दलित आरोहणको दुई करोड फ्रिज

काठमाडौं, ३१ वैशाख । सरकारले चालु आर्थिक वर्ष ०६८/६९ मा दलित सगरमाथा आरोहणका लागि छुट्याएको बजेट फ्रिज हुने भएको छ । सरोकारवालाबीच बजेट कसले खर्च गर्ने भन्ने विवाद भएपछि दलित यसपटक पनि सगरमाथा चढ्न पाएनन् ।

यसपटकको प्रयास असफल भएपछि राष्ट्रिय दलित आयोग अर्को सिजनमा यो रकम खर्च गर्ने ध्याउन्नमा जुटेका छ । ‘प्रथमपटक दलित सगरमाथा आरोहण’ का लागि चालु आवको बजेटमा दुई करोड रुपियाँ विनियोजन गरिएको थियो । तत्कालीन पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गबहादुर विश्वकर्माको पहलमा यो रकम छुट्याइएको हो  ।
सरकारले दलित सगरमाथा आरोहणका लागि दुई करोड रुपियाँ दिने घोषणा गरेपछि यो रकम कसले खर्च गर्ने भन्ने विषयमा पर्यटन मन्त्रालय मातहतको पर्वतीय प्रशिक्षण विकास समिति र राष्ट्रिय दलित आयोगबीच विवाद भएको थियो । त्यस्तै दलितसम्बद्ध दर्जनौँ संघ/संस्थले पनि यो रकममा दाबी गरेका थिए । थुप्रै सरकारी तथा गैरसरकारी संस्थाबीचको लामो विवादपछि दलित आयोगले आरोहण अभियानको जिम्मा पाएको थियो ।
सुरुमा मन्त्रालयले आरोहण तयारीको जिम्मा समितिलाई दिएको भए पनि पछि आयोगले नै दाबी गरेको थियो । दुई पक्षबीच भएको वार्तामा दलित आयोगले नै यसको जिम्मा पाएको थियो । राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय र पर्यटन मन्त्रालयका अधिकारी बसेर यसको जिम्मा आयोगलाई दिने निर्णय गरेका थिए तर आयागले समयमै तयारी नगर्दा यो सिजनमा दलितलाई सगरमाथा आरोहण गराउने सरकारी योजना असफल हुने भएको छ । मे महिना सगरमाथा आरोहणको मुख्य सिजन हो । यसका लागि सबै टोली आधारशिविर पुगिसकेका छन् ।
आयोग सदस्य–सचिव जीवन परियारले गत मंसिरमा आयोगले दुई करोड रुपियाँ पाएको तर लामो सरकारी प्रक्रिया र त्यसबेलाको नेतृत्वको प्रतिस्पर्धाले रकम खर्च हुन नसकेको बताए । लामो समय आयोग पदाधिकारीविहीन भएकाले पनि काम हुन नसकेको उनको दाबी छ । ‘ठूलो प्रयासपछि सरकारले बजेट छुट्याएको भए पनि खर्च हुन सकेन,’ परियारले भने । उनका अनुसार २५ जिल्लामा दलित सगरमाथा आरोहण अभियान सहयोग समिति गठन भएका थिए । हालसम्म तीन हजार बढीले सगरमाथा आरोहण गरिसकेकामा एक जना पनि दलित नहुनु दु:खलाग्दो भएको उनको भनाइ छ ।
प्रथम दलित सगरमाथा आरोहण दलका संयोजक अमृत सार्कीका अनुसार यो बजेट अर्को विर्ष खर्च गर्न अनुरोध गर्दै आयोगले पर्यटन मन्त्रालय तथा योजना आयोगलाई पत्र लेखेको छ । यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न भन्दै गत मंसिरमै आठजना दलितले अभ्यास सुरु गरेका थिए । यसका लागि मुलुकभरबाट ४१ जनाले मन्त्रालयमा आवेदन दिएका थिए । यसअघि सरकारले गत वर्ष तीन करोड रुपियाँ खर्च गरेर निजमाती कर्मचारीलाई सगरमाथा चढ्न पठाएको थियो ।

प्रतिक्रिया