बालश्रममुक्त जिल्लामै धेरै बालश्रमिक

नेपालगन्ज, ३१ वैशाख । बालश्रममुक्त घोषणा भएको बाँकेमा दुई हजार बालश्रमिक रहेको तथ्यांक सार्वजनिक भएको छ ।

बालबालिकाका क्षेत्रमा काम गर्दै आएको संस्था सिविनले बाँकेका विभिन्न होटल तथा घरमा दुई हजार बालश्रमिक रहेको जानकारी दिएको हो ।
घरेलु र अन्य जोखिमपूर्ण काममा बालबालिकालाई संलग्न गराइएको बालकेन्द्रित संस्थाले जनाएका छन् । पाँच वर्षअघि २०६४ मा गैरसरकारी संस्था बेसले गरेको अध्ययनमा नेपालगन्जमा नौ सय ६४ बालश्रमिक पाइएको थियो ।
बेसका धनीराम गिरीले बालश्रममुक्त भएपछि पनि नेपालगन्जमा घरेलु कामदार बढेको बताए । उनले बालश्रममुक्त घोषणा कागजमा मात्र सीमित भएको बताए । बालश्रममुक्त जिल्ला कार्यान्वयन गर्न गैह्रसरकारी संघसंस्थाले बाल कामदार राखेका होटलमा कार्यक्रम नगर्ने सहमतिसमेत गरेका थिए । तर, नेपालगन्जमा बाल कामदार राख्ने अधिकांश होटेलमा दिनदिनै संघसंस्थाका कार्यक्रम भइरहेका छन् ।

प्रतिक्रिया