फैजन हत्याका दोषी पक्राउ

काठमाडौं, २७ वैशाख । इस्लामिक संघ नेपालका महासचिव फैजन अहमदलाई गोली प्रहार गरेर हत्या गर्न सहयोग गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।
सुनसरी जिल्ला भोक्राहा–२ घर भई काठमाडौं महानगरपालिका–१६ मनाङगे टोल बस्दै आएका ४१ वर्षीय अहमदलाई २०६८ असोज ९ गते दिउसो पौने दुई बजे काठमाडौं घण्टाघर आगाडि गोली प्रहार गरेर एक समूहले हत्या गरेको थियो ।
घटनामा संलग्न अभियुक्तहरुमध्येका १ जनालाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा रामेछाप जिल्ला गोश्वारा–६ घर भई काठमाडौं जैसीदेवल बस्ने ट्याक्सी चालक २७ वर्षीय धनबहादुर थापामगर रहेका छन् । थापामगरले आफ्नो ट्याक्सी प्रयोग गराएको साथै घटना पश्चात हतियार आफ्नै डेरामा लुकाई राखेको प्रहरीले जनाएको छ ।
सञ्चार उद्यमी जमिम साहका अभियुक्त आदित्य पलले मगरलाई राख्न दिएको पेस्तोल १ थान, गोली ६ थान र नवाज पढ्दा लगाउने टोपी समेत प्रहरीले बरामद गरेको छ । उद्यमी साहलाई पनि सोही समूहले हत्या गरेका थिए ।
उक्त घटनामा संलग्न मुख्य योजनाकार भारत लखनउ उत्तरप्रदेशका अन्दाजी ३२ वर्षीय आदित्य पल, गोली प्रहार गर्ने भारत उत्तरप्रदेश आजमगढका अन्दाजी २७ वर्षीय फहद आलम, घटनाको योजनाकार भारत उत्तरप्रदेश बडेनी ग्राम पञ्चायतका अन्दाजी ५० वर्षीय बब्बु भन्ने दीपक त्रिलोक सिंह फरार रहेको प्रहरी भनाई छ । उनीहरुको खोजी भइरहेको प्रहरीले उल्लेख गरेको छ ।
घटना अनुसन्धानका आधारहरु, अनुसन्धानको क्रममा खुलेका तथ्यहरु, घटनाका दिन अभियुक्तहरुबीच भएको सम्बाद, अभियुक्तहरुले प्रयोग गरेको मार्ग र सम्बन्धित फोटोहरुबारेमा व्यूरोका प्रमुख प्रहरी नायव महानिरीक्षक उपेन्द्रकान्त अर्यालले संचारकर्मीलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया