश्चिम नै किन ?

सौर्य अनलाइन २०६९ जेठ २ गते १:५८ मा प्रकाशित

संविधान घोषणाको मिति १४ जेठ नजिकिँदै जाँदा संघीयताको प्रश्न र शासनाधिकारका सवालजस्ता प्रमुख विषयबारे बहस, छलफल र आन्दोलन तीव्र हँदै गएका छन् । एनेकपा (माओवादी) तर्फबाट विवाद समाधान उपसमितिमा प्रस्तुत १० प्रदेशको खाकामा सुदूरपश्चिमलाई विभाजित गर्न प्रस्ताव गरिएको छ । यो प्रस्तावबाट सिंगो सुदूरपश्चिम आक्रोशित र आक्रान्त हुन पुगेको छ । विगत १७ दिनदेखि यहाँका राजनितिक दल, सामाजिक संघ/संस्था, नागरिक समाज, पेसागत संघ/संगठन र भातृ संगठनसँगै सबै सुदूरपश्चिमेली जनता अविभाज्य सुदूरपश्चिमको माग गर्दै सडकमा उत्रिएका छन् ।
यो भूखण्डले विगतदेखि नै व्यहोर्दै आएको समान पहँच, अवसर र प्रशासनिक सुगमताको अभाव तथा विकास निर्माणमा हुदै आएको उपेक्षाको अन्त्य संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले गर्ने आकांक्षा सुदूरपश्चिमवासीले राखेका छन् । तर, यहाँका जनताको अपेक्षा र भावनालाई नै नबुझी एकतर्फी रूपमा काठमाडौंमा सीमित नेता बसेर राज्य पुन:संरचनाको खाका बनाउँदै छन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नेपाली रष्ट्रियता र सार्वभौमसत्ताभित्र यस क्षेत्रको पहिचान र सामथ्र्यलाई बेवास्ता गर्दै जातीय विखण्डन हुने गरी प्रस्तुत गरेको खाकाले यत्रतत्र विद्रोहका स्वरहरूलाई संगठित गरिदिएको छ । सुदूरपश्चिमेली जनता अखण्ड नेपाल र अविभाज्य सुदूरपश्चिमको मागसहित सडकमा उत्रिन बाध्य भएका छन् । आन्दोलनको राप र ताप दिनानुदिन बढ्दै गएको छ । प्रमुख दलका शीर्ष नेताहरूको संयुक्त विज्ञप्तिले पनि सुदूपश्चिमवासी जनतालाई विश्वस्त पार्न सकेन । यहाँका जनताले अविभाज्य सुदूरपश्चिमको माग त्यसै गरेका होइनन् । अहिले राज्य पुन:संरचनाको आधार बनाइएको पहिचान र सामथ्र्यलाई कसीमा राख्दा पनि अखण्ड सुदूरपश्चिम नै उपयुक्त हुन्छ ।
सुदूरपश्चिमको पहिचान
सुदूरपश्चिम सदियाँदेखि एउटा साझा मनोबलसहितको अखण्ड क्षेत्रका रूपमा रहँदै आएको छ । यहाँको जातीय, भाषिक, सामाजिक, सांस्कृतिक, भौगोलिक, पुरातात्विक र ऐतिहासिक पहिचानले यस क्षेत्रलाई विशिष्ठ सांस्कृतिक सम्पदा क्षेत्रका रूपमा उजागर गर्छ । देशको सबैभन्दा दुर्गम क्षेत्रका रूपमा राजधानीबाट सुदूरवर्ती क्षेत्रका रूपमा रहनु, विशिष्ठ खस, डोटेली र थारू भाषाको क्षेत्र हुनु, अपी, नाम्पा, सैपाल, जेठी बुहारीजस्ता मनोरम हिमाल हुनु, सहिद दशरथ चन्द, भीमदत्त पन्त र द्वारिकादेवी ठकुरानी, एन.डी प्रकाश चटौत, नेपालमा मानव अधिकारका प्रणेता एवं प्रथम पाठ्यपुस्तक अक्षरांक जयपृथ्वी बहादुर सिंहलगायतका विशिष्ठ व्यक्तित्वहरूको जन्मभूमि हुनु पनि यस क्षेत्रको पहिचान हो । यहाँका ९० प्रतिशत जनता डोटेली भाषा बोल्छन् । अन्य भाषामा अवधी भाषाको राना थारू भाषिका र दाङबाट आएको दंगाली (डगौरा) भाषाको आगमन पनि क्रमश: १८औँ, १९औँ र २०आँै शताव्दीको मध्यमा यस क्षेत्रमा भएको पाइन्छ । त्यस्तै, देशका अन्य भू–भागबाट पुनर्वासको क्रममा बसाइसराई गरी आएका कतिपय अन्य समुदायले समेत आ–आफ्नै भाषाको प्रयोग गर्दै आएका छन् ।
संघीय संरचनामा जाँदा सामाजिक र सांस्कृतिक आधारमा पनि अविभाज्य सुदूरपश्चिम नै उपयुक्त हुन्छ । डेउडा र भुवा संस्कृति, भडाहा (भारत) नृत्य र गायन, चैत, सगुन, फाग, झोडा नृत्य, बर्मा, ठाडो खेल, रन पुतला आदि सांस्कृतिक विरासतको स्थल हो सुदूरपश्चिम नै हो । बटुले पूजन, कुन्यो जातो, केर पूजन, हरेलो पर्व मनाउनुले यहाँका बासिन्दा प्रकृति–पूजक र आदिवासी भएको प्रमाणित हुन्छ । काली–कर्णालीको दोभान मानिएको सुदूरपश्चिम एक सभ्यता, एक भूगोल र एक संस्कृतिको प्रतीकका रूपमा रहेको छ । चिनियाँ यात्री ह्वेन साङले छैटौँ शताब्दीमा यात्रा गरेको गोविषाण राज्य (जुन कासीपुरदेखि काली–कर्णालीसम्म फैलिएको थियो) पनि एउटै थियो । तत्पश्चातको अहीक्षत्र (रोहेल खण्ड) मा अहिले भारतका पिलिभित, बरेली र सुदूरपश्चिमको कर्णाली नदीसम्मका कैलाली र कञ्चनपुर जिल्लासमेत पर्ने गर्थे । अत: ऐतिहासिक आधारमा पनि काली र कर्णालीको यो क्षेत्रलाई एउटै संघीय एकाईका रूपमा अविभाज्य राख्न जरुरी छ ।
सामथ्र्यका आधारमा सुदूरपश्चिम जैविक विविधता, सामाजिक, सांस्कृतिक र भौगोलिक विविधता, स्रोत र संसाधनको विविधता (प्राकृतिक, मानवीय र भौतिक संचरना) सुदूरपश्चिमका सामथ्र्य हुन् । यो भूखण्डमा जल सम्पदाको विशाल भण्डार रहेकाले विद्युतीय ऊर्जा उत्पादनको अपार सम्भावना छ । तराईको उर्वर भूमि, मध्यहिमालका पाटन, उपत्यका र सेराहरू कृषिजन्य उत्पादनको भण्डार हुन् । उच्च हिमाली भू–भाग, मध्य हिमाली क्षेत्र प्राकृतिक स्रोत र विविधताले मात्रै भरिएका छैनन्, खनिजजन्य स्रोत–साधनको सम्भावना पनि उत्तिकै छ । अपी, नप्पा, जेठी बुहारी, सैपाल लगायतका हिमालहरू सुन्दर पर्य–पर्यटकीय गन्तव्य हुन् । डोटेली, रानाथारू, कठेरिया, भोटे एवं डगौरा संस्कृति तथा सिल्पहरू (वास्तुकला र हस्तकला) यस क्षेत्रका गहना हुन् । पेट्रोलियम पदार्थ, चुनढुङ्गा, पत्थर, कोइला, अभ्रक (सल्फर), फलाम, तामा आदिका खानीको सम्भावना बोकेका छ सुदूरपश्चिमले । सुदूरपश्चिमका नौवटै जिल्लामा हिमाल, पहाड र तराईको पारस्परिक सम्बन्ध पनि छ । हिमाल जलसम्पदाको भण्डार, पहाड जडीबुटी र फल उद्यानयुक्त क्षेत्र हो भने तराई अन्नबाली, दलहन र तेलहनको भण्डार हो । हिमालपारि भोट, तिब्बत र चीनसँगको व्यापार र पर्यटन तथा तराई र पहाडको भारतसँगको व्यापार पारवहन र वाणिज्य सम्बन्ध रहेको छ । हिमालयको हिउँ पग्लेर तराईका खेतहरू सिंचित हुन्छन् भने तराईको अन्नबालीले पहाड र हिमालका जनता पालिन्छन् । यसकारण पनि उत्तरमा भोट, तिब्बत र चीन तथा दक्षिणमा भारतसँग व्यापार तथा पारवहन हुने गरी राज्य पुन:संरचना गर्दा सुदूरपश्चिमको मौजुदा संरचना नै उपयुक्त हुन्छ । राज्यका साधन–स्रोतमाथि समान पहुँच र अवसर प्राप्तिका लागि पनि सुदूरपश्चिमको मौजुदा नै संरक्षण ठिक छ । राज्यद्वारा सधंै उपेक्षित र पछाडि पारिएको यो क्षेत्र कर्णाली पुलको निर्माणपछि मात्र राष्ट्रिय मूलधारमा जोडिएको हो । जातीय सद्भावसहित सदियाँैदेखि यहाँको जाति जनजातिसँगै मिलेर बस्दै आएका छन् । पहाडी र थारू समुदायलाई छुट्याएर समान अवसर र पहुँच दिलाउने कुरा हावादारी गफ मात्रै हो । कैलाली–कञ्चनपुरमा रहेको थारू नेतृत्व सम्पूर्ण सुदूरपश्चिमकै नेता हुन् । त्यस्तै, यहाँका अन्य जातिका नेतृत्वलाई पनि सबै जातिले आफ्नो नेतृत्व मान्दै आएको छ । अब कैलाली–कञ्चनपुरलाई थारूवान प्रदेशमा राखिए यहाँका थारू समुदायले नयाँ सिराबाट आफ्नो पहिचान बनाउनु पर्ने हुन्छ । प्रस्तावित समग्र थारूवान प्रदेशभित्र उनीहरू अल्पसंख्यक हुनेछन् ।
अन्त्यमा, सुदूरपश्चिम आफंमा आफ्नो कला, संस्कृति, भाषा–साहित्य, इतिहास, पुरातत्व, भूगोल र राजनीतिक रूपले एउटा समग्र पहिचान हो । यो क्षेत्र हाम्रो देशको सभ्यता र संस्कृतिको जग पनि हो । मानसखण्ड र गौरा, भुवा संस्कृतिको ऐतिहासिक पृष्ठभूमि यो क्षेत्र इतिहासको कुनै कालखण्डमा त्रिपुरासुन्दरी, रणसैनी, निगलासैनीलगायतका षोडसमातृका र सप्तमातृकाको स्त्रीराज्य (मातृराज्य) को प्रतिनिधित्व गर्दथ्यो । त्यसैगरी यस क्षेत्रका वीरांगना मौलारानी, भागाश्री, गोरीधना, पनेरुरानी भागामति, नर्सा धौनीकी वीर पत्नी हिउँकलाको क्षेत्र पनि हो यो । यो क्षेत्र युगौँदेखि नेपाली राष्ट्रियताभित्र एउटै सर्वभौमसत्ता सम्पन्न संस्कृति, भूगोल, भाषा, राष्ट्रियताका रूपमा रहिआएको छ । तसर्थ सुदूरपश्चिमलाई एउटा साझा राष्ट्रियताका रूपमा चिन्नु पर्दा अतिसयोक्ति नहोला । यहाँ बसोवास गर्ने सबै जाति, जनजाति, विभिन्न वर्ग र समुदाय, उपेक्षित/उत्पीडित समुदाय र आदिवासीको सामूहिक पहिचानसहितको अविभाज्य सुदूरपश्चिम प्रान्त स्थापना गर्नु आजको आवश्यकता हो । अब बन्ने यो राज्यले यस क्षेत्रका आदिवासी जनजातिको विशेषाधिकारसहित उनीहरूलाई विभिन्न तहमा समान पहुँच र अवसर दिनुका साथै प्रशासनिक सुगमताको अनुभूति गराउन सक्नुपर्छ । समग्र सुदूरपश्चिमवासीलाई न्याय, समानता र विकासको प्रत्याभूतिको ग्यारेन्टी दिन सक्नुपर्छ । आउनुहोस् अविभाज्य सुदूरपश्चिम प्रान्त र अखण्ड नेपाल निर्माणको सामूहिक जिम्मेवारीको डेउडामा सहभागी बनौँ † एक्कैजोर हाम्म †
(लेखक एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य र जिविस कञ्चनपुरका पूर्वउपसभापति हुन्)

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय