‘माछापुच्छ्रेमा महामारी फैलन नदिन निर्देशन’

काठमाडौं, २७ वैशाख । संसदको सार्वजनिक लेखा समितिले कास्कीको माछापुच्छ्रे गाविसमा हिमपहिरो र बाढीका कारण भएको जनधनका पीडित परिवारलाई यथाशीघ्र राहत उपलब्ध गराउन मन्त्रिपरिषद र गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकले तत्काल वेपत्ता भएका व्यक्तिहरुको खोजी गरेर अन्य शवहरु निकाल्न निर्देशन दिएको समिति सभापति रामकृष्ण यादवले जानकारी दिए । उनले भने, ‘हिमपहिरो र बाढीमा परेर बेपत्ता भएकाहरुको शव छिटो खोजी गर्न र पीडित परिवारलाई राहत उपलब्ध गराउन निर्देशन दिएका छौं ।’

समितिले हिमपहिरो र बाढीबाट हराई रहेका व्यक्ति वा शवका कारण त्यस क्षेत्रमा फैलन सक्ने महामारी लगायतमा पनि समयमा ध्यान दिन सरकारलाई निर्देशन दिएको छ । समितिले घरबार बिहिन स्थानीयलाई बासस्थानको व्यवस्था गर्नपनि सरकारलाई निर्देश गरेको छ ।

हिमपहिरो र बाढी गएका स्थानमा खानेपानी, पुल, कृषि, सिंचाई लगायतमा ध्यान दिनपनि समितिले आफ्नो निर्देशनमा भनेको छ ।

बैठकमा गृहमन्त्री र सचिवलाई बोलाएपनि उपप्रधानमन्त्री तथा गृहमन्त्री विजय गच्छेदार भने आएनन् । प्रमुख दलहरुको बैठक रहेको भन्दै गच्छेदार नआएको सभापति यादवले बताए ।

कास्कीको माछापुच्छ्रे गाविसस्थित भुर्जुङखोलाको तातोपानीमा केही दिन अघि आएको हिमपहिरो र बाढीका कारण कम्तीमा १७ जनाको ज्यान जानुका साथै झण्डै ३५ जना बेपत्ता भएका थिए । हिमपहिरो र बाढीबाट लाखौको क्षति भएको थियो ।

प्रतिक्रिया