नेपाली हिरोको गोदाइ

२०४० सालमा चलचित्र विश्वासबाट नेपाली रजतपटमा द्वन्द्वनिर्देशकका रूपमा पाइला बढाएका राजेन्द्र खड्गी नौला नाम होइनन् । कोरियन, जापानीलगायत द्वन्द्वसम्बन्धी विभिन्न खेलको औपचारिक प्रशिक्षणपछि चलचित्रमा प्रवेश गरेको बताउने खड्गीले हालसम्म पाँच सय हाराहारीका चलचित्रमा द्वन्द्वनिर्देशन गरेका छन् । एक पन्चमा अर्ना र राँगो ढालेका कारण चलचित्रमा प्रवेश गर्नुपूर्व गृहनगर हेटौँडाका बासिन्दाले आफूलाई डनको परिचय दिएको उनले सुनाए । त्यसो त अब चलचित्र ब्ल्याकगर्लमार्फत उनी निर्देशकका रूपमा पनि चिनिने भएका छन् । तीन दशक लामो चलचित्र यात्रामा उनले थुप्रै हिरोहरूलाई द्वन्द्व गराएका छन् । उनकै निर्देशनअनुरूपका द्वन्द्व–सटहरूलाई पछ्याउँदै दर्शकका अगाडि डरलाग्दो एक्सन गर्ने हिरो कहलिएका छन् थुप्रै जना । द्वन्द्वक्षमताका दृष्टिले आफूले द्वन्द्वनिर्देशन गराएका नायकहरूलाई उनीचाहिँ कसरी हेर्छन् त ? उनकै शब्दमा :
शिव श्रेष्ठ : शिव दाइमा फाइट गर्ने राम्रो क्षमता छ । उनी मार्सल आर्टको पूर्ण ज्ञान भएका कलाकार भने होइनन्, तर पनि रेस्लिङ र बक्सिङमा राम्रा सट दिन्छन् । फाइटमा हुनुपर्ने ज्ञान प्रशस्तै छ, क्याच गरिहाल्छन् । फाइटको टाइमिङ त अझ मैले पो उनीसँग सिकेको छु । पाकिस्तानी चलचित्रमा गरेको एक्सनले उनले नेपालको नामसमेत राखेका छन् । नेपालमा फाइटको राम्रो सट दिन सक्ने नम्बर वान हिरो उनैलाई भन्दा हुन्छ । उनीसँग फाइट गर्दा कुनै कलाकार घाइते भएका छैनन् । फिल्मका लागि चाहिने द्वन्द्वको एक्सप्रेसनमा उनको बराबरीमा अहिलेसम्म  कुनै हिरो भेटेको छैन ।
राजेश हमाल : फाइटमा चाहिने एक्सप्रेसन  सोलिड भएका कलाकार हुन् । तर, फाइटको स्किल भने त्यति छैन । हातले हान्ने पन्चबाहेक खुट्टाले हान्नुपर्ने किकमा राम्रो गर्दैनन् । सुहाउँदो जिउडाल भएकाले नै एक्सन हिरो भनेर चिनिएका हुन् । उनमा मार्सल आर्टको ज्ञान फिटिक्कै छैन । अलि कराउने अनि थर्काउने, हाउ–भाउ गर्नु नपर्ने एक्सनमा उनको कामै छैन । टाइमिङ पनि मिलाउँदैनन् । उनीसँग फाइट खेल्दा फाइटरहरूलाई खतरा छ, धेरै फाइटर घाइते भएका छन् । विदेशीहरूले नेपालको एक्सन हिरो हेर्न चाहँदा उनलाई शो गर्न त हुन्छ तर फाइट गराउन हुँदैन । द्वन्द्वनिर्देशकहरूले माया गरेर दर्शकका सामु उनलाई एक्सन नायकका रूपमा प्रस्तुत गरेका मात्र हुन् ।
अर्जुनजंग शाही : यिनलाई पनि खास मानेमा एक्सन नायक भन्दा हुन्छ । जति बेला उनी चलेका थिए, त्यही बेला उनीमाथि अप्ठ्यारो स्थिति आइदियो । चलचित्रबाटै टाढिनुपर्‍यो । त्यति बेलाको क्षमता देख्दा उनी चलचित्रमै रहिराखेका भए सायद राजेश हमाल यो अवस्थामा आइपुग्दैनथे । अर्जुन मार्सल आर्टमा पोख्त छन् त भन्दिनँ तर एक्सन गर्ने उनको जस्तो क्षमता मैले अरू नेपाली हिरोमा पाएकै छैन ।
धिरेन शाक्य : चलचित्रमा प्रयोग हुने किक बक्सिङको राम्रो ज्ञान छ यीसँग । टाइमिङ पनि राम्रो छ । एक्सनका लागि चाहिने क्षमता सबै छन्, तर प्रोफेसनल हुन सक्दैनन् । यिनलाई फाइट गराउन सजिलोचाहिँ छ । यससम्बन्धी बेसिक स्किल राम्रो छ ।
निखिल उप्रेती  : निखिल मिस्टेकले हिरो भएजस्ता लाग्छन् । हाम फाल्ने र जिम्न्यास्टिकको नलेज भएको तर एक्सनचाहिँ पटक्कै नलाग्ने हिरो हुन् । हाम फाल्ने सिन गर्न सक्नेचाहिँ शिव दाइपछि उनी नै हुन् । मार्सल आर्टको ज्ञान पनि राम्रै नै हो तर उनले फाइट खेलेकै सुहाउँदैन । उडेर गर्ने एक्सनमा ठीकै लाग्छन् । समग्रमा चाहिँ एक्सन नायकभन्दा पनि स्टन्टब्वाइजस्ता मात्रै लाग्छन् मलाई उनी ।
विराज भट्ट : मार्सल आर्ट र करातेको भाषा बुझेका एक्सन गर्न जान्ने हिरो हुन् । तर, उनमा ब्यालेन्स छैन, कन्ट्रोल गर्न सक्दैनन् । एक्सप्रेसनमा चाहिँ राजेश र शिव दाइसँगै तुलना गर्दा हुन्छ । काम लिन सजिलो छ । थ्री सेभेन र सेभन इलाभेन किक हान्न जान्दैनन् । त्यसो त उनीसँग फाइट गराउन जोखिम पनि छ, थुप्रै जना घाइते भएका छन् ।
सुमन सिंह : एक्सन हिरोमा हुनुपर्ने गुण छ । चलचित्रको द्वन्द्वबारे पचास प्रतिशत ज्ञान छ । फाइटको स्किल र एक्सप्रेसन राम्रो छ । फाइटरहरूलाई उति जोखिम पनि छैन । टाइमिङमा आधाउधी ज्ञान छ । यिनको पन्चभन्दा किक राम्रो छ ।
आयुष रिजाल  : पछिल्लो समय देखिएकामध्ये फाइटमा राम्रै सम्भावना भएका हिरो हुन् यी । यिनलाई यससम्बन्धी ५० प्रतिशत ज्ञान पनि छ । टाइमिङ मिलाउन र किक हान्न जान्ने । तर, गराउनचाहिँ अलि गाह्रो छ । एक्सप्रेसन ठीकै भए पनि यिनका अगाडि फाइटरहरू जोखिममा पर्न सक्छन् । किक गराउन अलि गाह्रोचाहिँ पर्छ ।
प्रस्तुति : कुबेर गिरी

प्रतिक्रिया