कार्यसम्पादन गर्न कर्मचारीलाई निर्देशन

काठमाडौं, २६ वैशाख । सार्वजनिक लेखा समितिले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सञ्चालक समितिभित्र देखिएका विवादहरू एक साताभित्र समाधान गर्न निर्देशन दिएको छ । समितिले सम्बन्धित् प्राविधिकसहितका कर्मचारीहरूलाई आयोजनास्थलमा गई कार्यसम्पादन गर्न समेत निर्देशन दिएको छ ।
सिंहदरबारमा आज बसेको समिति बैठकमा आयोजना निर्माण कार्य ढिलाई हुनुका कारण बारेमा ऊर्जा मन्त्रालयका सचिव, नेपाल विद्युत् प्राधिकरण र माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका प्रमुखसँग जानकारी लिएको सभपाति रामकृष्ण यादवले जानकारी दिए ।
सभापति यादवले मन्त्रिपरिषद, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई प्रत्येक महिना प्रगति विवरण समितिलाई उपलब्ध गराउन निर्देशन दिए ।
विगत साडे दुई महिनादेखि आयोजना बोर्डको बैठक बस्न सकेको छैन । तोकिएको समयमा आयोजना सम्पन्न गर्नका लागि चालु आर्थिक वर्षको चैतसम्म आइपुग्दा आठ महिना ढिलो भएको छ भने आयोजनाका अनुसार निर्माण कार्यलाई आगाडि बढाउन आर्थिक एवम् इन्धनको अभाव भएको छ ।
दोलाखा जिल्लाको लामाटार गाउँ विकास समितिमा तामाकोसी नदीमा निर्माण हुँदै गरेको ४ सय ५६ मेगावाट क्षमाताको आयोजना २०६७ असोजदेखि सुरु भई २०७२ चैतमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
बैठकमा सभासदहरूले जनताको लगानीमा बन्न लागेको राष्ट्रिय गौरवको आयोजना पूरा गर्न सरकार, विद्युत् प्राधिकरण र आयोजनाले आफ्नो कार्यलाई पूर्ण जिम्मेवारीका साथ अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया