जेठो विश्वविद्यालय प्रविधिमा पछाडि

काठमाडौं, ३१ वैशाख । मासु पसलले समेत अनलाइनबाट कारोबार थालिसकेको अवस्थामा सबैभन्दा जेठो र ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि प्रयोगमा भने पछिपरेको पाइएको छ । आठ लाखभन्दा बढी विद्यार्थीसँग सरोकार राख्ने त्रिवि परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट चार वर्षदेखि बन्द छ भने परीक्षाको नतिजा निजी संस्थाका वेबसाइटले हात पारेका छन् ।
त्रिविले नै लाखौँ विद्यार्थीलाई २१औँ शताब्दी विज्ञान तथा प्रविधिको युग हो भनेर पढाइरहेको हुन्छ । तर, लाखाँै विद्यार्थीसँग सरोकार राख्ने विश्वविद्यालयलाई नै प्रविधि प्रयोगमा भने सबैभन्दा पछाडि परेको हेक्का छैन ।
परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले वार्षिक आठ लाखभन्दा बढी विद्यार्थीसँग सरोकार राख्छ । यति धेरै विद्यार्थीसँग सरोकार राख्ने पनिकाको वेबसाइट चार वर्षदेखि कामै नलाग्ने अवस्थामा छ । धेरै स्रोत–साधन भएको पनिकाले आºनै वेबसाइट नबनाएर सूचना प्रवाहको जिम्मा निजी संस्थाका वेबसाइटलाई दिने गरेको छ ।
पनिकाले आºनो वेबसाइट बनाएर ०५५ सालदेखि परीक्षाको नतिजा राख्नेदेखि विभिन्न सूचना दिने गरेको थियो । तर, पछिल्लो समय त्रिविको डब्लुडब्लुडब्लु डट टियुएक्जाम डट इडियु डट एनपी वेबसाइट कामै नलाग्ने अवस्थामा छ ।
आवश्यक सूचना आधिकारिक रूपमा नपाउँदा मानसिक तनाब हुने गरेको विद्यार्थी बताउँछन् । विद्यार्थी कमल पाण्डेले रिजल्ट आउँदा कुतूहलता हुने तर तत्काल आधिकारिक जानकारी पाउन नसकिएको गुनासो गरे । ‘रिजल्ट हेर्न त्रिविको वेबसाइट खोल्दा खुल्दैन, त्यसले मानसिक तनाव उत्पन्न गर्छ,’ पाण्डेले भने, ‘त्यतिबेला त्रिविप्रति घृणा जागेर आउँछ ।’
स्नातकोत्तर तहमा अध्ययनरत पवन्ती सत्यालले त्रिविमा रिजल्टका लागि एक वर्षसम्म पर्खनुपर्ने र रिजल्ट आउँदा पनि तत्काल हेर्न नपाउँदा तनाव हुने बताइन् ।
पनिकाका सहनियन्त्रक रमेशकुमार जोशीका अनुसार एक वर्षमा आठ लाखभन्दा बढी विद्यार्थी परीक्षामा संलग्न हुन्छन् । पनिकाको आºनै वेबसाइट नचल्दा विद्यार्थीले धेरै दु:ख पाएको स्वीकार सहनियन्त्रक जोशीले गरे । ‘म पनिकामा आउनुअघिदेखि नै वेबसाइटले काम गरेको थिएन,’ सहनियन्त्रक जोशीले भने, ‘केही समयभित्रै वेबसाइट सुचारु गर्ने तयारीमा छौँ ।’ उनले चार वर्षको अवधिमा १०/१५ दिन सञ्चालन गर्ने प्रयास भए पनि अवस्था नसुध्रिएको बताए ।
अहिले पनिकाले एजुकेसनसन्सार डट कम, इडियु सन्जाल डट कम र एक वर्षयता नेपाल टेमिकमबाट पनि परीक्षाको नतिजा राख्ने गरेको छ । त्यसैगरी, टेलिकमको १६०२ डायल गरेर पनि नतिजा पाउन सक्ने व्यवस्था गरिएको थियो ।
जोशीले वेबसाइट आधुनिक ढंगले सञ्चालन गर्ने तयारी भएको दाबी गरे । उनका अनुसार वेबसाइट सञ्चालन गर्न पुल्चोक इन्जिनियरिङ क्याम्पसको सिआइटीसँग सम्झौताको तयारी भएको छ ।
निर्माण गर्न लागिएको वेबसाइटमा परीक्षासम्बन्धी सूचना, परीक्षा फारम, परीक्षा तालिका, परीक्षा केन्द्रको सूचना मात्रै होइन विद्यार्थीको मार्कसिटसमेत राख्ने तयारी भइरहेको छ । उनले भने, ‘विद्यार्थीलाई सजिलो होस भनेर परीक्षासम्बन्धी जानकारीका साथै मार्कसिटसमेत राख्ने व्यवस्था गर्छौं ।’ त्यस वेबसाइटबाट विद्यार्थी धेरै लाभान्वित हुने उनको दाबी छ ।

प्रतिक्रिया