डोर्स सहकारीमा घोटाला अध्यक्ष र कोषाध्यक्ष पक्राउ

काठमाडौं, २८ वैशाख । डोर्स बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा संस्थाका अध्यक्ष महेन्द्र बम्जन कोषाध्यक्ष मिक्सन लामा रहेका छन् ।

अध्यक्ष र कोषाध्यक्ष मिली आफूखुसी संस्था सञ्चालन, पैसा हिनामिना गरेको भन्दै डिभिजन सहकारी कार्यालयमा निक्षेपकर्ताहरूले मंगलबार निवेदन दिएका थिए ।
सोही निवेदनका आधारमा डिभिजन सहकारी कार्यालयले महानगरीय प्रहरी परिसर हनुमान ढोकामा सञ्चालकलाई पक्रउ गर्न मंगलबार नै पत्राचार गरेको डिभिजन सहकारी कार्यालय काठमाडौंका सहकारी अधिकृत कृष्णप्रसाद शर्माले बताए । प्रहरीले कोषाध्यक्ष र अध्यक्षलाई हनुमान ढोकामा राखको छ । कोषाध्यक्षलाई मंगलबार नै प्रहरीले पक्राउ गरेको हो । अध्यक्ष भने बुधबार निक्षेपकर्ताहरू संघ हनुमान ढोका गएका थिए । तर, पैसा फिर्ता गराउन नसक्ने भन्दै उनी पनि हनुमान ढोकामै बसेका छन् ।
कति रकम हिनामिना भएको भन्ने आधिकारिक विवरण नआए पनि १५ देखि १७ लाख रुपियाँसम्म निक्षेप हिनामिना भएको दाबी निक्षेपकर्ताहरूको रहेको सहकारी अधिकृत शर्माले जानकारी दिए । निक्षेपकर्ताले निक्षेप फिर्ता लिन जाँदा नदिएको भन्दा उनीहरूले उजुरी गरेका हुन् । संस्थाले कर्जा प्रवाह नगरी कोषाध्यक्ष लामा आफू स्वयंले लिएको निक्षेपकर्ताहरूको आरोप छ । सात जना निक्षेपकर्ताले एक लाख ५० हजार निक्षेप फिर्ता मागेका छन् । ती सातमध्ये गंगाबहादुर कार्कीको ३० हजार, रामशरण कार्कीको १७ हजार र बाँकी रकम अरू निक्षेप कर्ताको रहेको छ । ‘संस्था सञ्चालनमा अध्यक्ष र कोषाध्यक्षको एकलौटी थियो,’ संस्थाका सचिव राजेन्द्र कुमार खनालले सौर्यसँग भने, ‘म यसबारे अनभिज्ञ छु । मेरो यसमा कुनै गल्ति छैन, जस्तो सजाय पनि भोग्न तयार छु ।’
त्यस्तै, संस्थाका अध्यक्ष बम्जन र कोषाध्यक्ष लामाले अर्कै संस्थाको पासबुक बनाई डोर्स सहकारीका नाममा निक्षेप संकलन गरेको डोर्स सहकारीका सचिव खनालले दाबी गरेका छन् । सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको छाप लगाइएको पासबुक भित्रै (सुप्रिम समूह) समेत पनि लेखिएको छ । पासबुकको आधिकारिक प्रमाण छैन । जसमा दर्ता नम्बर पनि लेखिएको छैन । पासबुकमा छाप मात्र लगाई निक्षेप संकलन गरिरहेको छ । सो पासबुकबाट डोर्स सहकारीको दैनिक रकम संकलन फारममा निक्षेप जम्मा भएको देखिएको छ ।
सुप्रिम सहकारीको र डोर्स सहकारीको सदस्यको नाम तथा सदस्य नम्बर एउटै रहेको छ । डोर्स सहकारीको कार्यक्षेत्र कामनपा– ६, ७, ८, ९ र जोरपाटी गाविसमा रहे पनि अर्कै सहकारीको छाप लगाइएको पासबुक मार्फत सोह्रखुट्टेका ज्ञानबहादुर विश्वकर्मा नाम गरेको व्यापारीबाट निक्षेप संकलन गरिरहेको स्रोतले बतायो ।
सहकारीबाट आर्थिक विकास
काठमाडौं : न्युरोडस्थित संकटा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाले १५०औँ विश्व रेडक्रस दिवस तथा २५५६औँ बुद्ध जयन्तीका उपलक्ष्यमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । रक्तदान कार्यक्रमका राष्ट्रिय सहकारी संघका अध्यक्ष केशवप्रसाद बडालबाट कार्यक्रम शुभारम्भ भएको थियो । उनले मुलुकभर सहकारी अभियन तीब्र बताउनु पर्नेमा जोड दिए । बडालले सहकारीबाट मात्रै आर्थिक विकास संभव हुने दावी गरे । सो अवसरमा ५६ जना रक्तदान गरेको थिए । गत वर्षदेखि सहकारीले विश्व रेडक्रस दिवसका दिन रक्तदान कार्यक्रमको आयोजान गरिएको थियो ।

प्रतिक्रिया