ठूला नेताहरुले नै धर्मयुद्ध निम्त्याउँदै छन्

काठमाडौं २६ वैशाख । मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का सभासद तिलक रावलले ठूला दलका नेताहरुले विदेशी पैसा खाएर हिन्दू राष्ट्रलाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेको आरोप लगाएका छन् ।
उनले प्रमुख नेताहरुकै कारण नेपालमा धर्मयुद्ध निम्तिने खतरा बढेर गएको दाबी गरे ।
राजधानीमा आज हिन्दूधर्म बचाऔं अभियान नेपालले आयोजना गरेको कार्यक्रममा सभासद रावलले भने, ‘धर्मनिरपेक्ष राष्ट्र नेपालका लागि विदेशीले ठूलो रकम खन्याएका छन्, ठूला दलका नेताहरु त्यही पैसा खाएर डकारिरहेका छन् ’
उनले विदेशीको सो रुपियाँ प्रमुख दलका शीर्ष नेताहरुका लागि महङ्गो हुने बताए ।
भ्रष्टाचारको केन्द्रविन्दु मन्त्रिपरिषद भएको भन्दै सभासद रावलले अखण्ड नेपाललाई विखण्डन गर्नपनि पैसाको चलखेल भएको दाबी गरे ।
पूर्व राज्यमन्त्री दीपकप्रकाश बाँस्कोटाले विश्वका अर्बौ हिन्दु धर्मावलम्बीहरुलाई चोट पुराएर प्रमुख दलका ठूला नेताहरुले नै नेपाललाई हिन्दु राष्ट्रबाट हटाएको बताए ।
हिन्दु धर्म बचाऔं नेपालका अध्यक्ष चक्रदेव जोशीले नेपालको अस्मितालाई लोभ, लालच र डलरमा बेचिएको आरोप लगाए ।

प्रतिक्रिया