घरनजिकै बगैँचा थियो । बगैँचामा माहुरी डुल्न जान्थे । फूलको रस बटुल्थे । फूलको रसलाई मह बनाउने गर्थे ।
त्यही बगैँचामा छेपाराहरू पनि बस्थे । तिनीहरूको घर थिएन । दिनभर ढुंगामा सुतेर घाम ताप्ने गर्थे । रात परेपछि जाडो हुन्थ्यो । अनि घर बनाउने
कुरा गर्थे ।
पुसको महिना थियो । पुसमा दिन छोटा र रात लामा हुन्छन् । रात असाध्यै चिसो हुन्छ । पुसको चिसो रातमा बूढो छेपारो मरेछ । खबर पाएपछि छेपाराहरू जम्मा भए । बूढो छेपारो के कारणले मर्यो त ? ऊ मर्नुको कारण पत्ता लगाउन छलफल चल्यो । ‘बूढो छेपारो चिसोले गर्दा मरेको हो,’ माइलो छेपारोले भन्यो ।
‘के गर्ने त ?’ झिल्के छेपारोले सोध्यो । झिल्के बूढो छेपारोको छोरो थियो । ऊ सबैभन्दा अल्छी थियो ।
‘हाम्रो घर छैन । हामी दिनभर घाम ताप्छौँ । रातपरेपछिचाहिँ ‘घर–घर’ भन्न थाल्छौँ । अनि कसरी हुन्छ घर ?’ पाटे साइँलाले जवाफ दियो ।
कुराकानी नसक्तै घाम उदायो । घामको न्यानो पाउनासाथ छेपाराहरू निदाउन थाले । हेर्दाहेर्दै तिनीहरू घुर्न पो थाले †
यो बिहानै रानी मौरी पनि त्यही बगैँचामा आइपुगिन् । साथमा एक हुल कर्मी मौरी पनि थिए । मौरीहरू फूलको रस बटुल्न थाले । रानी मौरीचाहिँ छेपाराहरूलाई खोज्न थालिन्, ‘छेपाराहरू कता
गएछन् आज?’
घामको तापमा निदाइरहेका छेपारालाई उनले देखिन् । तर, झिल्के छेपारोचाहिँ बर्बराइरहेको थियो । झिल्के एक्लै बोल्दै थियो, ‘आहा कति राम्रो घर † कति न्यानो ओछ्यान † आहा कति मीठो खाना † कति
राम्री दुलही…।’
झिल्केको ताल देखेर रानी मौरीलाई हाँसो उठ्यो । उनको हाँसोले अरू छेपारोको निद्रा बिग्रियो । आँखा मिच्तै र हाई काढ्दै छेपाराहरू उठ्न थाले । तर, झिल्के छेपारोचाहिँ अझै एक्लै बोल्दै थियो, ‘अहा कति राम्रो घर † कति राम्रो …†’
झिल्केको कुराले छेपाराहरू छक्क परे । उसको बोली अचम्म मानेर सुन्न थाले । यताउति हेर्न थाले । त्यो ‘राम्रो घर’ खोज्न थाले, ‘होइन कता हो, खोइ त्यो राम्रो घर ?’ छेपाराहरू मुखामुख गर्न थाले । ’
छेपाराको चाला देखेर रानी मौरीलाई झनै हाँसो उठ्यो । उनको हाँसो चारैतिर फैलियो । सबैले के भएछ भनी हेर्न आए । कर्मी मौरीको हुल पनि
त्यहीँ आयो ।
एक कान दुई कान गरी यो कुरा जताततै हल्ला भयो । त्यहाँ चरा, फट्यांग्रा अनि पुतलीहरू
पनि आइपुगे ।
‘छेपाराले घर बनाए रे हो ?’ खोइ कस्तो बनाएछन् हेरौँ त ?’ चराहरू सोध्न थाले । अब त झन् ठूलो होहल्ला भयो, हल्लाले झिल्के छेपारोको निद्रा बिथोलियो ।
‘होइन किन हल्ला गरेको ? मेरो निद्रा किन बिगारेको ? कस्तो मिठो सपना देखिरा’छु आफूले…†’ भन्दै ऊ त कोल्टे फेरेर फेरि सुत्यो । उसको चाला देखेर सबै जना हाँस्न थाले । छेपारा त साँच्ची नै अल्छी पो हुँदा रहेछन् †’ एउटी पुतलीले भनी । ‘हो–हो छेपाराहरू साँच्चै नै छेपारै हुँदा रहेछन्,’ सबैले एकै स्वरमा भने ।
झिल्के छेपारो भने अझै उठेको थिएन । ‘अब त अति भो † यस अल्छीलाई मैले उठाउँछु’ भन्दै रानी मौरी अघि बढिन् ।
‘ए अल्छी उठ्नु पर्दैन ? सुत्नेचाहिँ चिसो चउरमा, सपनामा चाहिँ महल देख्ने ? वाह…†’
अब त झिल्के पनि उठ्यो । आँखा मिच्दै हेर्न थाल्यो । यही बेला मौरी, पुतली र चराले भने,
‘खोइ त तेरो राम्रो घर ? हा हा हा …।’ हाँस्दै गिज्याउन थाले ।
‘ए छेपारा हो, तिमीहरूलाई देखेर मलाई दया लाग्यो । तिमीहरूलाई हामी मौरीको संसार थाहा
छ ?’ रानी मौरीले सोधिन् ।
‘छैन मौरी, साँच्चै तिम्रो संसार कस्तो हुन्छ हँ ?’ छेपाराले ठाडा कान लाए ।
‘लौ ध्यान दिएर सुन’ रानी मौरी भन्न थालिन्, ‘तिमीहरू दिनभर सुत्छौ । रात परेपछिचाहिँ घरको कुरा गर्छौ । तर काम कहिल्यै गर्दैनौ । सपनामा चाहिँ ‘राम्रो घर’, ‘मीठो खाना’, ‘राम्री दुलही’ देख्छौ । खोइ विपनामा तिम्रो राम्रो घर कहाँ छ ? चिसो चउरमा सुत्ने, थरथर काँप्ने अनि कुराचाहिँ ठुल्ठूला गर्ने ? त्यसै बन्छ घर ?’
रानी मौरीले छेपारालाई हपारिन् । छेपाराहरू काला, नीला भए । रानी मौरीले फेरि भनिन्, ‘हेर हाम्रो संसार वैज्ञानिक छ । हामी काम गर्छौं । काम गर्न भोलि भन्दैनौँ । मिलिजुली काम गर्छौं । कोही पनि अल्छी छैनौँ । तिमीहरू यही बगैँचामा सुतेर दिन बिताउँछौ । तर, हामी यही बगैँचाको फूलको रस बटुल्छौँ । त्यसको मह बनाउँछौँ । तिमीहरू सक्छौ ?’
रानी मौरी छेपाराहरूलाई सम्झाउन थालिन्, ‘त्यसैले हेर छेपारा हो, काम गर्नुपर्छ । कुरा मात्र गरेर केही हुन्न । घर बनाउने कुरा गर्दै घाम तापेर समय नष्ट नगर । कष्ट सहेर भए पनि पहिला घर बनाऊ अनिचाहिँ घाम ताप । गर्दा नहुने
केही छैन ।’
रानी मौरीको उपदेश सुनेर छेपाराहरू जिल्ल परे । ठूलो ज्ञान पाएजस्तो अनुभूति गरे । अनि भन्न थाले, ‘हुन्छ अब हामी पनि अल्छी गर्दैनौँ, आफ्नै घर बनाउँछौँ । बरु भोलि तपाईं हाम्रो घर शिलान्यास गर्न आइदिनुस् है ।
भोलिपल्ट रानीमौरी घर शिलान्यास गरिदिन भनेर छेपारा भए ठाउँमा पुगिन् । तर, छेपाराहरू घाममा मस्तले निदाएरै बसिराखेका थिए । कुनै सरसामान जोरजामै गरेका थिएनन् । साँच्चै छेपाराले घर बनाउने कुरा सधैँ उखानै मात्रै रहेछ । उखान सम्झिएर रानी मौरी मनमनै हाँस्दै घर फर्किन् ।
प्रतिक्रिया