अपहरणपीडित नै गुप्तासित मिलेको आशंका

काठमाडौं, २ जेठ । पूर्वमन्त्री श्यामसुन्दर गुप्ताविरुद्धको अपहरण मुद्दालाई पीडित पक्षले नै कमजोर बनाउन खोजेको पाइएको छ । अपहरणमा परेका व्यापारी पवन संघाई रकम लेनदेनका आधारमा गुप्तासँग मिलिसकेको आशंका प्रहरी अधिकारीले गरेका छन् ।

अपहरणको मुख्य योजनाकार रहेको अभियोगमा गुप्तालाई पुर्पक्षका लागि डिल्लीबजार सदरखोरमा थुनिएको छ । उनको मुद्दामा वकपत्रका लागि उपस्थित हुन अदालतले अपहृत संघाईलाई पत्र काटे पनि उनी अदालत गएका छैनन् । गुप्ताको गत वैशाख ४ गतेबाट काठमाडौं जिल्ला अदालतमा बयान सुरु भइसकेको छ । बयानकै दिन उपस्थित हुन मुख्य उजुरीकर्ता संघाई र अर्का प्रशान्त संघाईलाई अदालतले पत्र काटेको थियो ।
५ वैशाखमा दोस्रोपटक पनि अदालतमा अपहरणका आरोपी गुप्ताको बयान भयो । त्यसपछि लगातार ६, ७, ९, १०, १२, १८ र २८ गते अदालतले गुप्तासँग बयान लिएको छ । तर, दुवै उजुरीकर्ता कुनै पनि मितिमा अदालतमा बयान दिन गएका छैनन् । प्रत्येक पटकको बयानमा उजुरीकर्तालाई अदालतमा उपस्थितिका लागि पत्र काटेको अदालतको रेकर्डमा देखिन्छ । अदालतका स्रेस्तेदार भरत लम्सालले उजुरीकर्तालाई अदालतले लगातार पत्र काटे पनि अहिलेसम्म उपस्थित नभएको जानकारी दिए ।
बयानमा उजुरीकर्ता उपस्थित नभएपछि मुलुकी ऐन अदालती बन्दोबस्तको धारा ११५ अनुसार अदालतले पुन: अर्को पत्र २८ वैशाखमा नै काटिसकेको छ । यसका लागि अदालतले ७ जेठसम्मको म्याद दिएको छ । त्यस मितिभित्र पनि उपस्थित नभए अदालतले सात दिनभित्र पक्राउ गर्ने आदेशसहितको अर्को पुर्जी जारी गर्नेछ । त्यस अवधिमा पनि पक्राउ हुन नसके अन्तिमपटक अर्को पत्र काट्नेछ । त्यसबेला अदालतले उजुरीकर्तालाई नै १५ देखि ४५ दिनसम्म थुन्ने आदेश दिन सक्छ ।
अपहरणको मुख्य योजनाकार गुप्ता नै रहेको प्रमाण भेटिएपछि प्रहरीले गत २ माघमा भैरहवाको सिद्धार्थ नगरपालिका–५ बैंक रोडस्थित उनकै निवासबाट पक्राउ गरेको थियो । अनुसन्धानपछि गुप्ताले संघाईसँग फिरौतीबापत ८५ लाख रुपियाँ लिएको खुलेको थियो । त्यसलगत्तै अपह्त संघाई परिवारका सदस्य प्रशान्त संघाईले किटानीसहित महानगरीय प्रहरीपरिसर काठमाडौंमा जाहेरी दिएका थिए । काठमाडांैको गणेशस्थानबाट अपहरणमा परेका संघाई २० दिनपछि सकुशल घर फर्केका थिए । संघाईको गत ७ पुसमा बिहान करिब ५ बजे गणेस्थानबाट अपहरण
भएको थियो ।
बारम्बार पत्र काट्दा पनि पीडित पक्ष नै बयानका लागि अदालतमा उपस्थित नभएको घटनालाई प्रहरी अधिकारीहरूले अर्थपूर्ण ढंगले हेरेका छन् । उनीहरू भन्छन्, ‘दबाबमा परेर हो या प्रलोभनमा परेर, गुप्ताको मुद्दा कमजोर पार्न पीडित पक्ष नै मिलेका देखिन्छन् ।’ एक प्रहरी अधिकृतले त गुप्ताका छोरा र संघाई परिवारबीच रकम लेनदेन नै भएको दाबी गरे । उनले भने, ‘गुप्ताले फिरौतीबापत लिइएको सम्पूर्ण रकम संघाईलाई फिर्ता दिने सहमति भएको सूचना आएको छ ।’ ती अधिकृतका अनुसार गुप्ताका छोराले संघाईसित पैसाको ‘डिल’ गरिसकेका छन् ।
अपहरणमुक्त भएलगतै निवास पुगेका प्रहरी अधिकृतलाई संघाईले घटनाबारे जानकारी दिनसमेत मानेका थिएनन् । उनलाई भेट्न महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका एसएसपी देवेन्द्र सुवेदी र डिएसपी सामेन्द्रसिंह राठौर निवासमै पुगेका थिए ।
अपहरण घटनामा संलग्न भएको अभियोगमा गुप्तासँगै हेटौंडा–८ का २२ वर्षीय अमिर आचार्य, काभ्रे विर्ता देउराली–२ का ३१ वर्षीय आकाश लामा, मकवानपुर पदमपोखरी–२ का ३८ वर्षीय विकास लामा भनिने जितबहादुर गोले र काठमाडांै काभ्रेस्थली–६ २८ वर्षीय किशोर पाण्डे पक्राउ परेका थिए । घटनामा संलग्न मिलन लामा, प्रेम लामा, हरि केसी, इन्द्र गुरुङ, श्याम गिरी र अमर थापा फरार छन् ।
अपहरणपछि संघाईलाई काभ्रेस्थित सस्र्युंखर्कमा बन्धक बनाई राखिएको थियो । कहिले डिफेन्स आर्मी त कहिले तराई रेड आर्मीका नाममा उनीहरूले गुप्ताका परिवारसँग २५ लाख रुपियाँसम्मको फिरौती रकम माग गरेका थिए । अपहरणमा संलग्न हुनेहरूलाई भने गुप्ताले चार–चार लाख रुपियाँ बाँडेका थिए ।

प्रतिक्रिया