प्रमुख भन्सार नाकामा अबरोध श्रृजना

वीरगञ्ज, ३० वैशाख । वीरगञ्जस्थित मुलुककै प्रमुख भन्सार नाकामा अबरोध श्रृजना हुँदा करोडौंको राजश्व गुमेको छ ।

वीरगञ्जमा प्रादेशिक राजधानी बनाउन माग गर्दै सर्वपक्षीय संघर्ष समितिले आज भन्सार नाका ठप्प बनाए पछि राजश्व गुमेको हो । राजश्व गुम्दा राज्यलाई उल्लेख्य नोक्सानी भएको छ ।

विभिन्न राजनीतिक दल सम्मिलित संघर्ष समितिले विहान ९ बजेदेखि भन्सार नाका ठप्प पारेको छ । भन्सार अबरोध भएपछि रक्सौल आवत जावतमा समेत समस्या भएको छ ।

वीरगञ्ज र रक्सौलमा मालबाहक सवारी साधन भन्सारमै रोकिएका छन् । रिक्सा, टांगा, ट्याम्पु, मोटरसाइकल लगायतका साना सवारी साधनलाई पनि आन्दोलनकारीले चल्न दिएका छैनन् ।

समितिका संयोजक एंव कांग्रेस पर्साका सभापति सुरेन्द्रप्रसाद चौधरीले शान्तिपूर्ण आन्दोलनले माग पुरा नभएपछि बाध्य भएर भन्सार नाका बन्द गर्नुपरेको दाबी गरेका छन् ।

समितिले वीरगञ्जलाई प्रादेशिक राजधानी बनाउनु लगायतका माग अघि सारेको छ ।

यसैवीच, प्रदर्शनकारीले गण्डक चोकमा बन्दको अवज्ञा गरेको भन्दै बा ५ च ३० नम्बरको सेन्ट्रो कारमा तोडफोड गरेका छन् ।

यता, बाराको पथलैयामा विभिन्न राजनीतिक दल आबद्ध भातृ संगठनहरुले पूर्व पश्चिम महेन्द्र राजमार्ग अवरुद्ध पारेका छन् । उनीहरुले पनि प्रादेशिक राज्यको राजधानी वीरगञ्ज हुनुपर्ने माग राखेका छन् ।

त्यसै गरेर, प्रादेशिक राजधानीको माग गर्दै शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल ‘पापड’ले पनि वीरगञ्जमा आज प्रदर्शन गरेको छ ।

घण्टाघर चोकबाट निस्किएको र्‍यालीले नगर परिक्रममा गरेको थियो ।

प्रतिक्रिया