राजनीतिक अन्योलले नेप्से घटयो

काठमाडौ, ३१ वैशाख । राजनीतिक सहमतिसँगै सेयर बजारमा देखिएको सुधारले निरन्तरता पाउन सकेन ।

दुई सय ९८ अंकसम्म झरेको नेप्से परिसूचक राजनीतिक सहमतिको नारासँगै चार सयभन्दा माथि पुगेको थियो । बढेको समयमा एकै दिन २० अंकभन्दा बढीले नेप्सेमा सुधार आउने क्रम देखिनुले भने बजारमा बढी खतरा रहेको संकेत देखिएको थियो ।
यही अवस्थामा राजनीतिक दलबीच पुन: देखिएको विवादले नेप्से पुन: तल झर्न थालेको विज्ञहरू बताउँछन् । जेठ १४ मा संविधान जारी नगरे त्यसपछिको समय के होला भन्ने एक किसिमको अन्योल आमनागरिकसँग रहेकाले यस्तो समयमा सेयर खरिदबिक्री गर्नुभन्दा पनि त्यसपछि विकास हुने घटनाचक्रलाई हेरेर कारोबार गर्नु उपयुक्त हुने तर्कसहित लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेकाले सेयर मूल्य केही तल झरेको आँकलन गरिएको छ ।
चालु आवको नौ महिने प्रतिवेदन सार्वजनिक हुने क्रम सुरु भएका कारण पनि बैंक तथा वित्तीय संस्थाको नाफा, त्यस्ता संस्थाले गर्ने कर्जा प्रवाह, प्रतिसेयर आम्दानी अनुपातलगायतका तथ्यगत कुराको अध्यन गरेर मात्र कारोबार गर्नु उपयुक्त हुने पनि सेयर विश्लेष बताउँछन् । साताको पहिलो दिन चार सय २८ दशमलव ४४ विन्दुमा रहेको परिसूचकमा १७ दशमलव शून्य चार अंकले ह्रास भई अन्तिम दिन चार सय ११ लदशमलव ४० अंकमा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्जमा एक सय १४ कम्पनीको कारोबार भएको छ । जसमा ६ हजार दुई सय ५६ कारोबारबाट ६४ करोड ४७ लाख २० हजार रुपियाँ बराबरका २५ लाख २० हजार सात सय ४० कित्ता सेयर खरिदबिक्री भएका छन् ।
गत साता एक सय १४ कम्पनीको कारोबार भएको थियो, जसमा चार हजार आठ सय ३१ कारोबारबाट ३२ करोड ९४ लाख ९७ हजार रुपियाँ बराबरका नौ लाख ३१ हजार १९ कित्ता सेयर खरिदबिक्री भएका थिए । कारोबार रकममा गत साताको तुलनामा १७ दशमलव शून्य चार प्रतिशतले ह्रास भएको हो । कुल कारोबारमध्ये ‘क’ वर्गका कम्पनीहरुरूको मात्र ३९ करोड ४५ लाख रुपियाँ बराबर कारोबार भएको छ । यो कुल कारोबारको ९५ दशमलव ६७ प्रतिशत हो । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनका तुलनामा चार दशमलव ६८ अंकले ह्रास भई एक सय चार दशमलव ४४ अंकमा झरेको छ ।
सातामा कारोबार रकमतर्फ १४ करोड ७९ लाखका आधारमा सानिमा बंैक अग्रस्थानमा रहेको छ । कारोबार संख्याका आधारमा ६ सय ६ वटा कारोबारसहित बैंक अफ काठमाडौं अग्रस्थानमा रहेको नेप्सेले जनाएको छ । त्यसैगरी सूचीकरणतर्फ ग्रान्ड बंैक नेपाल, रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स र रिलायबल फाइनान्सको बोनस सेयर सूचीकृत भएका छन् ।

प्रतिक्रिया