जताततै आन्दोलनको होडबाजी

काठमाडौं, २७ वैशाख । संविधानसभाबाट नयॉ संविधान जारी गर्ने मिति नजिकिँदै जाँदा पाँचवटै विकास क्षेत्रका बासिन्दा आन्दोलित भएका छन् । मुलुकलाई संघीयतामा लैजाँदा आफूअनुकूलको राज्य हुनुपर्ने माग गर्दै उनीहरू आन्दोलित भएका हुन् ।
आफूअनुकूलको राज्य बनाइनुपर्ने र नामकरण पनि मागेअनुरुपकै हुनुपर्ने भन्दै गरिएको बन्दले विभिन्न क्षेत्रको जनजीवन कष्टप्रद बनेको छ । राज्य पुन:संरचना आफूअनुकूलको हुनुपर्ने माग गर्दै पछिल्लो पटक १३ दिनदेखि सुदूरपश्चिम बन्द छ । सुदूरपश्चिमका बासिन्दाले अखण्ड सुदूरपश्चिम नागरिक संघर्ष समिति गठन गरी आन्दोलन गर्दै आएका छन् । एमाओवादीले तयार गरेको राज्य पुन:संरचनाको प्रस्तावमा अखण्ड सुदूरपश्चिमलाई टुक्य्राइएको भन्दै उनीहरू त्यस क्षेत्र बन्द गर्दै विरोधमा उत्रिएका हुन् ।        त्यस्तै मिथिला राज्यको माग गर्दै जनकपुरका बासिन्दाले आठ दिनदेखि जनकपुर क्षेत्र बन्द गरेका छन् । एमाओवादी सभासद् सन्तोष थारूको अगुवाइमा पूर्वी थारूवान कोचिला राज्यको माग गर्दै पूर्वी तराईका विभिन्न जिल्ला चार दिनदेखि बन्द छ । बन्दले झापा, मोरङ, सुनसरीलगायत जिल्लाको जनजीवन प्रभावित भएको छ । स्रोतका अनुसार थारूले पार्टीको निर्देशनअनुसारमै आन्दोलन गरेका हुन् । यसअघि निवर्तमान संस्कृतिमन्त्रीसमेत रहेका एमाओवादी नेता गोपाल किरातीले जातीय राज्य नभए पार्टी अध्यक्षलाई डाँडा कटाउनेसम्मको धम्की दिएका थिए । एमाले र कांग्रेसमा रहेका आदिवासी जनजाति नेताहरूले पनि त्यस्तै धम्की दिएका छन् ।
केन्द्रकै विवादका कारण थरुहट संघर्ष समितिले पनि थरुहट स्वायत्त प्रदेशको माग गर्दै मंगलबार चितवन, नवलपरासीलगायतका विभिन्न जिल्ला बन्द गर्‍यो । मधेसी दलले पनि स्वायत्त मधेश प्रदेशको माग गर्दै तराईका सम्पूर्ण जिल्ला बन्द गर्ने बताएका छन् । उनीहरूले १४ जेठअघि चार दिन तराईका सम्पूर्ण जिल्ला बन्दका कार्यक्रम राखेका छन् ।
जातीय पहिचानसहितको राज्य पुन:संरचनाको माग गर्दै नेपाली आदिवासी जनजाति महासंघले १ जेठदेखि ३ सम्म नेपाल बन्दको घोषणा गरिसकेको छ । राज्यले आदिवासी जनजातिलाई पछि पारेको भन्दै जातीय उत्थानका लागि जातीय पहिचानसहितको राज्य हुनुपर्ने उनीहरूको माग छ । सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लालाई स्वायत्त थामी प्रदेश घोषणाको माग गर्दै थामी संघर्ष समितिले पनि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
त्यसैगरी जातीय राज्यको विरोध गर्दै क्षेत्री ब्राम्हण समाजले बिहीबार र शुक्रबार दुई दिन नेपाल बन्दको घोषणा गरेको छ । आफूहरूको मागलाई सम्बोधन नगरी सरकार उल्टै जातीय राज्य बनाउने प्रपञ्चमा लागेको भन्दै बन्दको कार्यक्रम राख्नुपरेको क्षेत्री समाज राष्ट्रिय महासंघका केन्द्रीय महासचिव विष्णु खड्काले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डेले एक दिनको बन्दले दैनिक तीन अर्बभन्दा बढी आर्थिक नोक्सानी हुने बताए । ‘पूर्वको बन्दले पश्चिममा असर पर्छ र पश्चिमको बन्दले पूर्वमा,’ उपाध्यक्ष पाण्डेले सौर्यसंँग भने, ‘बन्दविरुद्ध सरकारले प्रभावकारी कार्यक्रम ल्याउन जरुरी छ ।’
सरकारले आन्दोलनरत पक्षसंँग वार्ता गर्न सोमबार उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा वार्ता टोलीसमेत बनाएको छ । तर, वार्ता टोलीले मंगलबार साँझसम्म आन्दोलनरत कुनै पनि पक्षसँंग औपचारिक वार्ता गर्न सकेको छैन । वार्ता टोली सदस्य सिंचाइमन्त्री महेन्द्र यादवले विभिन्न राज्यको माग गर्दै आन्दोलन गर्दै आएका सबै पक्षसँंग वार्ता गरी समस्या सल्टाइने बताए ।

प्रतिक्रिया