पार्टी छाड्ने होइन, हाम्रो मान्यतामा ल्याउने हो

एमाले पोलिटब्युरो सदस्य पृथ्वी सुब्बा गुरुङ जनजाति सभासद्हरूको ककसका पनि संयोजक हुन् । अस्ति भर्खरै ककस र मधेसी मोर्चाका बीच संविधानसभाको समितिले बहुमतले तयार गरेको एकल जातीय पहिचानसहितका १४ प्रदेशका पक्षमा मतदान गर्ने सहमति गरेको छ । एमाले स्थायी समितिले भने संविधानसभामै अल्पमतमा रहेको ६ प्रदेशको पक्षमा मतदान गर्ने निर्देशन सभासद्हरूलाई दिएको छ । एकल जातीय पहिचानविहीन राज्यको
विपक्षमा पार्टी गए त्यसलाई नमान्ने घोषणा गरेका गुरुङसँग सौर्यको ।

तपाईंहरूले ककसका तर्फबाट १४ प्रदेशको पक्षमा मतदान गर्ने निर्णय गर्नुभएको छ जबकि तपाईंकै पार्टीले ६ प्रदेशका पक्षमा मतदान गर्ने निर्देशन तपाईंहरूलाई दिएको छ अब के गर्नुहुन्छ ?
संविधानसभाको समितिमा छलफल हुँदा र मतदान हुँदा हाम्रो पार्टीका तर्फबाट १४ प्रदेशकै पक्षमा भूमिका खेलिएको थियो । पार्टी स्थायी समितिले कुन औचित्यका आधारमा ६ प्रदेशका पक्षमा मतदान गर्ने निर्णय गरेको हो, त्यो हामीलाई बुझाउन सकेको छैन । हामीले त्यसको औचित्य साबित गर्न मागेका छौँ । ६ प्रदेश हाम्रो प्रस्ताव होइन, त्यो कांग्रेसको प्रस्ताव हो, हामी त्यसमा मतदान गर्दैनौँ । तर, संविधानसभामा मतदान गर्ने अवस्था नै आउँदैन भन्नेमा हामी आशावादी छौँ ।
पार्टीले भनेको मान्नुभएन भने त कारबाही होला नि, अन्तिम अवस्थामा आएर ककसको निर्णय मान्नुहुन्छ कि पार्टीको ?
तपाईंको प्रश्न नै अहिले सान्दर्भिक छैन । किनभने अहिले नै यस्तो पक्षमा भोट हाल भनेर निर्देशन दिने बेला भएको छैन । हामी यस विषयमा मतदान नै गर्नुपर्ने अवस्था नआओस् भन्ने पक्षमा छौँ । अब कारबाहीको कुरा तपाईं पत्रकारहरू अहिले नै त्यतिबेला के गर्छाै पार्टीको निर्णय मान्छौ कि मान्दैनौ भन्ने कुरा खोतल्न खोज्नुहुन्छ । पहिलो कुरा मैले झन्डै ४० वर्षसम्म संगठित भएर संघर्ष गरेको पार्टीको प्रतिबद्धतामाथि शंका नगर्नुस् । हामी पार्टीप्रति बफदार र प्रतिबद्ध छौँ । तर, हामीले भनेको के हो भने पार्टीले स्थापनाकालदेखि नै संघर्ष गरेको आधारभूत जनवर्गबाट अलग हुनेगरी पार्टीले निर्णय नगरोस् । त्यसो भयो भने अप्रिय अवस्था आउन सक्छ ।
अप्रिय अवस्था भनेको के हो ? के तपाईंहरू पार्टी छाड्नुहुन्छ ?
विद्रोह गर्नुहुन्छ ?
पृथ्वी सुब्बा गुरुङले विद्रोह नगर्ला, अशोक राईले विद्रोह नगर्ला तर सदियौँदेखि एकात्मक र सामन्ती राज्यव्यवस्थाको चपेटामा पर्दै आएको समुदायले एउटा पार्टीको निर्णय हेरेर त बस्दैन नि । मैले विद्रोह नगर्दैमा विद्रोहको अवस्थाको अन्त्य हुँदैन । हामीले भनेको त्यही हो । हिजो विभिन्न पार्टीमा सामेल भएका मधेसी समुदायले विद्रोह गरे र तराईमा पार्टीहरू रित्तिने अवस्था आयो । पहाडका जनजातिबीचमा पनि त्यस्तो अवस्था नआओस् भनेर पार्टीलाई सचेत गराएका हौँ ।
पहाडमा रित्तिने अवस्था आउँदा त्यो रित्तिने कोटामा तपाईं पर्नुहुन्छ
कि पर्नुहुन्न ?
तपाईं खाली यही प्रश्न गर्नुहुन्छ । मलाई पछिल्लोपटक पार्टीमा मलाई माया गर्ने साथीहरूले पनि यस्तै प्रश्न सोध्न थालेका छन् । पृथ्वी सुब्बा गुरुङले पार्टी छाड्दै छ नयाँ पार्टी बनाउँदै छ भन्ने हल्ला चलाइरहेका छन् । यसरी हुँदै नभएको हल्ला धेरै चलाउँदै जाने हो भने र पेल्दै जाने हो भने भोलि परिस्थितिले पार्टी खोल्ने अवस्थामा पनि पुर्‍याउन सक्छ, जसरी आज मधेसी पार्टीहरू खुलेका छन् । हाम्रो भनाइ के हो भने पार्टीको आधारलाई कमजोर बनाउनु हुँदैन ।
तर, कम्युनिस्ट पार्टीको राजनीतिक आधार मानवजातिलाई अन्तर्राष्ट्रिय जाति मान्ने र जात होइन वर्गआधारित पार्टी बनाउने भन्ने छ नि, जातजाति सामन्ती समाजले रचना गरेका कुरा हुन् यसलाई मेट्नुपर्छ भन्ने सिद्धान्त पो हो, होइन र ?
त्यो सिद्धान्त होइन, लि जे पोतरले लेखेको गीत हो । वर्गको परिभाषा पनि समय अनुकूल गर्न सकिन्छ र जहाँजहाँ जुन जाति र वर्गमाथि थिचोमिचो छ त्यो थिचोमिचो र दमनलाई अन्त्य गर्नुपर्छ भन्ने कम्युनिस्ट सिद्धान्त हो । फेरि अन्तर्राष्ट्रिय जाति भनेको पनि भौगोलिक सीमाहरू हुँदैनन् भन्ने कुरासँग गाँसिएर आएको कुरा हो । जहाँ जनताको जीवनसँग गाँसिएका विषयहरू छन् र जहाँ जोमाथि उत्पीडन छ त्यसलाई उत्पीडनबाट मुक्त गर्ने हो । नेपालको सन्दर्भमा जनजातिहरू सदियौँदेखि एकात्मक राज्य र सामन्ती राज्यव्यवस्थाको उत्पीडनमा छन् तिनीहरूलाई त्यो उत्पीडनबाट मुक्त गर्नु कम्युनिस्ट पार्टीको दायित्व हुन्छ । जननेता मदन भण्डारीले भन्नुभएको छ, ‘सिद्धान्त जीवनका लागि हो सिद्धान्तका लागि जीवन होइन ।’ त्यसैले हामी जीवनका लागि सिद्धान्त बनाउन लागेका छौँ । वर्षाैंसम्म कम्युनिस्ट पार्टीमा लागियो संघर्ष गरियो त्यसले आफ्नो समुदाय जीवनभर उत्पीडनमा बस्नु हुँदैन भन्नु कम्युनिस्ट पार्टीको सिद्धान्तबाट बाहिर जानु होइन ।
तपाईंहरूले त मधेसी मोर्चासँग सम्झौता नै गर्नुभएको छ रे, एक मधेस प्रदेशलाई तपाईंहरूले मान्ने र तपाईंहरूको मागलाई मधेसी मोर्चाले समर्थन गर्ने भन्ने छ रे, होइन ?
त्यस्तो होइन । ऐतिहासिकता, भौगोलिकता र त्यहाँ बसोबास गर्ने जनजातिको, मधेसीको पहिचान र त्यहाँ उनीहरूको आत्मनिर्णयको अधिकारलाई सुनिश्चित गर्नुपर्छ भन्ने कुरा हो । मधेसमा एउटा प्रदेश बनाउने कि कति प्रदेश बनाउने भन्ने निर्णय तराईमा बस्ने जनसमुदायले निर्णय गर्ने हो । पहाडमा कति र कस्ता प्रदेश बनाउने हो भन्ने कुरा यहाँका अदिवासी जनजातिहरूले निर्णय गर्ने हो ।
आत्मनिर्णय भनेको कस्तो ?
हामीले विश्वव्यापी मान्यता पाएको संयुक्त राष्ट्रसंघले घोषणा गरेअनुरूपको आत्मनिर्णयको अधिकारको कुरा गरेका हौँ । यहाँ आत्मनिर्णयको अधिकार भन्नासाथ मुलुक टुक्रयाउने कुरा भन्ने बुझ्ने गरिएको छ । सम्बन्धित ठाउँका अदिवासी जनजातिहरूलाई त्यहाँको जल, जंगल, जडिबुटी उपभोग गर्ने अधिकार रहन्छ र त्यो सुनिश्चित गरिनुपर्छ भन्ने कुरा हामीले गरेका हौँ ।
तपाईंहरूको ककसको मान्यतासँग ठूला पार्टीमध्ये कुन नजिक छन् ?
मधेसी दल र माओवादीले त हाम्रो मान्यतामा खासै विमति राखेका छैनन् । नेकपा एमाले पनि संस्थागत रूपमा हाम्रा मान्यतासँग टाढा छैन । एमालेका केही नेता यस विषयमा सकारात्मक हुन नसकेका मात्र हुन् । कांग्रेसले भने यसलाई स्विकार्न सकेको छैन ।
तपाईं पार्टीबाट सभासद् हुनुभयो तर बफादारीचाहिँ ककसप्रति किन ?
हो म पार्टीबाट सभासद् भएको हुँ । ४१ वर्षसम्म यो पार्टीका लागि योगदान दिएको छु, संघर्ष गरेको छु । तपाईंले पार्टीप्रतिको बफदारी कम छ भन्न खोज्नु भएको हो भने त्यो गलत हो । म पार्टीप्रति नै पूर्णरूपमा बफदार छु । ककसले नेपालको आदिवासी जनजाति वर्ग र समुदायको हितको कुरा उठाएको हो त्यो हाम्रो पार्टीको पनि विषय हो र हाम्रो पार्टीको विषय बनाउनुपर्छ भनेर हामी लागेका हौँ ।
अलि कुरा बुझिएन, अब पार्टीप्रति बफादार मान्छेले ककसको अवधारणाविपरीत निर्देशन दिए त्यसलाई कार्यान्वयन गर्नुहुन्छ कि गर्नुहुन्न ?
पार्टीले हाम्रो मान्यताविपरीत निर्देशन दिने अवस्था नै आउँदैन र अहिले नै निर्देशन दिने बेला भएको पनि छैन । फेरि मुलुक हाम्रो पार्टीको मात्रै निर्देशनमा चल्ने होइन । एमालेभित्रको कुराले मात्र संघीयताको विषयमा कुनै निर्णय नआएको होइन । अरू पार्टी पनि स्पष्ट हुनुपर्छ, किन एमालेलाई मात्र लक्षित गर्नुहुन्छ ?

प्रतिक्रिया