संवेदनाहीन मान्छेको संवेदनशील कथा


मान्छेको जीवनका बारेमा किन उनी त्यति धेरै वितृष्णा फैलाउन चाहन्थे, त्यो आफैँमा एउटा शोधको विषय होला । अल्बर्ट कामुले सन् १९४२ मा ला–स्ट्रेन्जर उपन्यास प्रकाशित गरेर मान्छेको एउटा अनपेक्षित व्यक्तित्वलाई संसारसामु प्रस्तुत गर्ने प्रयास गरे । उनले त्यस समयको मानव संवेदनाको खडेरी गुज्रिरहेको समाजको तस्बिर प्रस्तुत गर्ने प्रयास गरे । उनले जीवनका मूल्यहीनताका कारण जटिल बन्दै गएको मानवीयता र अमानवीयताको पराकाष्ठालाई पाठकसामु ल्याउने प्रयास गरेका हुन् ।
जीवन जिउनका लागि मात्रै होइन, अरूलाई अँध्यारोमा प्रकाश देखाउनका लागि पनि हो भनेर उनले मान्छेको परिभाषा र प्रयोगलाई अलग प्रकारले पाठकसामु राखेका छन् । संवेदनाहीन भएर पनि कुनै मान्छे जीवन बाँच्न सक्छ अनि जीवन र मृत्युबीचको फैसलालाई महत्त्व नदिएर जीवनको महत्त्वहीनतालाई आत्मसात् गर्न सक्छ भन्ने एउटा सबल प्रस्तुति उनले यस पुस्तकमार्फत दिएका छन् । पुस्तकले मान्छेका अँध्यारा पाटा र समाजका धूमिल अवयवलाई बाहिर ल्याउने प्रयास गरेको छ । कामु मेडिटरेनिएन अफ्रिकाको फ्रेन्च कोलोनी मेग्राबमा जन्मिएका फ्रेन्च नागरिक थिए । उनी चरम अस्तित्वको संकटबाट गुज्रिएका एक स्रष्टा थिए । यद्यपि, उनलाई सन् १९५७ मा साहित्यका लागि नोबेल पुरस्कार प्रदान गरियो । उनले आफूले प्राप्त गरेको पुरस्कारको कुनै अस्तित्व छैन भनेर अभिव्यक्ति दिएका थिए ।
विश्लेषकहरूले उपन्यास ‘ए ह्याप्पी डेथ’ को चरम असफलताले उनमा पैदा गरेको वितृष्णाका कारण ला–स्ट्रेन्जर लेखे भनेर ठोकुवा गर्ने गरेका थिए । उनी अस्तित्ववाद, विसंगतिवाद, जडतावाद, अनीश्वरवाद, अस्तित्ववादका विरुद्धमा उभिए । आफूभित्र विशाल दु:ख र विपत्ति सम्हालेर अरूको अगाडि फरक रूपमा प्रस्तुत भएर बाँचे । उनी झुटो वास्तविकताका रंगहरूमा घुटघुट बाँचे । र, उनका जीवनका असामञ्जस्यहरू ला–स्ट्ेरन्जरमार्फत बाहिर आए । विश्लेषकहरू भन्छन्– कामु जीवनभर समाज र यससँग आबद्ध अस्तित्ववादभन्दा पनि बढी आफैँविरुद्ध जडवत् उभिएका व्यक्तित्व हुन् ।
किताबको केन्द्रीय भूमिकामा छन्– मेरसल्ट । फ्रान्सको कोलोनीस्थित अफ्रिकन अल्जिेरियन नागरिक । ऊ व्यक्तिभन्दा पनि प्रवृत्तिका रूपमा किताबमा सजीव उभिएको छ । मेरसल्टलाई उसकी आमाको मृत्यु भएको खबर दिइन्छ । आमाको अन्त्येष्टिमा ऊ कुनै सामान्य संवेदना पनि प्रकट गर्दैन । आमाको लासलाई हेर्छौ भनेर पादरीले सोध्दा ऊ अस्वीकार गर्छ र लासको छेउमा बसेर दूधको कफी पिउन थाल्छ । कामु यहाँनिर मेरसल्टको संवेदना र भावनाभन्दा पनि अन्त्येष्टिमा उपस्थित मान्छेहरूका बारे लेख्छन् । आमा मरेको एक दिन पनि बित्न नपाउँदै ऊ भर्खरै जानपहिचान भएकी ‘मेरी’ भन्ने केटीसँग यौनसम्बन्ध राख्न लिप्त देखिन्छ । केही दिनमै मेरसल्ट छिमेकी रेमन्ड सिन्टेलाई गर्लफ्रेन्डले धोका दिएको विषयमा बदला लिन सहयोग पुर्‍याउँछ । मेरसल्ट उसकी गर्लफ्रेन्डलाई चिठी लेख्न तयार हुन्छ ताकि रेमन्ड ऊसँग यौनसम्बन्ध राख्न सकोस् र पछि मज्जाले उसलाई भकुर्न सकोस् । यो गर्नु, आवश्यक किन थियो भन्ने कुरा किताबमा लेखिएको छैन । केटी घाइते हुन्छे र उसलाई घोर अन्याय हुन्छ भन्ने सम्बन्धमा मेरसल्टको कुनै भावना व्यक्त गरिएको छैन । रेमन्डले उसकी केटी साथीलाई मज्जाले पिट्छ । मेरसल्ट अदालतमा गएर रेमन्डका पक्षमा बयान दिन्छ कि केटी रेमन्डप्रति इमानदार थिइन र ऊ अरू मान्छेसँग सुत्दै हिँड्थी । मेरसल्टले किन झुट बोल्यो, त्यसको कारण पनि किताबमा लेखिएको छैन । रेमन्ड एकपटकका लागि अदालतबाट चेतावनी पाएर छुट्छ । त्यो घटनापछिको एक दिन रेमन्डले मेरसल्ट र उसकी गर्लफ्रेन्ड मेरीलाई समुद्री किनाराको घरमा सप्ताहान्तको भोजमा निम्ता गरेको हुन्छ । समुद्री किनारामा रेमन्डकी गर्लफ्रेन्डको भाइ र केही अरबी मान्छेहरूसँग उनीहरूको अनायास भेट हुन्छ । झगडा हुन्छ, मुक्कामुक्की हुन्छ । रेमन्डलाई चक्कु लाग्छ र सामान्य घाइते हुन्छ । घटनापछि मेरसल्टले रेमन्डसँग पिस्तोल लिन्छ । घामको रापले उकुसमुकुस रेमन्ड समुद्री किनारमा हिँडिरहेको हुन्छ । गर्मीका कारण बहुत रिसाउँछ । सायद घामको राप र बालुवाका गिर्खाहरूसँग ऊ क्रोधित भइरहेको हुन्छ ।
उसले त्यहीबेला एकजना अरबीलाई नजिक आइरहेको देख्छ । घामको प्रकाशमा अरबीले उसलाई चक्कु देखाउँछ र त्यो घाममा टल्किन्छ । मेरसल्टले पिस्तोलबाट अरबीलाई फायर गर्छ । ऊ ढल्छ भुइँमा । मरेपछि पनि मेरसल्ट केही समय रोकिएर लासमाथि अरू थप चार गोली दाग्छ । मेरसल्टले अरबीलाई किन मार्‍यो भन्ने सम्बन्धमा उसलाई गर्मी र घामले सताइरहेको थियो भन्नेबाहेक अरबीलाई मार्दा मेरसल्टभित्र के–कस्तो संवेदना थियो भनेर कामुले पाठकलाई केही खोलेका छैनन् । मेरसल्ट पक्राउ पर्दा, जेल बस्दा या अदालतमा हुने सुनवाइबारे ऊ कुनै सरोकार राख्दैन । ऊ मेरीसँगको सम्बन्धमा पनि यौनिक व्यवहारलाई बढी महत्त्व दिन्छ । मेरीप्रति कुनै माया, संवेदना छैन । ऊ जेलमा छ । मेरीसँग यौनसम्पर्क राख्न सकिँदैन भन्ने मात्र उसको सरोकार हो । त्यो पनि सामान्य सरोकार ।
अदालतमा ऊ आफूले गरेको अपराधप्रति कुनै पश्चात्ताप गर्दैन । उसलाई मृत्युदण्ड दिइँदै छ भनेर वकिलले जानकारी गराउँदा पनि मेरसल्ट कुनै दु:ख र संवेग प्रकट गर्दैन । मृत्युदण्ड कुरेर जेलमा बस्दा च्यापलिनले ईश्वरको आराधना गर्न दिएको सल्लाहलाई उसले मानेन । अन्त्यमा ऊ मानव अवस्था र आफ्नो अर्थहीन अस्तित्वको आडम्बरप्रति रोष प्रकट गर्छ र कसैलाई पनि आफूमाथि फैसला सुनाउने अधिकार छैन भनेर आफ्नो आवेग ओकल्छ । मानवप्रति उदासीन विश्व र त्यहाँका मान्छेप्रति ऊ बडो दु:खी छ । उसको मृत्यदण्डको समयमा थुप्रै मान्छे जम्मा होऊन् र उनीहरूले ऊप्रति घृणाका शब्द ओकलून् भन्ने उसको इच्छा हुन्छ ।
उपन्यासले मानिसका आदिम र अस्वाभाविक व्यक्तिवादीकरण र त्यसको भोकबाट सम्पूर्ण मानवीयतामा परेका चोटहरूको गहिरो प्रतीकात्मक तस्बिर प्रस्तुत गरेको छ । आफैँमा कालजयी कृतिले आउँदा कैयौँ पुस्तालाई मानवीय संवेदनाबाट अलग नरहन र ती तमाम बहिष्कृत मान्छेलाई पनि मानवीयताको मूलप्रवाहमा समाहित गर्न सधैँ प्रेरित गरिरहनेछ । अल्बर्ट कामुलाई यस कृतिका लागि सम्पूर्ण सभ्यताका पक्षपातीहरूले श्रद्धासुमन अभिव्यक्त गरिरहनेछन् र त्यसमा मेरो पनि एउटा फूलको थुँगा हुनेछ ।

प्रतिक्रिया