ट्राइसाइकलबाट सामान तस्करी

वीरगन्ज, २८ वैशाख । भन्सार छलेर सामान तस्करी गर्नेका लागि पछिल्लो माध्यम अपांगलाई वितरण गरिएका ट्राइसाइकल बनेको छ ।

विभिन्न दाताले अपांगका लागि वितरण गरेका ट्राइसाइकल भन्सार छलेर सामान तस्करी गर्न दुरुपयोग भएका छन् । सीमावर्ती भारती सहर रक्सौलबाट दैनिक ३० देखि ४० ट्राइसाइकलमा तस्करीका सामान वीरगन्ज भित्रिरहेका छन् । अपांगता भएका व्यक्तिले नै रक्सौलबाट सामान खरिद गरेर ट्राइसाइकलमा ल्याउने गरेका छन् । उनीहरूले सामान वीरगन्ज ल्याएर व्यापारीलाई बिक्री गर्दै आइरहेको व्यापारीहरूले बताए । कतिपयचाहिँ ठूला क्यारियरको प्रयोगमा परेका छन् ।
ट्राइसाइकलमा भारतीय बिस्कुट, अन्डा, जिरा, अगरबत्ती, साडी, प्लास्टिकका डोरीलगायत सामान ल्याउने गरिएको छ । तस्करीमा संलग्न अपांगता भएका व्यक्तिले रक्सौलबाट खरिद गरेका सामान छपकैँया, इनर्वा नाकामार्फत लुकाइछिपाई वीरगन्ज ल्याउने गरेका छन् भने कतिपयले वीरगन्ज भन्सार नाकाकै मेनरोड भएरै सामान तस्करी गर्ने गरेका छन् । प्रहरीले अपांगता भएका व्यक्तिको ट्राइसाइकलमा जाँच नगरेकाले उनीहरूलाई सामान तस्करी गर्न सहज भएको छ । ट्राइसाइकलमा ल्याइएका सामान वीरगन्जका व्यापारीले खरिद गरिरहँदासमेत प्रहरी प्रशासनले वास्ता गरेको छैन ।
ट्राइसाइकल प्रयोगकर्ता अपांगता भएका व्यक्तिले एक ट्रिपमा १० देखि १५ हजार रुपियाँ बराबरको सामान भित्र्याउने गरेका छन् । आफँैले खरिद गरेर ल्याउने ट्राइसाइकल प्रयोगकर्ताले एक ट्रिपमा एक हजारदेखि एक हजार पाँच सय रुपियाँसम्म कमाउने गरेका छन भने ठूला तस्करको सामान ओसार्नेले एक ट्रिपमा तीन सयदेखि पाँच सय रुपियाँ पाउने गरेका छन् ।
प्रहरीले ट्राइसाइकलमा तस्करीका सामान फेला पारे पनि दयाभाव देखाएर छाड्ने गरेको छ । ‘कुनै बेला त प्रहरीले अप्ठयारो पार्छ,’ पर्सा अलौका ट्राइसाइकल प्रयोगकर्ता दिनेश कुर्मीले भने, ‘त्यस्तो अवस्थामा एक दुई सय रुपियाँ दिन करै लाग्छ ।’
नेपाल अपांग संघ पर्साले ४० र नेपाल अपांग संघ बाराले ६० ट्राइसाइकल वितरण गरेको छ । विभिन्न दाताको सहयोगमा अपांगता भएका व्यक्तिलाई ट्राइसाइकल वितरण गरिएको हो । संघका बारा अध्यक्ष गंगा वाग्लेका अनुसार रक्सौल वीरगन्ज नाकामा ट्राइसाइकलमार्फत भइरहेको तस्करीमा बाराका अपांगता भएका व्यक्तिको बढी संलग्नता छ ।
‘अपांगता भएका व्यक्तिलाई दैनिक जीवनमा सहज होस् र हिँडडुल गर्न सकून् भनेर ट्राइसाइकल वितरण गरेका हौँ,’ अध्यक्ष वाग्लेले भने, ‘तर, त्यही ट्राइसाइकल तस्करीमा दुरुपयोग भइरहेको देख्दा लाजमर्दो भइएको छ ।’
संघका पर्सा अध्यक्ष शम्भु पासवानले अपांगता भएका व्यक्तिले दुई चार सय रुपियाँ कमाउँदा कुनै अपराध नभएको बताए । उनले भने, ‘अपांगले एकदुई हजारका सामान ल्याउनु तस्करी नै होइन, बाँच्नका लागि दुई चार सय रुपियाँ कमाइरहेका छन् भने तस्करी
भन्न मिल्दैन ।’
पर्साका सिडिओ शम्भु कोइरालाले तस्करी गर्न कसैलाई छुट नहुने बताए । उनले भने, ‘तस्करीमा अपांगको संलग्नता छ भन्ने जानकारी थिएन, अब प्रशासन गम्भीर भएर लाग्छ ।’

प्रतिक्रिया