लैनसिंह बाङ्देललैनसिंह बाङ्देल एउटा ‘ट्रेन्ड सेटर’

नेपाली कला, भाषा र साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउनका निम्ति अथक मिहिनेत गरेका स्रष्टा लैनसिंह बाङ्देल नेपाली चित्रकारितामा एउटा ‘ट्रेन्ड सेटर’को रूपमा परिचित छन् । ‘क्युविज्म’ र ‘फाउविज्म’ जस्ता कलाका स्थापित मान्यताका सिमानाभन्दा पर जान खोज्ने बाङ्देल आफ्ना चित्रमा कसरी नयाँ प्रयोग गर्न सकिन्छ भन्नेतर्फ सदैव सचेत रहे । अमूर्तवादमा पनि उनले गहिरो रूचि सँगसँगै दख्खल पनि राखे । २०औं शताब्दीका महान् स्पेनिस चित्रकार पाब्लो पिकासोबाट प्रभावित बाङ्देलले नेपाली कलाका साथै भाषा र साहित्यलाई फुलाउनका निम्ति महत्त्वपूर्ण भूमिका खेलेका छन् । उनको चित्रकारितामा प्रयोगधर्मिताको मनग्य गन्ध पाइन्छ । नेपाली निबन्धकार शंकर लामिछानेसँग पनि राम्रो मित्रता रहेका चित्रकार बाङ्देल आख्यान लेखनमा पनि उत्तिकै सिद्धहस्त मानिन्छन् ।
आमा विमला राई एवं पिता रंगलाल राईको कोखबाट सन् १९१९ मा भारतको दार्जिलिङमा जन्मिएका लैनसिंह बाङ्देल कोलकातास्थित ‘कलेज अफ आर्टस् एन्ड क्य्राफ्ट’बाट विशिष्ट श्रेणीमा स्नातक हुन् । कोलकाताको पढाइ सकेर सन् १९५२ मा उनी युरोपतिर हान्निए, कलाबारे थप अध्ययनका निम्ति । कला र साहित्य भनेका त्यस्ता चिज वस्तु हुन् जसले कुनै पनि मुलुकका भौगोलिक भूगोल तथा सिमानाको प्रवाह गर्दैनन् । कुनै पनि राष्ट्रको कला तथा साहित्यले त्यस देशको समय र राजनीतिक चेतनालाई बोकेको हुन्छ । बाङ्देलको चित्रकलाले पनि उनको समयका विविध राजनीतिक उत्तारचढावलाई प्रतिविम्बित गरेका छन् । आफ्ना कला र साहित्य लेखनमा आधुनिकतातर्फ उन्मूख नेपाली समाजको गतिलाई समात्ने प्रयत्न गरेका बाङ्देलले जहिले पनि समाज रूपान्तरणका पक्षमा आफूलाई उभ्याए, अभिव्यक्तिका विभिन्न माध्यमबाट ।
कुनै बेला दरबार भन्नेबित्तिकै राजसंस्थाको हालिमुहाली रहेको र सर्वसाधारणको पहुँचभन्दा धेरै परको स्थान भन्ने बुझिन्थ्यो । किन्तु, बाँकी सबै छोड्ने हो भने दरबारको एउटा पक्षचाहिँ सकारात्मक मान्न सकिन्छ– त्यो हो नेपाली कला र रंगमञ्चप्रति दिइएको प्राथमिकता । तत्कालीन राजा महेन्द्रले नेपाली कलालाई फैलाउने चौतारो खडा गर्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको पक्षलाई नकार्न मिल्दैन, पेरिसमा पढेका बाङ्देललाई नेपाल बोलाएर नेपाली कलाको पुनर्जागरणका निम्ति खटाए । बाङ्देलको आगमनपश्चात् नेपाली कलाले केही हदसम्म फस्टाउने उर्वर थलो पाएको थियो भन्नेमा धेरैको सहमति छ ।
बाङ्देलको रूची कलामा मात्रै होइन, संगीतमा पनि उत्तिकै थियो । उनका चित्रमा नेपाली माटोको सुगन्ध पाइन्छ । अनि, उनको लेखनमा आफ्नो राष्ट्रप्रतिको माया । उनी आफ्नी पत्नी मानुलाई पत्रमा लेख्छन्, ‘तिम्रो कलाकार कविभित्र नेपाल छ, नेपाली आदर्श छ । तिम्रो कविलाई नेपाल गौरवको प्यास छ । मेरो चित्रमा मेरो नेपाली आत्माको प्रतिविम्ब छ, त्यो नेपालको चित्र सधैँ देशको गहना भएर बसिरहनेछ— चाहे जुनसुकै परिस्थितिमा देशको जग बसोस् । एउटा हिमालको काखमा खेलिरहेको सुन्दर सानो राष्ट्र नेपाल पनि दुनियाँको आँखामा उच्च र सम्माननीय हुनेछ । किनभने कला र साहित्य राष्ट्रको मुटु हो । त्यसलाई छाम्दा राष्ट्रको ढुकढुकी थाहा पाइन्छ ।’
उनी ‘आधुनिक कलाका पिता’का रूपमा पनि परिचित छन् । बाङ्देल नेपाली सम्मानका अलावा बेलायती ‘नाइट कमान्डर अफ रोयल भिक्टोरियन अर्डर’बाट पनि सम्मानित व्यक्तित्व हुन् ।
विद्यालयस्तरको एउटा कला प्रतियोगितामा बाङ्देलले प्रस्तुत गरेको चित्रबाट प्रभावित भएर एकजना बेलायतीले उनको प्रशंसा गरे तब उनको परिवारले पनि बाङ्देललाई थप प्रोत्साहन गर्न थाल्यो, कलाकारितामा लाग्नका निम्ति, जुन कार्यले बाङ्देललाई हौसायो पनि । कोलकातामा रहँदाबस्दा भारतीय चलचित्रकर्मी सत्यजित रोयसँग उनको सम्बन्ध प्रगाढ बन्न पुग्यो । र, उनैको सुझाब मुताबिक बाङ्देल पेरिस गएका हुन् भन्ने पनि कथन छ । कोलकातामा रहँदा कलासित सम्बन्धित केही संस्थामा काम पनि गरे । बाङ्देल कोलकाताबाट प्रकाशित हुने ‘प्रभात’ नामक पत्रिकाका सम्पादक पनि बनेका थिए ।
कलाको व्यावहारिक ज्ञान त छँदै थियो, उनमा सैद्धान्तिक ज्ञानको पनि कमी थिएन, मनग्यै थियो । समाज रूपान्तरणका निम्ति कलाकारिताका माध्यमबाट उनले खेलेको भूमिकालाई नजरअन्दाज गर्न मिल्दैन । पेरिसमा एकल चित्रकला प्रदर्शन गर्ने सम्भवत: पहिलो नेपाली उनी नै हुन् । कोलकाताका गल्लीहरूमा घुम्दा उनले देखेका भिखारी (धनी वर्गको उल्टीसमेत खान विवश गरिब)हरूका पीडा, क्रन्दन , चित्कार उनको हृदयमा अमिट बनेर बसेको थियो । त्यसैले उनको अभिव्यक्ति पक्षलाई निखार्न र तिखार्न मद्दत गर्‍यो । अनि, मजबुत पनि पारिदियो । मानवताका हिमायती बाङ्देल नरम स्वभावका मिलनसार व्यक्ति थिए भन्ने कुराको पुष्टि उनका विभिन्न लेखबाट पनि हुन्छ । अनि, विभिन्न तह र तप्काका व्यक्तिसितको निरन्तर उठ–बसले पनि उनको उक्त व्यवहारलाई प्रस्ट्याउँछ ।
मानवजीवनका विभिन्न पीडा, उत्पीडन, दु:ख एवं कष्टलाई कलाका माध्यमबाट अभिव्यक्त गर्न सक्ने बाङ्देलका चित्रका रंगहरूले उनले बाँचेको समय बोकेका छन्, समाज बोकेका छन्, संस्कृति बोकेका छन् अनि बोकेका छन् हातमुख जोड्नका निम्ति मुग्लान पस्नुपर्ने आमनेपालीको पीडाको धारिलो कथा । मुटुमा शूल बनेर चोइटिएर बसेका नेपालीका पीडालाई कलाका माध्यमबाट अभिव्यक्त गरिदिएर उनले नेपालको यथार्थ छविलाई विश्वजगत्मा पुर्‍याउने जमर्को पनि गरेका छन् । उनको कलाकारिताका विभिन्न रंगले नेपालीको बेग्लै छवि निर्माणमा सहयोग पनि गरेको छ । नेपालीका पीडालाई कलाका माध्यमबाट मात्र नभई साहित्य लेखनका माध्यमबाट पनि अभिव्यक्त गरेका छन् । नेपाली समाजमा विद्यमान धनी र गरिबबीचको चरम आर्थिक खाडललाई उजागर गर्दै यथार्थवादी लेखनको जगलाई मजबुत पार्ने कामसमेत गरेका छन्, बाङ्देलले । अझ नेपालीको शिर उँचो राख्ने काममा निर्णायक भूमिका पनि खेलेका छन् ।
अनुवादमा पनि उत्तिकै पारङ्गत मानिने बाङ्देलले विश्वका विभिन्न समयका चर्चित कथाकारका कथालाई अनुवाद गरेर नेपाली पाठकलाई विश्व कथाको मीठो स्वाद पनि चखाएका छन् । मोपासाँ, चेखभ, मरोजकभ्स्की, टोल्सटय, एड्गर एलन पो, केरोली, तुर्गेनिभलगायतका चर्चित लेखकका चर्चित कृति अनुवाद गरेर विश्व साहित्यमा नेपालीको पहुँचलाई सहज मात्र बनाएनन्, अन्तर्राष्ट्रिय साहित्यतर्फ नेपाली पाठकको हुटहुटी पनि जगाइदिए । त्यसो त नारीवादी सोचको फराकिलो दायरा भएका बाङ्देलमा धेरै कुराको ज्ञान थियो । इतिहासमा पनि दख्खल भएका बाङ्देल अध्ययनशील एवं उत्सुक स्वभावका व्यक्ति थिए । उनले मानव जीवनलाई कुची र तुलिकाका माध्यमबाट क्यानभाषका रंगमा मिसाएर आफ्ना चित्रलाई जीवन्त बनाएका छन् । नेपाली पत्र साहित्य फस्टाउनुमा पनि बाङ्देलको ठूलो हात छ । उनले आफ्नी प्रेमिकालाई लेखेका पत्रमा समेत देशप्रतिको चासो छ । देशलाई सांस्कृतिक रूपान्तरणको खाँचो रहेको व्यहोरा लेखेका छन् । जसले बाङ्देलको अन्तर्मनमा भएको नेपाली कला र देशप्रतिको माया दर्साउँछ, अति नै प्रगाढ रूपमा ।
उनमा नेपालप्रतिको अगाध आस्था र श्रद्धा थियो । देश छोडेर प्रदेश जानुपर्दा देशको माया अझ बढी प्रगाढ बन्दो रहेछ उ बाङ्देल लेख्छन्, ‘मानिस जब दूरप्रदेशमा पुग्दछ, उसबेला आफ्नो देश, आफ्नो जन्मस्थान, उसलाई अति प्यारो लाग्दो रहेछ किनभने हामी त्यस देशमा जन्मेका हौँ । जहाँ दुई महान् देशलाई छेउ–छेउमा राखेर कुनै दिन एसियाको कला र संकृतिको केन्द्र बनाउन सक्नेछौँ ।’ समाजमा विद्यमान कुरीति तथा कुप्रचलनलाई उनले जरैदेखि उखेल्ने प्रयत्न पनि गरे, आफ्नो लेखन तथा चित्रमार्फत । समाजको द्वन्द्वात्मक पक्षलाई स्विकारेका बाङ्देल एकैपटक सबै कुरा परिवर्तन गरिनुपर्छ भन्दा पनि विस्तारै समयको रफ्तारसँगै सबै कुरा परिवर्तन हँुदै जान्छन् भन्नेमा विश्वास राख्थे ।
उनमा भारतीय कवि अनि लेखक रवीन्द्रनाथ टैगोर र प्रेम चन्दको पनि उनको लेखनमा गहिरो प्रभाव परेको देखिन्छ । उनको लेखनको बलियो पक्ष भनेको सामाजिक यथार्थवादी चिन्तन हो । समाजका यावत् पक्षलाई बाङ्देल जस्ताको त्यस्तै रूपान्तरण गर्नसक्ने हैसियत राख्छन् । प्रयोगशील पनि थिए उनका कृति । ‘लङ्गडाको साथी’मा मानव र पशुबीचको घनिष्टता उजागर गरेका छन् । आजका मानिसमा व्यक्तिवादी सोच हाबी हुँदै गइरहेको परिप्रेक्ष्यमा उनको यो किताबले बढी महत्त्व राख्छ । उनीहरू पशुलाई बिलासिताको वस्तुका रूपमा मात्र हेर्दछन् । त्यसो त पशुको अस्तित्व स्वीकार र सम्मानजनक रूपले हेरिनुपर्नेतर्फ पनि वकालत गर्छ, बाङ्देलको यो किताबले ।
बाङ्देलको उपन्यास ‘मुलुकबाहिर’ले आर्थिक बाध्यताको चपेटामा पिल्सिएर मुग्लान पस्नुपर्ने आमनेपालीको नियति उजागर गर्छ । त्यसैगरी, ‘युरोपको चिठी’मा बाङ्देल युरोपका विभिन्न ठाउँ घुम्दा देखेका र भोगेका कुरालाई संगृहीत गरेका छन् । दोस्रो विश्वयुद्धको मार खेपेर मुन्टो उठाउँदै गरेको युरोपको संरचनागत वर्णन तथा प्राकृतिक सौन्दर्य टिपोट गर्दै नेपालका निम्ति विभिन्न सन्देशसमेत प्रक्षेपण गरेका छन्, यस यात्रा निबन्धको सँगालोमार्फत । त्यसैगरी, ‘रोमको एउटा फूल प्यारिसको एउटा काँडा’ पनि उनको यात्रा निबन्धको संग्रह हो, जसले जीवनका सुन्दर पक्षहरूको उत्खनन् गरेको छ ।’ ‘माइत घर’ प्रगतिशील एवं नारीका समस्यालाई केन्द्रमा राखेर लेखिएको सुन्दर उपन्यास हो । औपन्यासिकता भए पनि यो समाजको यथार्थ हो । र, हो चलिआएको सामाजिक (कु)प्रचलनप्रतिको विरोध ।
उनले नेपाल प्रज्ञाप्रतिष्ठानमा रहेर पनि नेपाली कला र भाषालाई फैलाउने काम गरे । उनको कार्यकालमा संस्कृति जर्गेनाका केही राम्रा तथा प्रभावकारी पहल पनि भएका थिए भन्ने धेरैको राय छ । बाङ्देलका पत्र तथा दैनिकीको सँगालो ‘मुलुकबाहिर म’ ओजपूर्ण पुस्तक हो । आफ्नी प्रेमिका मानु (पछि श्रीमती)का नाममा पठाएका चिठीहरूको पेटारो हो । उनले लेखेका ती चिठी केवल चिठीका रूपमा मात्र सीमित छैनन्, जीवन भोगाइको गहिरो वाञ्छना, परदेश बसाइ तथा राष्ट्रप्रेमका प्रतीकका दस्तावेज पनि हुन् ती । थप, बाङ्देलका नाममा उनको समयका विशिष्ट व्यक्तिले लेखेका चिठीसमेत समाविष्ट छन् ।
त्यसो त केशरशमशेर, गणेशमान सिंह, बालकृष्ण सम, बिपी कोइराला, सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइरालालगायत व्यक्तिद्वारा लिखित चिठीले बाङ्देलको सम्बन्ध एवं मित्रवत् व्यवहारलाई ऐनामा प्रतिविम्बित गरे जसरी छर्लंग पार्छन् । बाङ्देल नेपाली साहित्यकारहरू सूर्यविक्रम ज्ञवाली, धरणीधर कोइराला र पारसमणि प्रधानबाट प्रभावित थिए । उनी स्पष्टवक्ता पनि थिए । आर्थिक अवस्था कमजोर भएको समयमा आशावादी भएर बस्नु उनको उल्लेख्य खुबी हो । उनी लेख्छन्, ‘अहिले फ्रेम बनाउने र रंग नयाँ क्यानभाष किन्न परेको छ । गोँगाको नयाँ पुस्तक किन्न असाध्यै इच्छा भइरहेछ, दाम नभएर किन्न सकेको छैन । जुन दिन लक्ष्मीले हाम्रो जीवनमा बास बस्न आउलिन् उसैबेला ती सबै कलाका बहुमूल्य पुस्तक किनौँला ।’ उनको यो लेखाइ परदेशमा रहेका आजका आमनेपाली विद्यार्थीले भोग्न विवश पीडाको प्रतिनिधि अंश पनि हो ।
बाङ्देल अति मसिना कुरालाई पनि व्याख्या गर्नसक्ने खुबी भएका लेखक तथा चित्रकार हुन् । लेखन र चित्रकारिता त छँदै छ, त्यसभन्दा पर पनि पुगेर नेपालका सांस्कृतिक सम्पदालाई तस्बीरमार्फत कैद गरेका छन् उनले । ‘इन्भेन्टरी अफ स्टोन स्कल्पचर्रस अफ द काठमाण्डू भ्याली’, ‘द स्टोलन इमेजेज अफ नेपाल’ लगायत पुस्तकले सांस्कृतिक सम्पदाको संरक्षण र संवद्र्धन गर्नुपर्छ भन्नेतर्फ सचेत गराएका छन् । सन् २००२ मार्फत भौतिक रूपमा यस दुनियाँबाट ओझेलिए पनि नेपाली साहित्य कला, अनुवादलगायतका सेवा तथा योगदानका कारण उनी नेपाली पाठक तथा कलाप्रेमीहरूको स्मृतिमा भने उपस्थित भइरहनेछन् ।

प्रतिक्रिया