कहिले आउला रिजल्ट ?


‘हाम्रो रिजल्ट पहिला आउला कि संविधान ?’ सगरमाथा मल्टिपल कलेज, डिल्लीबजारबाट बिए तेस्रो वर्षको परीक्षा दिएर बसेका दिवाकर प्याकुरेलले फेसबुकमा यस्तो स्ट्याटस राखे । यसलाई ‘लाइक’ गर्नेहरूको लिस्ट पनि लामै छ । वर्षैपिच्छे संविधान कुरेर बसेका आमनेपालीको संवेदना र परीक्षाको नतिजा कुरेर बसेका कैयौँ विद्यार्थीको मनोविज्ञान लगभग मिल्दोजुल्दो छ । हजारौं विद्यार्थी यतिखेर आफूले दिएको परीक्षाको नतिजा कुरिरहेका छन् । परीक्षा दिएपछि नतिजा कुरेर बस्नुको मजा पनि छुट्टै छ, थोरै डर अनि थोरै जिज्ञासा पनि । तर, प्रतीक्षा जुनसुकै कुराको होस्, धैर्य नै गुम्ने गरी लम्बिन थाल्यो भने पट्यारलाग्दो हुन पुग्छ । जिज्ञासा शिथिल हुन पुग्छन्, भविष्यको चिन्ताले सताउँछ । यस्तै अवस्थाबाट गुज्रिरहेका छन् विद्यार्थी । त्रिभुवन विश्वविद्यालयले रिजल्ट निकाल्न गरेको ढिलासुस्तीबाट वाक्कै बनेका छन् ।
जब कुनै पनि संकायको अन्तिम वर्षको परीक्षा दिएर बसिन्छ, तब रिजल्ट कुरेर घरमै खुम्चिनुको विकल्प हुँदैन । ‘घरमै बसिन्छ कुरेर, रिजल्ट कहिले आउने हो, लास्टै बोरिङ भइरा’को छ’, सेन्ट लाउरेन्स कलेज, चावहिलबाट बिए अन्तिम वर्षको परीक्षा दिएर बसेकी प्रतिमा ढकाल सुनाउँछिन्, ‘कलेज पनि खुबै मिस गरिँदो रै’छ यस्तो बेला त ।’ समयमै परीक्षाको नतिजा नआइदिँदा विभिन्न अवसरबाट वञ्चित हुनुपर्ने अनुभव गरेका छन् विद्यार्थीले । केही समयअघि मात्र एउटा आइएनजिओले गरेको विज्ञापनमा आफूले निवेदन हाल्न नपाउँदा झोँकै चलेछ प्रतिमालाई ।
‘विभिन्न बैंक र फाइनान्सहरूको भ्याकेन्सीमा पनि कमसेकम बिबिएस पास मागेकै हुन्छ, समयमै रिजल्ट नआउँदा धेरै अवसर खेर गए’, न्युटन इन्टरनेसनल कलेजबाट बिबिएस तेस्रो वर्षको परीक्षा दिएकी कमला दाहालले सुनाइन् ।
‘हामीले पोहोर भदौमा दिएको परीक्षाको नतिजा अहिलेसम्म पनि आएको छैन, यत्रो ग्यापमा विद्यार्थीले के गरेर बस्ने ?’ दिवाकर प्रश्न गर्छन् । सायद यो प्रश्नसँगै उनी सरोकारवालाहरूलाई झकझक्याउन चाहन्छन् ।
टियुको अव्यवस्थित क्यालेन्डरको मारमा परेका छन् यी विद्यार्थी । यो अवस्थाबाट ‘चेतेका’ उनीहरू अब विश्वविद्यालय नै चेन्ज गर्ने मनस्थितिमा छन् । ‘मेरो बिए थर्ड इयरको रिजल्ट नै आएको छैन, तर पोखरा युनिभर्सिटीमा मास्टर्स पढ्न थालिसकेँ,’ दिवाकरले रिस्क मोलेछन्, ‘एक्जाम फर्म भर्ने बेलासम्ममा पनि रिजल्ट आएन भने त बर्बादै हुन्छ ।’ उता कक्षा १२ को परीक्षा दिएर बसेका सेन्ट लाउरेन्स कलेजका नवीन खतिवडा भने परीक्षाको नतिजा आउनासाथ बिदेसिने तरखरमा छन् । यही ढिलासुस्तीबाट आजित भएर उनले विदेश पढ्न जाने मुड बनाएका रहेछन् । ‘तीन वर्षे बिबिएस नै रिजल्ट आउँदासम्म चार वर्षे हुन्छ, किन बेकारमा टाइम वेस्ट गर्नु त †’ उनले भने । विदेशमा गएर काम गर्दै पढ्न चाहने विद्यार्थी उनीजस्ता धेरै छन् । अस्तव्यस्त शैक्षिक प्रणाली नै बिदेसिनुको कारण देखाउँछन् सबै जना ।
‘रिजल्ट आयो’ भन्नासाथ मुटुको गति उचालिन्छ प्राय: विद्यार्थीको । जतिसुकै आत्मविश्वास भए पनि रिजल्ट नहेरुन्जेल डरै रहन्छ । ‘आफूले लेखेर मात्र के गर्नु, कस्तो नतिजा आउने हो भरै हुन्न । अलिअलि डर त लाग्ने नै भयो नि,’ कमलाले भनिन् । ‘सोचेको जस्तो नतिजा नआउँदा कम्ता चिन्ता हुँदैन’, दिवाकर सुनाउँदै थिए । यद्यपि नतिजाको हतारो भने उनीहरू सबैलाई छ । रिजल्ट आउनेबारे कसैले केही थाहा पायो कि भन्दै साथीबीच फोनवार्ता अनि फेसबुक च्याट चलिरहन्छ ।

पट्यारलाग्दो प्रतीक्षाबीच सकेसम्म मस्तीमा समय काट्ने चाँजोपाँजो मिलाउँछन् उनीहरू । रिजल्ट पर्खिएर कलेज जानु नपर्दाको अवस्था आफैँमा मस्तीको समय पनि हो । ‘यो फुर्सदमा साथीहरू मिलेर पोखरा घुम्न गइन्छ’, नवीन भन्दै थिए । ‘मचाहिँ केटीहरूसँग बेला–बेलामा घुम्न गइरहेको हुन्छु, फिलिम हेरिरहेकी हुन्छु,’ प्रतिमाले हाँस्दै सुनाइन् । तर, उनीहरूको मनको एकाग्रता मस्तीमा हुँदैन, उही रिजल्ट कहिले आउँछ भन्नेमै केन्द्रित हुन्छ । ‘हामीले त रिजल्टको पर्खाइमा धेरै ग्याप सहेर दु:ख बेहोर्‍यौँ, अब अरू विद्यार्थीले यस्तो नभोगून्’, उनीहरूको एउटै आवाज ।
–सरोज

प्रतिक्रिया