सामाजिक संहिष्णुताका लागि एमालेको अपील

काठमाडौं, ३१ वैशाख । एमाले अध्यक्ष झलनाथ खनालले मुलुकको सहिष्णुता, सामञ्जस्यता र एकतामा खलल नपुराउन सम्पूर्ण जनसमुदायसँग अपील गरेका छन् ।

अध्यक्ष खनालले आज अपील जारी गरेर संविधान निमार्णको अन्तिम घडीमा मुलुकका हरेक नागरिक, जाति, भाषा, धर्म, समुदाय र क्षेत्रले जोसमा होस गुमाउन नहुने बताएका छन् ।

उनले राज्य पुनःसंरचनाको बहसलाई केन्द्रित गरी केही समययता देशका कतिपय स्थानमा जातिजातिबीच द्वन्द्व चर्काउने प्रयत्न हुन थालेको भन्दै एमाले चिन्तित भएको जनाएका छन् । उनले अतिवादी प्रस्तुति र साम्प्रदायिक द्वन्द्व चर्काएर कसैको हित नहुने बताएका छन् ।

‘बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मिश्रित सामाजिक बनोट मुलुकको परापूर्वकालदेखिको सुन्दरतम पक्ष हो’, अध्यक्ष खनालले भने, ‘शान्तिपूर्ण, संयमित र सहिष्णुतापूर्वक उठाइएका मागहरुमा संवाद र सघन छलफल गरी सहमतिका साथ अघि बढ्नु पर्छ ।’

प्रतिक्रिया