बन्दका कारण मुलुकभरीको जनजीवन कष्टकर

काठमाडौं, २८ वैशाख । राष्ट्रिय अखण्डता, जातीय सद्भावका लागि भन्दै संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको नेपाल बन्दका कारण मुलुकको बिभिन्न जिल्लाको जनजीवन कष्टकर बनेको छ ।
बन्द सफल बनाउन समितिका समर्थक सडकमा उत्रिएर बिरोध प्रदर्शन गरेपछि सवारी आवागमनका साथै बजार, पसल, शिक्षण संस्था लगायत बन्द भएका छन् । राजधानीमा बन्द गराउने क्रममा केही प्रदर्शनकारी पक्राउ पर्नुका साथै बन्द आयोजकले केही सवारी साधनमा तोडफोड समेत गरेका छन् ।
उनीहरुले क्षत्री, ब्राह्मण, दसनामी, सन्न्यासी, ठकुरी, दलितलगायतलाई आदिवासीमा सूचीकृत गर्नुपर्ने माग गरेका छन् । बन्दको प्रभाव काठमाडौं उपत्यकामा पनि परेको छ । सवारीका साथ फाटफूट रुपमा सञ्चालनमा आएको महानगरीय ट्राफिक प्रहरीले जनाएको छ ।
समितिले आधुनिक नेपालको निर्माण हुनुअघिदेखि नै नेपालका विभिन्न स्थानमा बसोबास गर्दै आएका केही जातिको पहिचान सहितको अधिकार सुनिश्चित गर्नुपर्ने माग गर्दै दुई नेपाल बन्दको आह्वान गरेको हो ।
राजधानीमा बन्दकर्ताले नयाँबानेश्वर, कोटेश्वर, सातदोबाटो, कलंकी, कालीमाटी, गोङगबु, महाराजगञ्ज, चाबहिल लगायतका क्षेत्रमा नारा, जुलुससहित सडक अबरोध गरेको प्रहरीले जनाएको छ । बन्दमा कुनै अप्रिय घटना नहोस् भनी स्थानीय प्रशासनले ठूलो संख्यामा चोकचोकमा सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ ।
समिति संयोजक दिलबहादुर क्षत्रीले नयाँ बन्ने संविधानलाई सम्पूर्ण जनतालाई समानताका आधारमा न्यायिक अधिकारसहित सर्वस्वीकार्य बनाउन दबाब दिने उद्देश्यले बन्द आह्वान गरिएको दाबी गरेका छन् ।
समितिमा क्षत्री समाज नेपाल, ब्राह्मण समाज नेपाल, ठकुरी समाज नेपाल, दसनामी समाज, विभेदमुक्ति प्रगतिशील समाज, दलित जनजागरण समाज, खस क्षेत्री समाज र पिछडावर्ग समाजको सहभागिता छ ।
उता, चितवनमा पनि समितिले गरेको बन्दको प्रभाव बिहानदेखि परेको छ । उनीहरुले अखण्ड नेपाल कायम राख्न माग गर्दै प्रान्तीय राजधानी चितवनलाई बनाउन माग गरेका छन् ।
बन्दका कारण लामो तथा छोटो दूरीका सवारी साधन चलेका छैनन् । नारायणगढ, भरतपुर, आँपटारी, टाँडी, पर्सा, भण्डारालगायत क्षेत्रमा बन्द समर्थक सडकमा आएर अबरोध सृजना गरेका छन् ।
त्यसै गरेर झापाको भद्रपुरमा पनि आफूहरूलाई अन्यको सूचीबाट हटाई आदिवासी जनजातिमा सूचीकृत गर्नुपर्ने र जातीय आधारमा राज्यको पुनःसंरचना गर्न नहुने माग राखी समितिले जिल्ला बन्द गराएको छ । बन्दको असर झापामा उल्लेख्य परेको छ ।
विराटनगरमा पनि समितिले आह्वान गरेको बन्दको प्रभाव परेको छ । बन्दले औद्योगिक नगर विराटनगरको जनजीवन प्रभावित भएको छ ।
हेटौडामा पनि समितिले बन्द सफल भएको दाबी गरेको छ ।
यसैवीच, कैलालीमा बिगत चौध दिनदेखि अखण्ड सुदूरपश्चिमको माग राखेर जारी आन्दोलनमा उत्रिएका आन्दोलनकारीले बन्दको अबज्ञा गरेको भन्दै आज बिहान अत्तरियामा चारवटा यात्रुबाहक बसमा तोडफोड गरेका छन् ।
तीन दिनअघि काठमाडौंबाट महेन्द्रनगर तर्फ आइरहेका बस प्रहरीले स्कर्टिङ गरेर गन्तब्य तर्फ लैजादै गर्दा बन्द समर्थकले बसमा तोडफोड गरेका हुन् ।
तोडफोडबाट ना ४ ख ६०७३, ना ४ ख १८५१, ना ४ ख १८७६ र लु १ ख ६५४३ नम्क्बरको बसमा क्षति पुगको छ ।
आन्दोलनकारीले प्रहार गरेको ढुङ्गा, मुढाबाट बसका सिसाहरु पूर्ण क्षेतीग्रस्त भएका छन भने एकजना यात्रुलाई सामान्य चोट लागेको अत्तरियास्थित मालाखेती इलाका प्रहरी कार्यालयले जनाएको छ ।
आन्दोलनमा उत्रेका आन्दोलनकारीहरुले बिहानैदेखि कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरामा नाराजुलुस सहित प्रर्दशन गरेका छन् ।

यता, बन्दकर्र्ताहरुले आज दाङमा एउटा बसमा तोडफोड गरेका छन् । वन्दको अवज्ञा गरेको भन्दै उनीहरुले रा १ ख ३१६ नम्वरको वसमा तोडफोड गरेको प्रहरीले जनाएको छ । कृष्णनगरबाट आउँदै घोराही तर्फ आउँदै गरेको बसलाई वन्दकर्ताहरुले घोराहीको ट्राफिक चोकमा तोडफोड गरेका हुन् । तोडफोडबाट बसका सवै सिसाहरु फुटेका छन् । (तस्बिर दाङबाट रीता लामा)

प्रतिक्रिया