‘सहकारी मैत्री’संविधानको माग

काठमाडौं, २९ वैसाख । अब बन्ने नयाँ संविधान ‘सहकारी मैत्री’ हुनुपर्ने नेपाल केन्द्रीय बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन) का अध्यक्ष मीनराज कँडेलले बताएका छन् । सहकारीको निक्षेपअनुसार लगानीका क्षेत्र सीमित भएको समेत उनले बताएका थिए । बिहीबारदेखि धुलिखेलमा सुरु भएको ‘ललितपुर सहकारी समिट–२०१२’ मा उनले सो कुरा बताएका हुन् ।

‘सहकारी संस्थाका सञ्चालक सदस्यको रकमको संरक्षक हो’ कँडेलले भने, ‘त्यसलाई संरक्षण गर्न सञ्चालक जिम्मेवार हुनुपर्छ ।’ केही सहकारी संस्थाका सञ्चालकले नै रकम लिएर भागेको भन्दा आफ्नो संस्थाका सञ्चालकको गतिविधिमा चनाखो हुन उनले सुझाव थियो । बचत तथा ऋण सहकारी सानो क्षेत्रमा मात्र सीमित हुनु परेकाले ठूला उद्योगमा लगानी हुन नसकेको उनले बताए ।
राष्ट्रिय सहकारी बैंकका प्रबन्ध सञ्चालक तथा जिल्ला सहकारी संघ काठमाडौँंका अध्यक्ष केबी उप्रेतीले सहकारीले लगानी गर्ने क्षेत्र कम भएको बताए । ‘सहकारी उद्योग, पर्यटन, शिक्षा, बिमा, हाइड्रोमा लगानी गर्न इच्छुक छ’ उनले भने– यसमा सहकारी ऐन बाधक छ । सहकारीका ऐन कानुन संशोधन गरी जुनसुकै क्षेत्रमा समेत लगानी गर्न पाउने व्यवस्था गर्न उनको जोड थियो ।
सहकारी विकासमा राष्ट्रिय सहकारी नीतिको अभाव, कर र अनुदान कम हुनु, अनुगमन र नियमनको प्रभावकारी व्यवस्था नहुनु, सहकारी विकास बोर्डको भूमिका प्रभावकारी नहुनुलगायतका समस्या रहेको ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामशरण घिमिरेले बताए । ‘सहकारी ऐन कानुनकै कारण सहकारी खुम्चिएर बस्नुपरेको छ ’ घिमिरेले भने–सहकारीले सबै क्षेत्रमा काम गर्न पाउनुपर्ने उनको माग थियो ।
समिटमा बोल्ने अधिकांश सहकारीकर्मीले कानुन संशोधन गरेर सहकारीले सबै क्षेत्रमा काम गर्न पाउने वातावरण बनाउन सरकारसँग माग गरे । अन्तराष्ट्रिय सहकारी वर्ष २०१२ चलिरहेको सन्दर्भ र देशमा नयाँ संविधान निर्माण भइरहेकाले सहकारीमैत्री संविधान बनाउन सहकारीकर्मीको जोड थियो । उनीहरुले सहकारीले गरिबी निवारण, श्रम विकास, उपभोग्यवस्तुको वितरणलगायतका क्षेत्रमा सहयोग पुर्‍याइरहेको बताए ।
ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा भएको समिट शनिबारसम्म चल्ने आयोजकले बताएका छन् । कार्यक्रममा ललितपुरका एक सय ३० भन्दा बढी संस्थाका करिब दुई सय सहकारीकर्मीको सहभागिता रहेको संघका उपाध्यक्ष तथा कार्यक्रम संयोजक रामशरण बस्नेतले जानकारी दिए । कार्यक्रममा नेतृत्व विकास, संस्थागत तथा द्वन्द्व व्यवस्थापनसम्बन्धी तालिमका साथै सहकारीका समस्याबारे समेत छलफल हुनेछ । समिटले सहकारीको भावी विकासबारे घोषणपत्रसमेत जारी गर्ने संयोजक बस्नेतले बताए ।

प्रतिक्रिया