जयन्त प्रसादको राजनीतिक गतिविधि तिव्र

काठमाडौं, ३० वैशाख । एमाले अध्यक्ष झलनाथ खनाल र कांग्रेस उपसभापति रामचन्द्र पौडेलसँग नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादले भेटगरी मुलुकको राजनीतिका विषयमा परामर्श गरेका छन् ।
राजधानीमा आज भएका अलग अलग भेटबार्तामा भारतीय राजदूत जयन्तले संविधान लेखन र शान्ति प्रक्रियाका साथै नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गरेको स्रोतले जनाएको छ ।
भेटका क्रममा राजदूत जयन्तले पछिल्लो पटक एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चावीच भएको पाँच बुँदे सहमति कार्यान्वयन गर्न आग्रह गरेका छन् । जयन्तले पाँच बुँदे सहमति कार्यान्वयनमा एमालेले आलटाल गरेको भन्दै अध्यक्ष खनालसँग असन्तुष्टि जनाएको स्रोतको भनाई छ ।
जवाफमा अध्यक्ष खनालले मुलुकको निकास र नयाँ संविधानप्रति सबै दलहरु जिम्मेवार रहेको भन्दै सहमतिमै नयाँ संविधान तोकिएको समयमा आउने बताएका छन् ।
उता, कांग्रेस उपसभापति पौडेलले पनि संविधानका विवादित विषय सहित राज्य पुनर्संरचनामा दलहरु सहमति खोज्ने प्रयासमा रहेकाले निकास आउनेमा आफू विश्वस्त रहेको बताए ।
राजनीतिक सक्रियता तिव्र बनाएका राजदूत जयन्त केही दिन अघि मात्रै नयाँ दिल्लीबाट नेपाल आएका हुन् । नेपालको राजनीतिक अवस्थाका बारेमा ब्रिफिङ गर्न जयन्त नयाँ दिल्ली गएका थिए । हिजो मात्रै उनले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति सुशील कोइरालासँग राजनीतिक विषयमा परामर्श गरेका थिए ।
पाँच बुँदे सहमति हुनुमा भारतीय राजदूत जयन्तको प्रत्यक्ष संलग्नता रहेको आरोप छ । उनले पाँच बुँदे सहमति हुनु अघि एमाओवादी अध्यक्ष दाहालको लाजिम्पाटस्थित निवासमा प्रमुख दलहरुको बैठकमा सहभागिता जनाएका थिए ।
कांग्रेसका पूर्व सांसद अम्रेसकुमार सिंहले पनि भारतीय राजदूतले प्रमुख दलका नेताहरुसँग संयुक्त छलफल गरेको स्वीकार गरिसकेका छन् ।

प्रतिक्रिया